कारागारमा परीक्षण गरिएका सबै संक्रमित
राजविराज : तीन सय ३२ जना कैदीबन्दी रहेको सप्तरीको जिल्ला कारागारमा थुनामा रहेका ६ जना कैदीबन्दी र २ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। शंका लागेर चेकजाँच गराएका आठै जनामा कोरोना पोजिटिभ देखिएको निमित्त जेलर सञ्जय रामले बताए।
गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा २२, ३१, ३१, २६ र ५६ तथा उमेर नखुलेका एक जना पुरुष कैदीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। कारागार सुरक्षामा खटिएका २ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।
ज्वरो, रुघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिनु अघि सबै कैदीबन्दी सँगै बस्ने गरेका थिए। संक्रमित देखिएका कैदीबन्दीलाई कारागार सुरक्षा गार्ड बस्दै आएको भवनमा आइसोलेसन गरी राखिने निमित्त जेलर रामले जानकारी दिए। परीक्षण गराएका आठै जनाको रिपोर्ट पोजिटिभ आएकोले कारागारमा रहेका सबै कैदीबन्दी र प्रहरी, कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्ने आवश्यक्ता भएको उनले बताए।
यसैगरी प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ जनकपुर, सम्पर्क कार्यालय राजबिराजका ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। संक्रमित सबै पुरुष हुन्। यो समेत संक्रमित हुने प्रहरीको मात्र सङ्ख्या सप्तरीमा ४६ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमित देखिएका ६ कैदीबन्दी र ८ प्रहरीको संक्रमण शनिबार पुष्टि गर्ने तयारी गरेको छ। मन्त्रालयले नेपाली सेनाको राजविराजस्थित भिम दल गणका ७ जना सेनासहित सप्तरीका २६ जनाको कोरोना संक्रमण शुक्रबार पुष्टि गरेको थियो।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ८ सय ६३ पुगेको छ। जसमा १३० जना महिला छन्। सप्तरीमा हालसम्म ६३८ जना निको भएर घर फर्किएका छन् भने संक्रमतिमध्ये एक महिलासहित आठ जनाको मृत्यु भएको छ।