मनकारी मनको मूल्य
मुलुकका विभिन्न भागमा खाद्य बैंक स्थापनाको लहर चलेको छ। लकडाउनपछि समस्यामा परेका गरिब र आम्दानीको स्रोत नभएका परिवारका लागि यो अभियानबाट प्राप्त खाद्य सामग्री अमृत समान भएको छ। कोभिड— १९ को महाव्याधिको नियन्त्रण अनिश्चित बनेकाले गरिब र असहायको जीवन रक्षाका लागि पनि यो अभियानलाई अझै फराकिलो बनाउनुपर्छ। खाद्य बैंक स्थापनामा खटिने व्यक्ति तथा संस्थाको यो काम प्रशंसनीय छ। मानवीय सेवाको उच्चतम नमुना मानिने खाद्यान्न वितरणलाई क्षमताअनुसार सहयोग गर्नुपर्छ भन्ने भावना सबै नागरिकमा देखिनु आवश्यक छ।
कोभिड— १९ को सुरुवाती चरणतिर सरकारले लकडाउन गर्दा आम्दानी नभएका र कोठा भाडासमेत तिर्न नसक्नेलाई राहत बाँड्नेको लर्को लाग्थ्यो। टोलटोलमा सामूहिक खाद्यान्न वितरण अभियान पनि प्रशस्तै चलेको थियो। पहिलोपटकको लकडाउन खुकुलो भएपछि संक्रमण दर पनि बढ्दै गयो र दोस्रोपटक मुलुकमा लकडाउन गरियो।
विगतमा जस्तो राहत वितरण र उद्धारका काम यसपटक भएको छैन। राहत वितरण कार्यलाई केही मनकारी सामाजिक संस्थाले भने अझै निरन्तरता दिइरहेका छन्। यो पुण्य काम अहिले बिहान–बेलुकाको छाकसमेत टार्न धौधौ पर्ने बेसहारा परिवारका लागि सहारा बनेको छ। खाद्यान्न बैंक स्थापनामा जुट्नेले कुनै व्यक्ति वा परिवारविशेषको हितका लागि मात्रै काम गरिरहेका छैनन्, समग्र राष्ट्रकै उन्नतिका लागि योगदान दिइरहेका छन्।
अहिले राजधानीको टुडिखेलमा विभिन्न सामाजिक संस्थाले दैनिक निःसहाय र गरिब परिवारलाई निःशुल्क खाना वितरण गरिरहेको छ। हरेक दिन अपराह्न यहाँ खाना खान आउनेको त्यहाँ भीड लागेको छ। त्यसैले त अभियानको महत्व बढिरहेको यसले पुष्टि गर्छ। हामी धेरैले दैनिक भान्साबाट केही न केही मात्रामा खाद्यान्न तथा तरकारी खेर फालिरहेका हुन्छौं। खेर फाल्नुको सट्टा दुई गाँस मात्रै कम खाएर भए पनि यो अभियानमा लागेकालाई उपलब्ध गराउन सकिएको अवस्थामा धेरै परिवारको खाली पेट भरिने रहेछ।
तसर्थ हामी सबैले यो अभियानलाई सघाउनुपर्छ। राजधानीमा मात्रै होइन, मुलुकका अन्य भागमा पनि यो अभियान सञ्चालन भइरहेको छ। कतै सामाजिक संस्था तथा व्यक्तिका अगुवाइमा चलेको छ भने कतै गाउँपालिका, नगरपालिका तथा स्थानीय सरकारको अगुवाइमा पनि अभियान चलिरहेको छ। अभियानमा प्रशस्त खाद्यान्न हुने परिवारले खाद्य बैंकमा लगेर आफ्नो योग्यताअनुसारको सामग्री उपलब्ध गराउँछन्। त्यही ठाउँमा गएर खाद्यान्न अभावको सामना गरिरहेका परिवारले दामासाही गरेर बैंकमा उपलब्ध सामग्री लैजान्छन्। विगतमा सीमित समूहबाट सुरु गरिएको यो अभियान विस्तारै फैलिने क्रममा छ। यसलाई सबैले प्रोत्साहन गर्नुपर्छ। यसलाई कुनै पनि प्रकारको राजनीतिक वाद र स्वार्थ समूहसँग नजोडी विशुद्ध सामाजिक कार्य ठान्नुपर्छ।
तर कतिपय ठाउँमा अभियानका नाममा विवाद पनि देखिएको छ। क्षणिक समयको लोकप्रियताका लागि मात्र फुड बैंक स्थापना गरेको देखाउने, अदृश्य रूपमा अन्य समूहबाट पैसा तथा अन्य सहयोग उठाउने र देखावटी केही सामग्री मात्र वितरण गरेर सञ्चारमाध्यममा प्रचारबाजी गर्ने प्रवृत्ति देखिएको छ। यो प्रवृत्ति सुधार्नुपर्छ। आम्दानी र खर्च पारदर्शी हुनुपर्छ। खाद्य बैंक स्थापना गर्नुअघि स्थानीय प्रशासनलाई जानकारी गराउने तथा सम्भव भएसम्म अनुमति लिएर मात्रै अभियान चलाउनुपर्छ। प्रशासनले पनि आफूमातहत सञ्चालन भएका सहयोगसँग सम्बन्धित कामको निगरानी गर्नुपर्छ।
सम्भव भएसम्म खाद्यान्न अभाव झेलिरहेका, गरिब तथा विपन्नका वासस्थानलाई लक्षित गरेर कार्यक्रम तय गर्नुपर्छ। यो अभियान सञ्चालन गर्दै गर्दा खाद्यान्नको महत्वबारेमा पनि सिकाउनुपर्छ। खाद्यान्न अभाव कसरी हुन्छ र यसको सही उपयोग प्रणालीबारेमा पनि सर्वसाधारणलाई सिकाउनुपर्छ। अहिले राज्यलाई कारोना संक्रमितलाई उपचार र पहिचान गर्नसमेत हम्मे परेको छ। तसर्थ अहिलेको अवस्थामा जसरी भए पनि यो पुण्यसिद्ध कर्मलाई राज्यका नजरमा पर्न नसकेका गरिब, निमुखा र समुदायका हितमा केन्द्रित गर्नुपर्छ।