प्रहरी, स्वास्थ्यकर्मीसहित ३३ जना संक्रमित
राजविराज : इलाका प्रहरी कार्यालय सखडामा कार्यरत २ प्रहरी, राजविराज नगरपालिका–२ का १ प्रहरी, बिष्णुपुर गाउँपालिकाका ६० वर्षीय स्वास्थ्य संयोजक तथा अनार भुवनेश्वर अस्पताल राजविराजकी ४८ वर्षीया स्विपरसहित सप्तरीमा बुधबार ३३ जनामा संक्रमण देखिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार १३ महिला र २० पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
काठमाडौंबाट हालै आएका छिन्नमस्ता गाउँपालिका–३ का २७ र ३२ वर्षीया महिलामा पनि संक्रमण देखिएको वडा अध्यक्ष दिपेन्द्र यादवले जानकारी दिए।
यस्तै राजविराज–१ का १२ र ३८ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नम्बर–२ का ३८, ५० र ७२ वर्षीय पुरुष, वडा नम्बर–४ का उमेर नखुलेका पुरुष, वडा नम्बर–६ का १९ र ४५ वर्षीय पुरुष तथा ११ र ५५ वर्षीया महिला, वडा नम्बर–७ का १४, १५, १६, २६, ५५ वर्षीय पुरुष तथा ६, २१, २५, ३०, ३०, ५० वर्षीया महिला संक्रमित भएका छन्। वडा नम्बर ७ का ५ जना एकै परिवारका हुन्।
यसैगरी राजविराज–८ का ६० वर्षीय पुरुष, वडा नम्बर–९ का ३१ वर्षीय पुरुष र १७ वर्षीया महिला तथा वडा नम्बर–१० का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। संक्रमित हुनेमा प्रहरी, स्वास्थ्यकर्मीसहित इञ्जिनियर, अधिवक्ता, कर्मचारी र व्यापारी रहेका छन्।
योसँगै सप्तरीमा बुधबारसम्म संक्रमितको संख्या ९७३ पुगेको छ। जसमा १६४ जना महिला छन्। संक्रमितमध्ये एक महिलासहित आठ जनाको मृत्यु भएको छ। संक्रमितहरूमध्ये ६७९ जना निको भइ घर फर्किएका स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।