दाहसंस्कारपछि मात्रै कोरोना पुष्टि : सय बढी थिए मलामी
पोखरा : स्तन क्यान्सर र मिर्गौला सम्बन्धी समस्या भएर उपचार गराइरहेकी एक महिलाको २ दिनअघि मृत्यु भयो।
पर्यटन, राजनीति र समाजसेवा लगायत क्षेत्रका एकजना भन्दा बढी व्यक्ति उनको मलामी गए। शुक्रबार पोखरा सेती नदीमा दाहसंस्कार गरिएकी ती महिलामा कोरोना भाइरस संक्रमणसमेत रहेको शनिबार पुष्टि भयो।
मृतक महिलामा कोरोना रहेको पुष्टि भएपछि उनको उपचार गराएको निजी अस्पतालका ४ स्वास्थ्यकर्मी र थुप्रै मलामीहरु अहिले क्वारेन्टाइनमा बस्न बाध्य भएका छन्। उनीहरु स्वस्फुर्त क्वारेन्टाइनमा बसेका छन्।
पोखरा ५ पस्र्याङ बस्ने ४५ वर्षे महिलाको स्वास्थ्यमा समस्या भएपछि परिवारले बुधबार फिस्टेल अस्पताल लगेको थियो। सिकिस्त हुँदै जाँदा उनलाई बिहीबार आइसियूमै भर्ना गरिएको अस्पतालले जनाएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले स्वाब लिइसकेको व्यक्तिको शव परिवारलाई बुझाउनु मनपरी भनेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा यो घटनाबारे ७ प्रश्न उठाएका छन्।
नमुना परीक्षण किन नगरिएको, स्वाब लिएपछि शव किन परिवारलाई हस्तान्तरण गरिएको र रिपोर्टका लागि एक दिन किन कुर्न नसकेको भन्ने लगायत उनका प्रश्न छन्।
‘नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल सञ्चालकलाई थाहा नभएको हो ?,’ शर्माको प्रश्न छ, ‘कि अस्पताल प्रशासनले प्रदेश सरकारलाई अटेरी गरिएको हो ? अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?’
यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने भन्ने उनको अर्को प्रश्न छ। स्वाब संकलन भएपछि शव व्यवस्थापन गरिहाल भनेर प्रदेश सरकारले नभनेको शर्माले अन्नपूर्णलाई बताए।
ती महिलाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशमा २४ जना पुगेका छन्। शनिबार मात्रै पोखरामा ८५ वर्षे पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको छ। उनी स्याङ्जाको पुतलीबजारका बासिन्दा हुन्। क्षेत्रीय अस्पतालमा ज्यान गुमाउने उनी दसौं व्यक्ति हुन्। मृत्यु भएका १० जनामध्ये पोखराकै चाहिँ ६ जना छन्।