पितृप्रतिको श्रद्धा नै श्राद्ध
विविध संस्कार, संस्कृति र परम्पराले भरिएको हिन्दुहरूको आधारशिला सनातन धर्म हो। हाम्रा मूल ग्रन्थ चारवटा वेद हुन्। यी चार वेदमूलक सारांश स्मृति, उपनिषद्, पुराण आादि ग्रन्थमा उल्लेख गरिएका छन्। हाम्रा हरेक ज्ञान र धर्मविज्ञान, विधि विधानका स्रोत यिनै धर्म ग्रन्थ हुन्। जन्मदेखि मृत्युसम्मका हरेक क्रियाकलाप हाम्रा संस्कार हुन् र यसैभित्र हाम्रा संस्कृति चलायमान् हुन्छन्।
हाम्रो जीवनको अन्तिम संस्कार मृत्यु संस्कार हो। मृत्युसँग जोडिएको हरेक वर्ष आफ्ना पितृहरूको सम्झना गर्ने संस्कारजन्य परम्परा श्राद्ध हो। सो कुनै जातविशेषले मात्र होइन, सनातन धर्म र परम्परामा विश्वास गर्ने कुनै पनि मानव जातिले आफ्ना पितृहरूको सम्झनामा श्राद्ध गर्न सक्छ। म कुनै धर्मको ज्ञाता त होइन, तर धर्मले कुनै जातविशेषले श्राद्ध गर्ने वा नगर्ने भनेर छुट्ट्याएको जस्तो मलाई लाग्दैन। विधि फरक होलान्, तर हरेक धर्ममा आफ्ना पितृ सम्झने परम्परा रहिआएको छ।
हाम्रो धर्ममा श्राद्धलाई धेरै प्रकारमा परिभाषित गरे पनि मु्ख्यतः एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्ध एकोद्दिष्ट, धेरै पितृको सम्झनामा गरिने पार्वण या महालय श्राद्ध, मांगलिक कार्य गर्नुअघि गरिने श्राद्ध आभ्युदायिक श्राद्ध वा वृद्धि श्राद्ध भनिन्छ। कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्धलाई तीर्थ श्राद्ध भनिन्छ। यसरी हेर्दा श्राद्ध भन्नाले कुनै पिण्ड पकाएर दान गर्ने मात्र बुझिँदैन; कुनै पनि मांगलिक कार्य गर्नुपहिले पितृको सम्झनामा विनापिन्ड दान पितृहरूलाई आह्वान गर्ने सम्झने कार्यलाई पनि श्राद्ध भनिन्छ।
कुनै पनि चाडपर्व, तीर्थ, विवाह व्रतबन्ध गर्नुपूर्व आफ्ना पितृहरूको सम्मान, श्रद्धा तथा सम्झनास्वरूप श्राद्ध गर्ने गरिन्छ। हाम्रा जीवनका हरेक सफलता पितृहरूको आशीर्वाद रहेको हुन्छ उनीहरूको श्रद्धा गर्नु सम्झना गर्नु एउटा सन्तानको कर्तव्य नै हो।
यिनै श्राद्धभित्रको एउटा श्राद्ध हो सोह्र श्राद्ध। हाम्रा चाडपर्व र तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पार्वण वा महालय श्राद्ध पनि भनिन्छ। वास्तवमा यो १६ दिन पितृहरूको चाड पर्व हो दसैं–तिहारजस्तो। त्यसैले पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि गरिने श्राद्ध नै पितृ संस्कृति हो।
हरेक वर्ष लगातार १६ दिनसम्म गरिने श्राद्ध भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो र यस अवधिलाई पितृपक्ष पनि भनिन्छ। तिथिअनुसार आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णमासीका दिन एक दिन गरी १६ मानिन्छ। पहिलेपहिले सोह्र श्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो। तर अहिले सोह्र श्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनमा अन्य श्राद्धमा एक छाकीका दिन बारेसरह चोखोनिधो गरेर बस्ने गरिन्छ। सोह्र श्राद्ध व्यक्तिविशेषको श्राद्ध होइन, यो सबै पितृलोकमा पुगेका पितृहरूको साझा श्राद्ध हो।
सामान्यतः व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना दिवंगत पितृको तिथिलाई लिएर श्राद्ध गर्ने परम्परा प्रचलनमा छ। तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यसपटक एउटा र अर्कोपटक अर्को तिथि रोज्नु हुँदैन। सुरुमा जुन तिथि समात्यो, जुठो, सूतक वा छोइछिटोले वाधा नपारे त्यही तिथिमा वर्षैपिच्छे श्राद्ध गर्नुपर्छ। आमरूपमा नेपाली परिवेशमा सोह्र श्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बूढाबाजे) मध्ये कुनै एकजनाको तिथि समातेर बर्सेनि उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ। तर जसलाई आफ्ना परिजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी, एकादशी वा अमावश्या तिथिका दिन श्राद्ध गर्ने चलन छ। पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आशाले पितृहरू मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ। सामान्यतः वर्षमा एक दिन पितृलाई दिएर कसरी तृप्त हुन्छन् भन्ने भनाइ पनि रहेको छ तर हाम्रो धर्मशास्त्रले यस धरतीको सौर्यलोकलाई ३६५ दिनको एक वर्ष र पितृहरू बस्ने पितृलोकलाई ३६५ दिनको एक दिन मानेको छ।
हाम्रो शास्त्रअनुसार महालय श्राद्ध गर्दा चारजना ब्राह्मण चाहिने भएकाले अहिले सत्पात्र ब्राह्मणसमेत नपाइने भएकाले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण स्थापना गरेर श्राद्ध गरिन्छ। पहिलेपहिले पार्वण श्राद्ध गर्दा चारजना ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र शुद्धताको निमित्त श्राद्ध मण्डपमा कुशको ब्राह्मण राखेर श्राद्ध गर्ने परम्परा चलेको हो। दुवैपट्टि दुई–दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राह्मण भनिन्छ। अन्य श्राद्धको विधिजस्तै सुरुमा देव–मनुष्य–दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रणा गरिन्छ (पहिलेपहिले अघिल्लै दिनमा गरिन्थ्यो) ब्राह्मण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारैजना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ। यसपछि विकर दान गरी पिण्डदानका लागि वेदी बनाएर पूजा गरिन्छ। प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ। सोह्र श्राद्धमा पितृकूल मातृकूलका तीन–तीन पुस्ता, सासू–ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ। शास्त्रअनुसार पहिलो पुस्ता पितामाता वसुस्वरूप, दोस्रो पुस्ता हजुरबुबा हजुरआमा रुद्रस्वरूप तथा तेस्रो पुस्ता बूढो हजुरबुवा बूढीहजुरआमा आदित्य स्वरूप भएर श्राद्ध कर्म स्वीकार गर्छन् भन्ने मान्यता रहेको छ।
पितृको मृत तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध तेस्रो प्रहर अर्थात् मध्याह्नकालमा गरिनुपर्छ। अपराह्नकालमा सुरु गरेर सायंकालसम्म गए पनि फरक पर्दैन तर मध्याह्नकाल वा त्यसभन्दा अघि नै भने सोह्र श्राद्ध गर्नु हुँदैन। समयमा नगरे श्राद्धको फल प्राप्त हुँदैन। प्रत्येक गृहस्थिले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नुपर्छ। अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ। तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन। अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुने मात्र होइन, तिनको शक्ति र सामथ्र्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता छ। त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वका घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थ क्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ। मन्दिर वा तीर्थ क्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन। श्राद्धमा ब्राह्मणलाई अनिवार्य रूपमा खिरको खोजन गराउनुपर्ने मान्यतासमेत रहेको छ।
सोह्र श्राद्ध विेशेषगरी भाद्र आश्विन महिनामा पर्छ। वर्षात्पछिको यस समयमा घरआँगन वरपर हिलो रहिरहने र लामखुट्टे पनि लाग्ने हुँदा उहिले औलो मलेरियाको प्रकोप हुने गथ्र्यो। शास्त्रअनुसार उहिले सोह्र दिन नै श्राद्ध गर्नुपर्ने भएकाले हरेक दिन खिर खाँदा त्यसबाट शरीरमा उत्पन्न हुने पित्तले औलो मलेरियाका कीटाणु नाश गर्ने शक्ति प्राप्त भएर औलो मलेरियाजस्ता रोग नलाग्ने भन्ने भनाइसमेत छ। त्यसैगरी श्राद्धमा प्रयोग गरिने जौ, तिल कुशको समेत वैज्ञानिक प्रभाव रहेको बताइन्छ।
यसरी श्राद्ध गर्नु हाम्रा ज्ञातअज्ञात पितृहरूप्रति सम्मान तथा श्रद्धा नै हो। चाहे कसैले पिण्डदान गरेर ब्राह्मण भोजन तथा द्रव्यदान गराएर पितृको सम्झना गरून् चाहे कसैले गरिब, दीनदुःखी असहायलाई भोजन गराएर वा सेवा र सहयोग गरेर पितृहरूको सम्झना गरून्, त्यो पितृहरूप्रतिको श्रद्धा नै हो। वास्तवमा धार्मिक मान्यताअनुसार हरेक महिनाको औंसीमा श्राद्ध गर्नुपर्ने र सोह्र श्राद्धमा हरेक दिन श्राद्ध गर्नुपर्ने भनिएको छ भने चारवटा कुशको ब्राम्मण होइन, स्वयं ब्राह्मणलाई पुज्नुपर्ने भनिएको छ तर समय, परिस्थिति र सहजता हेर्दै परम्परालाई परिष्कृत गर्दै ल्याइएको छ र ल्याउनु पनि पर्छ।
कोरोनाको महामाहारीको अवस्थामा ब्राह्मण घरघरमा बोलाएर श्राद्ध गराउनुभन्दा आधुनिक प्रविधि प्रयोग गरी अनलाइनबाट भिडियोमार्फत मन्त्रोच्चारण गरी श्राद्ध गर्नु उपयुक्त देखिन्छ वा अन्य उपयुक्त समयमा पछि श्राद्ध गर्न सकिन्छ वा अरू नै माध्यमबाट दीन, दुःखी र असहायलाई सहयोग गरेर पितृहरूको सम्झना वा श्रद्धा गर्नु नै वास्तविक रूपमा पितृहरूको श्राद्ध हुनेछ र यसमै पितृहरू खुसी हुनेछन् भन्ने समय र परिस्थितिअनुसार हामीले स्विकार्नैपर्छ।हाइलाइट
कोरोना महामाहारीको अवस्थामा दीन, दुःखी र असहायलाई सहयोग गरेर पितृप्रति श्रद्धा गर्नु नै वास्तविक रूपमा पितृहरूको श्राद्ध हुनेछ।