स्यानिटाइजर धन्दा

स्यानिटाइजर धन्दा

कोरोना महामारीका कारण मुलुक अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको छ। सामाजिक र आर्थिक गतिविधिमा आएको परिवर्तनले नागरिकको दैनिकी बदलिएको छ। एउटा गिरोह यही अप्ठ्यारो परिस्थितिको मौका छोप्दै नक्कली सामग्री बेचेर सम्पत्ति आर्जनमा लागेको छ। कोरोना संक्रमण रोकथाममा आवश्यक ठानिएको स्यानिटाइजरमा समेत नक्कली र मानव स्वास्थ्यका लागि हानिकारक रसायन मिसाएर यस्ता गिरोहले बजारमा खुलमखुला बेचिरहेको छ। न्यून आय भएका वर्ग यस्तै कमसल सामग्री प्रयोग गर्न बाध्य छन्। नियमनकारी निकाय भने कानमा तेल हालेर बसेको छ।

कोरोना संक्रमण फैलिएसँंगै मध्यमदेखि ठूला व्यापारीसमेत मास्क, स्यानिटाइजरलगायतका सामग्री उत्पादनतर्फ लागे। लकडाउनका कारण अन्य सेवा क्षेत्रका उद्योग तथा कलकारखाना खुलाउन नपाए पनि यी सामग्री उत्पादनमा सरकारी अवरोध नहुने देखेर उनीहरू यतातर्फ आकर्षित भएका थिए। सरकारी ध्यान कोरोना नियन्त्रणमा मात्र केन्द्रित रहेको मौका छोपेर उनीहरूले यस्ता सामग्रीको मनपरी मूल्य मात्र राखेका छैनन्, कमसल र विषाक्त कच्चा पदार्थ प्रयोग गरेर मनग्ये आम्दानी गरिरहेका छन्। मानव स्वास्थ्यका लागि हानिकारक विषादी मिसिएको स्यानिटाइजनर बेच्ने क्रम जारी छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको अनुसन्धानमा बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशतको कोरोना नियन्त्रणमा कुनै प्रभाव नरहेको तथा मानव स्वास्थ्यमा गम्भीर आघात पुग्ने पदार्थ प्रयोग गरेको पाइएको छ। यसमा दुईखाले हानिकारक जीवाणु नष्ट गर्ने क्षमता नभएको पाइएको थियो। अनुसन्धानका क्रममा नास्टले २२ ब्रान्डको नमुना परीक्षण गरेको थियो। अनुसन्धानमा समावेश नगरिएका अन्य ब्रान्डका स्यानिटाइजरको अवस्था कस्तो छ, कसैलाई पत्तो छैन। कोरोना नियन्त्रणका लागि हरेक नागरिकले के गर्न सक्छु भनेर सोच्नुपर्ने समयमा अरूलाई मारेर भए पनि आफू मात्रै कमाउने मनसाय राख्नु गम्भीर अपराध हो। यस्ता कर्ममा लाग्नेलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।

विगतमा औषधि उत्पादनमा संलग्न अधिकांश कम्पनी अहिले स्यानिटाइजर उत्पादनमा क्रियाशील छन्। मुलुकभर तीन सयभन्दा बढी उद्योगले स्यानिटाइजर उत्पादन गरिरहे पनि तीसवटाले मात्रै सरकारी अनुमति लिएका छन्। अनुमति नलिने उद्योगमा अनुगमन गर्न नसक्नु सरकारको कमजोरी हो। औषधि व्यवस्था विभागले तत्काल यस्ता उद्योगमा निगरानी बढाउनुपर्छ। हानिकारक स्यानिटाइजर उत्पादन तत्काल रोक्नुपर्छ। बजारमा बिक्रीका लागि लगिएका सामग्री जफत गर्नुपर्छ। गैरकानुनी रूपमा स्यानिटाइजर उत्पादन गर्नु र नक्कली सामग्री उत्पादन गर्नु भनेको सरकारी अधिकारीलाई चुनौती दिनु हो। प्रचलित नीति, नियम र कानुनको उल्लंघन गर्नु हो। जसका लागि कानुन बनाइएको हुन्छ, उसैले पालना गर्दैन भने यसको के अर्थ ? अनि कानुनको पालना गराउन सक्दैन भने जिम्मेवारी बोकेका व्यक्तिले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहने ? गलत कृत्यमा लाग्नेलाई बेलैमा कारबाही गर्न सकिएन भने यस्ता धन्दा थप मौलाउनेछन्। बजारमा नक्कली सामग्री उत्पादनको मात्र एकछत्र राज हुनेछ। यसले सक्कली सामान उत्पादन गर्ने उद्योगी र व्यापारीलाई समेत निरुत्साहित बनाउँछ।

कोरोना नियन्त्रणका लागि उत्पादन गरिने स्यानिटाइजर प्रयोग गरिने कच्चा पदार्थको मात्राका लागि विश्व स्वास्थ्य संगठनले छुट्टै मापदण्ड बनाएको छ। सय मिलिलिटर स्यानिटाइजर बनाउन ७८ मिलिलिटर इथानल प्रयोग गर्नुपर्छ। हाइड्रोजन पेरोक्साइडलगायतका रसायनको मात्रा प्रयोगमा पनि उसको आफ्नै मापदण्ड छ। नेपालमा पनि यो मापदण्ड कडाइका साथ लागू गरिनुपर्छ। नेपालभित्र बन्ने अधिकांश स्यानिटाइजरमा व्यवसायीले मुनाफा धेरै कमाउन इथानलको सट्टा मेथानलको अधिक प्रयोग गरेका छन्। यसले छाला, स्नायु प्रणाली, मिर्गौलालगायतका अंगमा परोक्षरूपमा हानि पुर्‍याइरहेको छ। स्यानिटाइजर उत्पादकलाई पनि बोतलभित्र प्रयोग गरिएको कच्चा पदार्थको मात्रा स्पष्ट देखिने गरी लेख्ने नियम कडाइका साथ लागू गर्नुपर्छ। सँगसँगै यस्ता सामग्रीको मूल्यमा पनि एकरूपता ल्याउनुपर्छ। कोरोनाबाट घर न घाटको अवस्थामा पुगेको निम्छरा उपभोक्तालाई नक्कली सामग्री भिडाएर अकूत कमाउने धन्दा बन्द गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.