चिकित्सक र बिरामीमा कोरोना संक्रमण
राजविराज : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, प्रहरी र बिरामीमा समेत कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालमा सोमबार गरिएको परीक्षणमा अस्पतालमा कार्यरत २८ वर्षीय चिकित्सक, ४० वर्षीय शल्यक्रिया सहायक र अस्पताल बीटका २५ वर्षीय प्रहरी संक्रमित भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा डायलासिस सेवा लिइरहेका ६ जना बिरामीमा समेत सोमबार संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताए ।
सप्तरीको सुरुङ्गा नगरपालिका– १ सिसवारीका ८५ वर्षीय, वडा नम्बर– ३ दौलतपुरका ५८ वर्षीय, खडक नगरपालिका– ३ का ३५ वर्षीय, महादेवा गाउँपालिका– ४ का २७ वर्षीय, बिष्णुपुर गाउँपालिका– ६ का उमेर नखुलेका पुरुष र सिरहाको गोलबजार नगरपालिका– १२ का ६५ वर्षीय पुरुष गरी ६ जना डायलासिस विरामीमा कोरोना संक्रमण देखिएको छ । डायलासिस सेवा लिइरहेका १ बिरामी र १ नर्समा १० दिन अघि संक्रमण देखिएको थियो ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ का ५० वर्षीय क्यान्सर पीडित, उनको ४५ वर्षीया श्रीमती र २५ वर्षीया छोरी संक्रमित भएका छन् । भैरहवा जानका लागि पीसीआर परीक्षण गराएका भैरहवामा कार्यरत डाक्टर तिलाठी कोइलाडी गाउँपालिका– ४ का २८ वर्षीय पुरुष, राजविराजस्थित कर कार्यालयका ३१ वर्षीय कर्मचारीमा पनि संक्रमण देखिएको छ ।
यस्तै राजविराज नगरपालिका– ६ का १७ वर्षीया महिला र वडा नम्बर–७ का ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार ३४ पुगेको छ । जसमा १७४ जना महिला र ८६० पुरुष छन् । कोरोना संक्रमितमध्ये १०५ महिलासहित ७३६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।