पसल खुल्न थालेपछि निषेधाज्ञा हटाइयो
राजविराज : राजविराजका व्यापारीहरुले बजारका पसलहरु खोल्न थालेसँगै जिल्ला सुरक्षा समिति सप्तरीको बैठकले निषेधाज्ञा हटाएको छ। जिल्ला सुरक्षा समिति, सप्तरीको सोमबार साँझ सम्पन्न बैठकले निषेधाज्ञा हटाएको सिडिओ शंकरहरी आचार्यले जानकारी दिए। जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवसहितको उपस्थितीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समिति, सप्तरीको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्दकुमार ठाकुरद्वारा सोमबार साँझ जारी सूचनाअनुसार निषेधाज्ञाबाट जनजिविकामा परिरहेको असरलाई दृष्ट्रिगत गरी निर्णय गरिएको जनाइएको छ। निषेधाज्ञा हटाइए पनि सार्वजनिक सवारी साधन, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, सैलुन, ब्युटी पार्लर, हाटबजार जिमखाना, कभर्ड हल, मेला, चाडपर्व, महोत्सवलगायत सामुहिक गतिविधी हुने कार्य गर्न, गराउन नपाउने गरी रोक लगाइएको छ। सूचनामा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
सप्तरी जिल्लामा एक महिनाभन्दा बढी समयदेखि लाग्दै आएको निषेधाज्ञा हटाउने निर्णय गर्नुभन्दा एक साता अगावैदेखि बजारका आधाजसो पसलहरु खुल्न लागेका थिए। निषेधाज्ञा हटाएको सूचना सार्वजनिक भएसँगै बजारमा मानिसहरुको भिड बढेको छ।
राजविराज नगरपालिका कार्यालयले साउन ७ गतेदेखि लकडाउन गरेको राजविराजमा जिल्ला सुरक्षा समितिले साउन ८ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो। सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रमा साउन २० गतेदेखि जारी निषेधाज्ञालाई कम गर्दै भदौ १६ गतेदेखि बढी संक्रमण देखिएको राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा भदौ २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको थियो। भदौ २२ गतेदेखि राजविराज बाहेक जिल्लाका अन्य क्षेत्रमा निषेधाज्ञा हटाए पनि सोमबार मध्यराति सम्मका लागि राजविराजको मुख्य बजारमा निषेधाज्ञाको अवधि थप गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा सोमबार जारी सूचनाअनुसार स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर मात्र अति आवश्यक पसल सञ्चालन गर्न, निजी सवारी साधन मात्र सञ्चालन गर्न, यातायात मापदण्ड पालना गरी बढीमा २ जना यात्री राखेर सिटी रिक्सा सञ्चालन गर्न र बैंक तथा बित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भिडभाड नहुने गरी सेवा सञ्चालन गर्न पाइने छ।
यसैगरी सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुबित्त एवम् बित्तिय संस्थाहरुले विधुतिय माध्यमबाट सेवा प्रवाह गर्ने, ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित गराउने व्यवस्था मिलाउने, होटल_रेष्टुरेण्टले होम डेलिभरी वा ग्राहकले प्याकिङ गरेर लैजाने टेक अवे बिधि प्रयोग गरी सञ्चालन गर्ने भनिएको छ।