सीमा सहरका व्यथा

सीमा सहरका व्यथा

छिमेकी भारतसँगका सीमा क्षेत्रका सहरको रौनक नै बेग्लै छ यतिबेला। ससाना सामान किन्न पनि भारत पुग्ने उपभोक्ता सीमा बन्द भएपछि आफ्नै सहरमा किनमेल गर्न थालेका छन्। लकडाउन र निषेधाज्ञाले थला परेका व्यापारी नागरिकको चहलपहल बढेसँगै राहत महसुस गर्दैछन्। सीमाका सहरको वर्षौंदेखिको पीडा र व्यथा समान छ।

 जब चाडवाड आउँछ, भारततिरका बजारमा नेपाली उपभोक्ताको भीड बढ्न थाल्छ तर आफ्ना पसलमा झिँगा धपाएर बस्नुपर्ने बाध्यता छ। उपभोक्ताले सीमापारिबाट सामान ओसारेको हेरेर बस्नुपर्ने अवस्था हुन्छ सीमा सहरका व्यापारीले। सीमापारि पाइने मूल्यमै सामान दिन्छु भन्दा पनि उपभोक्ता उतै छिर्ने गरेको सीमाका व्यापारीको गुनासो हुन्छ।

कोभिड— १९ को संक्रमणबाट जोगिन सरकारले भारतसँगका सीमानाका बन्द गरेको छ। केही दिनअघि लकडाउन खुकुलो बनाएसँगै बजारमा किनमेल गर्नेको भीडभाड बढेको छ। मुख्यगरी विराटनगर, भैरहवा, धनगढी, नेपालगन्जलगायत सीमाका सहर नेपाली उपभोक्ताले भरिभराउ देखिन थालेका छन्। नेपाली ग्राहकले स्वदेशकै सहरमा किनमेल गर्न थालेपछि दैनिक व्यापार पनि ह्वात्तै बढेको भन्दै व्यापारी खुसी व्यक्त गर्न थालेका छन्।

खुला सीमाका कारण प्रायः नेपाली उपभोक्ता भारतीय बजारमा सामान किन्न जान्छन्। सीमापारिका बजारका मुख्य उपभोक्ता नै नेपाली हुन्। नुन, तेल, चिनीदेखि लुगाकपडा किन्न नेपाली उपभोक्ता सीधै भारतीय बजारमा पुग्ने गर्छन्। थोरै भए पनि सस्तोमा पाइने भएकाले उतै जानु स्वाभाविक हो। तर बिलविनाका गुणस्तरहीन सामान खरिद गरेर नेपाली उपभोक्ता ठगिने गरेका छन्। सामान किनेर फर्किने क्रममा भारतीय सुरक्षा बल र भन्सारका कर्मचारीको दुव्र्यवहार त नेपाली नागरिकले वर्षौंदेखि भोग्दै आएका समस्या हुन्।

कोभिडको सन्त्रासबीच दसैं, तिहार, छठजस्ता नेपालीका मुख्य चाडवाड नजिकिँदै छ। जस्तोसुकै संकटमा पनि परम्परा र रीतिरिवाज आत्मसात गर्ने नेपाली नागरिकको स्वभाव छ। भारततिरका नाका नखुले नेपाली उपभोक्ता यसपटक नेपाली बजारमै सीमित हुने पक्का छ। त्यसो हुँदा बजारमा एक्कासि भीडभाड बढ्ने सम्भावना छ। यस्तोमा नेपाली बजारमा सामानको भाउ वृद्धि भई उपभोक्ता चर्को मारमा पर्ने सम्भावना रहन्छ। सरकारले अहिल्यैदेखि नै बजार अनुगमन तीव्र बनाउनुपर्छ। संकटका बेला पनि परम्परा र रीतिरिवाज मान्न खोज्नेहरू दोहोरो मारमा नपरून् भन्नेतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ।

लकडाउन खुकुलो भए पनि कोभिड संक्रमण घटेको होइन। यसबाट बच्न व्यापारीदेखि उपभोक्ताले स्वास्थ्य सुरक्षाको पालना गरेका छन्–छैनन् भनेर सरकारी अनुगमन हुन जरुरी छ। बजारबाट सामानसँगै कोभिड पनि घर भित्रिनेतर्फ उपभोक्ता सतर्क हुन जरुरी छ। बजारमा भीडभाड नगरी सामान किन्ने, मास्क, स्यानिटाइजर प्रयोग गर्ने र घरमा पुग्नेबित्तिकै साबुनपानीले हात धुने गर्नैपर्छ। दुईचार पैसाको लोभमा व्यापारीले पनि स्वास्थ्यको हेलचेक्र्याइँ गर्नुहुन्न।

सीमा बन्द भएपछि नेपाली उपभोक्ता स्वदेशी बजारमा केन्द्रित हुनु अनौठो होइन। नेपाली उपभोक्तालाई सधैंभरि नेपाली बजारमै सामान किन्ने बानीको विकास कसरी गराउने भन्ने चुनौती र अवसर दुवै थपिएको छ नेपाली सहरका व्यापारीमा। बेला यही हो भन्दै गुणस्तरहीन सामान भिडाउने, अनावश्यक रूपमा बजार महँगो बनाउने र कालोबजारी गर्ने हो भने नेपाली उपभोक्ता पुनः भारतीय बजारमै फर्किने निश्चित छ। सीमा बन्द हुँदा स्वदेशी सामग्रीले पनि बजार पाउने अवस्था रहन्छ। गुणस्तरीय सामान बजारमा राख्ने र उपभोक्तालाई सहुलियत दिने हो भने स्वदेशमै सामान किन्ने बानी नेपाली उपभोक्तामा पर्नेछ। यसले स्वदेशी पुँजी स्वदेशमै रहनेछ। कोभिडले ल्याएको संकटलाई अवसरमा बदल्न सके सीमाका सहरले जुनी फेर्ने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.