राजनीतिमा गुलाब फुल्नुको उद्देश्य

राजनीतिमा गुलाब फुल्नुको उद्देश्य

विन्स्टन चर्चिलले भनेका छन्– राजनीति कुनै खेल मात्र नभएर कमाउने व्यवसाय हो। राजनीतिज्ञको दावा हुन्छ– राजनीति र विकास एकअर्काका परिपूरक हुन्। कुनै पनि राष्ट्रको सम्पन्नता र विकासनिम्ति राजनीतिको महत्वपूर्ण भूमिका रहन्छ। एउटा स्थिर सरकार बन्न कुशल राजनीतिक पार्टीको अहम् भूमिका रहन्छ आदि–आदि परिभाषाले राजनीतिक बजार मौलाएको हुन्छ। नागरिकलाई हिप्नोटाइज गराउन सजिलो माध्यम पनि राजनीति नै बनेको छ भने एउटा राजनीतिक धार समातेर मुद्दा उठाउन र हरेक सुविधा लिएर आफ्नो स्वार्थ पूरा गर्न पनि राजनीतिले धेरै सघाएको छ। राजनीतिमा लाग्नेहरूका धेरै उद्देश्य छन्, तर व्यक्तिगत जीवन र राजनीतिसँग कुनै उद्देश्य मिल्दैन। मिल्दो हो त राजनीति जीवन रूपान्तरणको माध्यम किन बनेन ? राजनीतिले मानवीय समानता किन देखाउन सकेन ? आज संकटको समयमा पनि समाजमा रहेका असमानता, सुखसुविधा, पहुँचवाला र उपेक्षित वर्ग, हुनेखाने र भएखाने, भोकमरीको सँघारमा पुग्ने र सम्पन्न जीवन बाँच्नेबीचको अन्तराल जुन देखिन थालेको छ, त्यसले राजनीतिको खिल्ली उडाएको भान हुन्छ। हरेक पक्ष राजनीतिसँग जोडिएर आएका हुन्छन्। न्यायपालिकादेखि लिएर पत्रकारिता, स्वास्थ्य क्षेत्रदेखि शिक्षा, पूर्वाधार विकासदेखि लिएर कृषि क्षेत्रको उपादेयता र रोजगारदेखि लिएर विदेश पलायनमा राजनीतिको भूमिका, राजनीतिक खेल, राजनीतिक भ्रष्टाचार र राजनीतिक विसंगतिले स्थान पाएको नागरिकको गुनासो नौलो छैन।

मानव जीवन र राजनीति मेल नखाने दुई धु्रव रहेछन्। त्यसो नहुँदो हो त नागरिकलाई परेका समस्यामा राजनीतिको भूमिका के त ? राजनीतिक भूमिका निर्वाचन नजिकिँदा मात्र हो ? निर्वाचनको समयमा घोषणापत्रका बाकस बोकेर सपनाका उपहार बाँड्नेहरू संकटमा खाना, सुरक्षा सामग्री र नागरिकको सान्त्वनाका लागि किन एकजुट भएनन् ? राजनीतिक तक्मा थाप्नेहरूका हृदय संवेदनाले छट्पटाउन किन सकेनन् ? सम्मानको अपेक्षा र समाचार चाहनेले निमुखा जनताको रोग, भोक र शोकको समाचारमा साथ दिन किन पछि परे ? आज राजधानीकै सडकमा अभाव र शोकका धेरै समाचार छ्यापछ्याप्ती हुँदा सम्मानित व्यक्तित्व र उनीहरूका समाजसेवा कसलाई काम लागे ? महिला शिक्षा र भविष्य विषयको वेबिनार चल्दा यस्ता विषयले बढी स्थान र समय लिएपछि पंक्तिकारलाई सोचनीय बनायो कि गुलाब फुलोस् या मुर्झाओस्, यसले राजनीतिक उद्देश्यमा के असर गर्छ ? अर्थात् मानव जीवन र संवेदनाका अगाडि राजनीतिले कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न नसक्ने रहेछ।

मानव जीवन र संवेदनाका अगाडि राजनीतिले कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न नसक्ने रहेछ।

महिला शिक्षा र अबको भविष्यसँग जोडिएर चलेको बहसमा राजधानी सहरमा बढ्दै गएको भोकमरी, बेरोजगार र स्वास्थ्य सेवा अभावले प्रत्यक्ष प्रभाव पार्दोरहेछ। यसलाई गहिराइबाट हेर्ने हो भने मानव जीवनका बहुआयामलाई राजनीतिसँग जोडेर हेर्नु काउलीको तरकारी मनपर्छ तर हवाईजहाज चढ्दा डर लाग्छ भनेजस्तै अतुलनीय प्रसंग हुन आउने रहेछ। सरकारसँग नागरिकको अपेक्षा हुनु राजनीतिक दलसँगको आफ्नो मत र तादात्म्यको अपेक्षा भन्ने हुँदोरहेछ। तर सरसर्ति सबैले बुझ्ने पक्ष त राजनीतिमा लाग्नुको अनेक उद्देश्य र फाइदा होलान् तर जीवनको उद्देश्य जीवन नै हो। किनभने जीवनको अलावा अरू चिज छैन। एउटा राजनीतिज्ञले आफ्नो जीवनको उद्देश्य र मर्म बुझ्न नभ्याउँदै मृगतृष्णारूपी स्वअपेक्षामा समय गुजारिरहेको हुन्छ। मिठाई खानेले न गुलियोको स्वाद अनुभूति गर्न सक्छ। नागरिक किन भोकै छन् ? समाजमा किन बेरोजगार र अभाव फैलिरहेछ ? व्यवस्थापन पक्षले दीर्घकालीन असर र प्रभावलाई कसरी सम्बोधन गर्ने र कसरी योजना बुन्नुपथ्र्यो ? यो उसको समझभित्र पर्ने कुरा होइन ? अर्को एउटा जिज्ञासा बेप्रसंग वेबिनारमा झुल्किए पनि यो प्रसंगको उद्देश्य थियो। नागरिकको हकहित र सुरक्षा सवाल यसले खोज्दै थियो।

महिला शिक्षा र भविष्यको उद्देश्यसँग यतिका जिज्ञासाले समग्र नागरिक हितको विषय उठान गर्दा रहेछन् है ! भिडियो अफ गरेर संवाद र सवाल सुनिरहेकी मलाई हृदयतः साक्षी भएर बोध भएको थियो, यी सबै आम नागरिकका संवेदना हुन्। वक्ता र अतिथिको संयुक्त यी हुटहुटी र नजानिँदो आक्रोश अनि वर्तमान परिवेशप्रतिको चिन्ताले एउटा ठूलो मार्गचित्रको प्रदर्शन गरे झैं भान हुन्थ्यो। विशिष्ट पदमा रहेर सेवा गर्ने राजधानीका महिला–पुरुष मात्र नभएर कर्णालीका शिक्षिका एवं सरकारी विद्यालयमा पढ्ने छात्राको अनुभूति एकै ठाउँमा मि श्रण हुँदा देशको मानचित्र र समृद्धिका योजना त यो दुई घन्टाको वेबिनारले प्रशस्त दिन सकेको थियो। यसमा कुनै सरकारी प्रतिनिधित्व र राजनीतिक नेतृत्व श्रोताका रूपमा सहभागी भएर, आफ्नो भाषण नगरी, भिडियो अफ गरेरै दुई घन्टा सुनेर बसेका भए उनले आफ्नो जीवनको गीता पढ्न पाउने रहेछन्। कुनै नेतृत्वको काल्पनिक चित्र यहाँ अनायासै आउने रहेछ।

भिडियो अफ गरेर, बेलामौकामा आफ्ना इमेल र मेसेज हेर्दै, चिया पिउँदै आफ्नो अनुकूलताअनुसार पनि वेबिनारको सक्रिय सहभागिका रूपमा रहेको मलाई एक्कासि होस्ट वान्टेड योर भिडियो अन, अन्म्युट योरसेल्फ भन्ने मेसेजसहित प्रश्न आयो– म्याडमको जिज्ञासा या सुझाव सुन्न पाए आभारी हुने थियौं। एक्कासि झस्केको मैले भिडियो अन गरें, अडियो अन्म्युट गरें र अनायासै मुखबाट निस्क्यो– गुलाब फुल्नुको उद्देश्य के हो ? गुलाबको सुन्दरताको उद्देश्य के हो ? यो प्रश्नको जवाफ राजनीतिज्ञसँग छैन र उसले यसको मर्म बुझेको पनि हुँदैन। जति पनि प्राकृतिक स्वभाव छन्, त्यहाँ कृत्रिम कारण खोजेर भेटिँदैन। हामीले महिला शिक्षा र भविष्यको चित्रलाई आधार बनाएर बहस गरे पनि जसले यसलाई सुन्नुपर्ने हो, उसले सुन्न पाएको छैन। हामीले आफ्ना धारणा, जिज्ञासा र भविष्यमा गर्न सकिने सम्भावित योजनाको खाका बनायौं, तर यसलाई कार्यान्वयन गराउनुपर्ने पक्षले त यो संवाद सुनेको छैन। हाम्रो कार्यक्रमको समाचार बन्ला, कहींकतैबाट यो कुराको प्रसंग उठ्ला, तर यसलाई गहिराइबाट मर्म बुझ्ने को निस्केला र ? कुनै मेसिनको उद्देश्य हुन्छ– त्यसले के काम गर्छ र फाइदा के हुन्छ ! कुनै आयोजनाको उद्देश्य हुन्छ– त्यसमा लगानी कति गर्ने, कति वर्षमा पूरा गर्ने, फाइदा कति होला, आफ्ना मान्छे कतिलाई रोजगार दिन सकिन्छ आदि–आदि। तर व्यक्ति र उसका संवेदनाको कुनै उद्देश्य हुँदैन ठ्याक्कै फाइदा या नोक्सान निकाल्न सकियोस्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.