महामारीभन्दा समाजसँग जोगिन गाह्रो
सिंगो भूगोल नै कोभिड महामारीसँग भिडिरहेका बेला नेपाली समाज भने स्वासथ्यकर्मीसँग भिडिरहेको छ। हाम्रो समाज आफ्नै टोलका स्वास्थ्यकर्मीलाई लखेट्न, अपमान र दुव्र्यवहार गर्न अघि सर्दै छ। देशभर स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारका घटना एउटा प्रवृत्तिजस्तै गरी देखिएका छन्। चितवनमा ३० साउन २०७७ मा चिकित्सकका घरमा कोरोना संक्रमित ब्यानर टांग्न, स्वाब संकलन गर्नेलाई घरमा बस्न निषेध; दाङ र सिन्धुलीमा घरबाट निकाल्ने; संखुवासभा, विराटनगर, बीरगन्ज, बैतडी, जाजरकोटहरूमा चिकित्सकमाथि आक्रमण र कैयन् स्थानमा अपमानपूर्ण व्यवहार भए। यी घटनालाई माथ गर्दै भदौ ६ गते देशकै राजधानी तथा शिक्षित बस्ती मानिने नयाँबानेश्वरमा असभ्य घटना भयो। संक्रमित जोकोहीलाई पनि त्यस्तो व्यवहार गर्न पाइँदैन भने संक्रमित नै नभएकामा विभिन्न समूहका नाममा यस्ता हर्कत मानवीय संवेदनामाथि प्रहार र मानव सभ्यताको उपहास हो। विश्वले नै चिकित्सा सेवाप्रति आम विश्वास तथा भरोसा गरिरहेका बेला नेपालमा यस्ता घटना हुनु चेतना अभावको उदाहरण हो।
जोखिम बढी
अन्तर्राष्ट्रिय जगत्मा पनि उपचारको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित भई मरिरहेकाले सम्भावित संक्रमणबाट उनीहरूका परिवार र आफन्तलाई जोगाउन अस्पतालमै उपयुक्त गाँस र वास गरिदिन माग भइरहेको छ। चौबीसघन्टे ड्युटी तोकिएको छ। अस्पताल पुग्नेहरूको उपचारमा पीपीईविनै खटिइरहेका छन्। स्वास्थ्यकर्मीहरूको अकालमै मृत्यु हुनुमा संक्रमण अनियन्त्रित तरिकाले बढ्नु, स्क्रिनिङ राम्रो नहुँदा सबै बिरामीको पहिचान नहुनु, लामो समय काम गर्दा आराम नपाउनु, परिवारसँग भेटघाट र सम्पर्क नुहुनु, पूर्ण समय सुत्न नपाउँदा निद्रा कम आदि रहेका छन्। एकजना स्वास्थ्यकर्मी संक्रमित हुँदा उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मी, अन्य बिरामी तिनका आफन्त, परिवार र छरछिमेक सबैमा संक्रमण सर्छ।
चीन, इटाली र अमेरिकाजस्ता देशमा त स्वास्थ्यकर्मीको अभाव छ भने सधैं जनशक्ति अभावमा रहेको नेपालको हविगत के होला ? स्वास्थ्य आपत्कालीन परिस्थितिमा कुनै पनि स्वास्थ्यकर्मी आफ्नो पेसाप्रतिको कर्तव्य तथा जिम्मेवारीबाट पन्छिँदैनन्। न त हिजो पन्छिए, न त आज पन्छिन्छन् र न त भोलि नै। आफ्नो सुरक्षा अनुभूति नभएसम्म आत्मबल बढ्दैन र प्रतिबद्ध भई काम गर्ने जोस र जाँगर आउँदैन। नेपालमा भने स्वास्थ्यकर्मी तयार पारेर कहाँ र कता खटाउने ? कसलाई के जिम्मा दिने ? कसको निगरानीमा कसलाई राख्ने भन्ने गृहकार्य छैन। खालि क्वारेन्टाइन र आइसोलेसन शय्या गन्नमै सीमित छौं। अब त अस्थायी, करार मात्र होइन, स्वयंसेवकका नाममा स्वास्थ्यकर्मी माग्दै भर्ना गर्न उद्यत् छौं।
जताततै पीपीई तर गुणस्तर ?
पीपीई भन्नाले संक्रमित बिरामीबाट आफूलाई व्यक्तिगत सुरक्षाका लागि लगाउने कबच हो। यो लगाउने प्रक्रियालाई डोनिङ र फुकाल्ने प्रक्रियालाई डफिङ भनिन्छ। पीपीई सेट विभिन्न प्रकारका र विभिन्न वस्तु रहेका हुन सक्छन्। जोखिमको वर्गीकरणअनुसार पीपीई फरकफरक रहन्छ र त्यहीअनुसारको उपलब्धताको प्रत्याभूति संस्थाहरूले गर्नुपर्छ, अन्यथा जर्मनीमा पीपीई अभावविरुद्ध नग्न हुनु भनेको सुरक्षा सामग्रीविना कति कमजोर छौं भन्ने कुराको प्रतीकस्वरूप डाक्टरहरूको नग्न प्रदर्शन भएजस्तै नहोला भन्न सकिँदैन। मन्त्रालयको सभाहलमै महामारीको तयारी भएन भन्नेलाई कोरोना उत्तरको हिमालले छेक्छ, पीपीई भएन भनी गुनासो गर्ने चिकित्सकसँग भात पकाउँदा पनि पीपीई चाहिएला जस्तो गर्न थालियो भन्ने प्रतिक्रिया आए। पीपीई कसको विषय थाहै भएन।
बेलायतमा प्रधानमन्त्रीको सहभागितामा हरेक बिहीबार साँझ आठ बजे ताली बज्छ। भारतमा प्रधानमन्त्रीको दियो सम्मान तथा सांस्कृतिकरूपमा अभियान चल्छ। नेपालमा प्रोत्साहनमूलक कर्म खै ?
गुणस्तरहीन भइदिँदा सर्वसाधारण र स्वास्थ्यकर्मीहरू जोखिममा पर्छन्। तथापि नेपाल गुणस्तर परिषद्को उपसमितिले कोरोनाका लागि तयार पारिएका सामग्रीको गुणस्तर परीक्षणको उपयुक्त विधि र प्रयोगशाला नेपालमा छैन। यस अवस्थामा विश्व स्वास्थ्य संगठनले तोकेको वा सिफारिस गरेको स्वास्थ्य सामग्री नै प्रयोग गर्न सुझायो। द डेली टेलिग्राफका अनुसार स्पेनको नर्थविक पार्क अस्पताल ह्यारोमा व्यक्तिगत सुरक्षा सामग्री अभाव भएकाले फोहोर फ्याँक्न प्रयोग गरिने प्लास्टिकका झोला प्रयोग गर्दा कार्यरत तीनजना नर्सलाई कोरोना संक्रमण भयो।
चिकित्साकर्मीहरू त्रास र नैतिक दुविधामा छन्। उनीहरूलाई एउटा बिरामीको रक्षा गनुपर्ने पेसागत धर्म र अर्काे पर्याप्त सुरक्षाकबच नहुँदा आफूमा संक्रमण हुने डर छ। बिरामीहरू पनि संकटमा छन्। उनीहरूलाई उचित उपचार र स्याहार पाउन कठिन छ।
. प्रोत्साहन तथा सम्मान खै ?
मन्त्रिपरिषद्बाट २०७६ चैत २४ गते पारित दैनिक तीन सयदेखि तलबको शतप्रतिशतसम्म चैत ११ गतेदेखि जोखिम भत्ता दिने व्यवस्था, उपचार खर्च र बिमाको निर्णय भएको छ। तर पनि सरकारले कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले पाँच महिना बितिसक्दा पनि आजसम्म जोखिम भत्ता पाएका छैनन्।
सरकारी ढिलासुस्तीको मारमा कोभिड– १९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाहरूलाई कहिलेसम्म पेसागत दायित्वले थाम्ला र ? घर नगई, पानी नपिई अस्पतालमा खटिइरहेका स्वास्थ्यकर्मीलाई संक्रमण, जटिलताबाट जोगाउनेलाई सम्मान गर्नुपर्नेमा किन यस्तो अमानवीय व्यवहार ? बेलायतमा प्रधानमन्त्रीको सहभागितामा हरेक बिहीबार साँझ आठ बजे ताली बज्छ। भारतमा प्रधानमन्त्रीको दियो सम्मान तथा सांस्कृतिकरूपमा अभियान चल्छ। नेपालमा प्रोत्साहनमूलक कर्म खै ?
विकल्प
हामीले संक्रमण नियन्त्रण गर्न सफल देशबाट सिक्नैपर्छ। ती मुलुकले संक्रमण फैलिएसँगै सर्वप्रथम मानिसलाई घरमै सीमित गराए; ठूलो संख्यामा जाँच गराए; सीमित स्रोत र साधन भएका ठाउँमा पनि स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न, अस्पतालमा आउने जुनसुकै बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउँदा अनिवार्य कम्तीमा सर्जिकल मास्क लगाउने; हातमा पञ्जा र हातको स्वच्छता जुनसुकै बेला पनि कायम राख्ने आफूले प्रयोग गर्ने सम्पूर्ण वस्तुलाई डिसइन्फेक्टेन्ट प्रयोग गरी कीटाणुरहित बनाउने; शंकास्पद बिरामी जस्तै– ज्वरो, खोकी, शरीर गल्ने वा श्वासप्रश्वासमा समस्या भएकालाई भेट्नासाथ उनीहरूलाई अन्य बिरामीको संसर्गबाट टाढा राख्ने र त्यस्ता बिरामी हेर्न छुट्टै ठाउँ र मेडिकल टिमको प्रबन्ध मिलाए। आफ्नो क्लिनिकबाट पनि व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम राख्न अधिकतम प्रयास गरे; छोएरै जाँच्नुपर्नेबाहेक अन्य समयमा कम्तीमा ६ फिटकै दूरीमा रहे। मास्क, चस्मा, गाउन र अन्य सुरक्षाका सामान संक्रमण पुष्टि भइसकेका बिरामीको उपचारका निम्ति साँचेर राखे।
कसैमा संक्रमण पुष्टि भएमा अस्पताल बन्द गर्ने वा स्वास्थ्यकर्मी सबैलाई क्वारेन्टाइनमा राख्ने काम हङकङ र सिंगापुरले गरेनन्। पोजिटिभ बिरामी कहाँकहाँ गयो र कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाए अनि उससँग सम्पर्कमा रहेकाहरूलाई क्वारेन्टाइनमा राखियो। जबकि दक्षिण कोरिया मास परीक्षणको सहायताले कोरोना नियन्त्रण गर्न सफल भयो।
अन्त्यमा, स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नु अमर्यादित तथा अभद्र मात्र नभई दण्डनीयसमेत रहेको छ। शंकास्पद, संक्रमित तथा स्वास्थ्यकर्मी घरमा बस्दा सिंगो वायुमण्डल दूषित हुने भ्रमको पाटोलाई सरकारी निकायले चिर्नुपर्छ। चिकित्सकले बचाइरहेको हरेक जिन्दगी आफू वा आफन्तजत्तिकै हो भनेर बुझ्न सक्नुपर्छ।
–डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।