वडासचिवको मृत्यु
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिकामा कार्यरत एक जना वडा सचिवको मृत्यु भएको छ। नलगाड नगरपालिकाको १० नम्बर वडा कार्यालयमा कार्यरत वडासचिव कविराम रोकाको बुधवार मृत्यु भएको हो।
रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ छिवाङ निवासी २६ वर्षीय रोकाको कार्यक्षेत्रमा खटिएका बेला निधन भएको नगरप्रमुख टेकबहादुर रावलले बताए। एक सातादेखि ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने लगायतका समस्या उनमा देखिएको थियो। कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गरेर प्रयोगशाला पठाउने तयारी भइरहेको छ।