अक्षम्य अपराध
महिला र बालबालिकाविरुद्ध भएका हिंसा र बलात्कारका घटना अचेल दिनहुँजसो बाहिर आइरहेका छन्। घटनामा वृद्धि हुँदै जाँदा एक पुरुषलाई पुरुष हुँ भन्न लाजै लाग्ने अवस्था आइसकेको छ। यस्ता घटना रोक्न कडा दण्ड र सजायको व्यवस्था हुनुपर्ने माग उठिरहेका बेला सप्तरीका डाकनेश्वरी नगरपालिकामा एक किशोरीलाई सामूहिक बलात्कार गर्ने युवाको समूहलाई समाजकै अगुवाले संरक्षण दिए। बलात्कारीलाई सामान्य जरिमाना दिएर घटनालाई छिसमिस पार्न खोज्दा पीडित युवतीले न्यायको आश मारिन् र अन्ततः अन्धविश्वासले जरो गाडेको समाजमा टिक्न नसक्ने सोचेर मृत्युको बाटो रोजिन्।
खेतमा सामूहिक बलात्कारमा परेकी युवतीको परिवार सुरुमा न्याय माग्न गाउँका ठालु कहलिएका केही व्यक्तिका शरणमा पुगे। कथाकथित पञ्चेतीले पीडित परिवारको आशाविपरीत पीडित युवकबाट ५५ हजार रुपैयाँ बलात्कारमा परेकी युवतीलाई क्षतिपूर्ति भराउने र थप उजुरीका लागि प्रशासन जान नपाउने फैसला गर्यो। विश्वमा मानव अधिकार, न्याय, स्वतन्त्रता, कानुनी राज्यको स्थापना तथा महिला हक अधिकारका पक्षमा लहर चलिरहेका बेला कथाकथित पञ्चेतीले यस्तो फैसला गर्नु निकृष्ट कार्य हो। यस्तो फैसलामा सहभागी हुनेले ठूलो सामाजिक अपराध गरेका छन्। तसर्थ बलात्कार गर्ने र बलात्कारी जोगाउने दुवै पक्षलाई व्यक्ति हत्या गरेको अभियोग लगाएर कारबाहीको दायरामा ल्याउनुपर्छ। पञ्चेती वा मुलुकका अन्य भागमा प्रचलनमा रहेका पञ्च भलाद्मी र गाउँले भेलाका नाममा गरिने भेदभावपूर्ण फैसलामा संलग्न हुनेलाई पनि यो घटनाबाट सबक सिकाउनुपर्छ। गलत फैसला गर्दा पीडितलाई अन्याय मात्रै होइन, आफैं पनि फसिँदो रहेछ भन्ने अनुभूति उनीहरूलाई गराउनुपर्छ।
तत्कालका लागि पीडित परिवारलाई क्षतिपूर्ति दिनु एउटा पक्ष भए पनि समाजमा जरो गाडेर रहेको अन्धविश्वासको निर्मूलीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्छ। बोक्सीको आरोपमा उजुरी गर्ने र जरिमानाको फैसला गर्ने, बलात्कारीसँग विवाह गराइदिएर मुद्दा ओझेलमा पार्ने तथा बलात्कारीलाई जोगाइदिने, बाल र बहुविवाहलाई सहजै स्वीकार गर्न लगाउनेजस्ता विकृतिमा गाउँमा कुरा नमिलेपछि मात्र उजुरी गर्न प्रहरीसम्म पुग्ने प्रवृत्ति अन्त्य गरिनुपर्छ। कतै यी कुप्रथा र कुसंस्कारको पछाडि धार्मिक अन्धता त छैन भन्नेतर्फ पनि खोजी गर्नुपर्ने भएको छ। समाजमा दबिएका, निम्सरा, दलित तथा अल्पसंख्यक समुदाय यस्ता घटनाको सिकार हुने गरेका छन्। सप्तरी घटनाका दोषीलाई कडा कारबाही गरेमात्रै सुरक्षाको चिन्तामा रहेका यस्ता समुदायले आनन्दको श्वास फेर्न पाउनेछन्। प्रहरी प्रशासनले बलात्कारमा संलग्न युवा, पञ्चेतीको फैसलामा सहभागी र फैसला गराउन उक्साउनेलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ।
यो घटनामा दोषीलाई कारबाही गर्नु तत्कालका लागि पीडितलाई न्याय दिन गरिएको असल अभ्यास मात्रै हुनेछ। कमजोर आर्थिक तथा सामाजिक पृष्ठभूमि भएकाहरूले पीडित परिवारमाथि समाजका अगुवाबाट अझै पनि विविध प्रकारको धम्की तथा प्रलोभन आउन सक्छ। त्यसतर्फ प्रहरी प्रशासन चनाखो भएर उनीहरूको सुरक्षाको प्रत्याभूत गर्नुपर्छ। तर शदीयौंदेखि जरा गाडिरहेको यस्ता अन्धविश्वासबाटै मुक्ति कसरी खोज्ने भन्ने बेला आएको छ। यस्ता महान् अभियानको सुरुवात सचेत नागरिकबाटै गर्नुपर्छ। त्यसमा पनि युवाशक्तिले यसको नेतृत्व लिनुपर्छ। हामीले पढ्ने स्कुले पाठ्यक्रममा समावेश गरेर यस्ता विषयलाई बहसमा ल्याउनुपर्छ। विश्वविद्यालय तहको पाठ्यक्रममा पनि यस्ता विषय जोड्नुपर्छ। सार्वजनिक बहस गर्नुपर्छ। विविध प्रकारको अन्धताले गाँजेको मुलुकमा यस्ता विषयमा विमर्श गर्न र रूपान्तरणका लागि पहल गर्न ढिलाइ भइसकेको छ।