तपाईंको यात्रा सुरक्षित होस्

तपाईंको यात्रा सुरक्षित होस्

लकडाउनको करिबकरिब अन्त्यसँगै बिहीबारदेखि लामो दूरीका यातायात चल्न थालेको छ।  ६ महिनासम्म बस सञ्चालन ठप्प हुँदा आत्तिएका सञ्चालक, मजदुर तथा यात्रूहरू यो निर्णयबाट खुसी भएका छन्। खुसीसँगै स्वास्थ्य सुरक्षाको चुनौती पनि थपिएको छ। लकडाउनबाट व्यवसाय चौपट भएर धान्नै नसकेर मात्रै बस चलाउन थालिएको हो। बस चलेपछि कोरोना पनि भाग्यो भन्दै स्वास्थ्यको ख्यालै नगरी लापरबाही गरियो भने अहिलेसम्म जेनतेन ठूलो खतरा निम्तिनबाट रोकिएको महामारीले छिटै विकराल रूप लिँदैन  भन्न सकिँदैन। यसतर्फ सरोकारवाला सचेत हुनुपर्छ।

लामो रुटका सवारी चलेपछि राजधानी वा कोरोना संक्रमणको अति जोखिममा रहेका प्रदेश र जिल्ला नै किन नहोस्, सबैको एकअर्कासँग मानव सम्पर्क बढ्दै जान्छ। स्वास्थ्य सुरक्षामा खेलाँची गरियो भने काठमाडौंका संक्रमितले गाउँघरमा कोरोना सार्न सक्छन्। गाउँघरका संक्रमितले अन्य ठाउँका व्यक्ति तथा समुदायलाई खतरामा पार्न सक्छन्। किनकि अहिलेको स्वास्थ्य परीक्षणले कोरोना संक्रमित सबैलाई नियन्त्रणमा ल्याउन सकेको छैन। तत्काल पीसीआर परीक्षण नगरेका हामीमध्ये जोकोही पनि संक्रमित हुन सक्छौं। हरेकले स्वास्थ्य सुरक्षामा ध्यान दिन सकेनौं भने समुदाय स्तरमै संक्रमण फैलन बेर लाग्दैन। कसैले थाहा नपाई गाउँघरमा कोरोना फैलियो भने त्यतिखेर न त यसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ न त संक्रमितले उचित स्वास्थ्योपचार सेवा पाउँछन्। तुलनात्मक रूपमा पाका उमेरका नागरिकको बसोवास रहेको गाउँघरमा कथंकदाचित यो समस्या देखियो भने परिणाम पनि नसोचेकै आउन सक्छ। अहिलेसम्मको अध्ययनले पनि कोरोनाबाट सबैभन्दा बढी वृद्धवृद्धा लपेटिएको देखिन्छ।

बस सञ्चालन हुने भएपछि बसपार्क, टिकट काउन्टर तथा बसलाई समेत व्यवस्थापनले सकेसम्म संक्रमणबाट सुरक्षित बनाउने कोसिस गरेको देखिन्छ। यो कामलाई निरन्तरता दिन सकियो भने मात्रै यात्रु तथा बस सञ्चालनमा संलग्न कर्मचारीलाई सुरक्षित राख्न सकिन्छ भन्ने बिर्सनु हुन्न। यो कामलाई हरेक दिन बस सञ्चालनअघिको पूर्वशर्तका रूपमा लिनुपर्छ। बसभित्र स्यानिटाइजर राख्ने, यात्रुबीच स्वास्थ्य मापदण्ड अपनाएर मात्र सिटमा बस्न सिकाउने, भाडा लिनेदिने बेलामा पनि दूरी कायम गरेर मात्रै कारोबार गर्ने, मास्क नलगाएका यात्रुलाई बसभित्र बस्नै नदिने तथा मास्कविना नै आएका यात्रुलाई आवश्यकताअनुसार उपलब्ध गराउने काम पनि गर्नुपर्छ। स्वास्थ्य मापदण्डलाई हेलचक्र्याइँ गरेर कोरोना संक्रमण फैलियो भने सबैभन्दा ठूलो असर आफ्नै व्यवसायमा पर्छ भन्ने यथार्थ सञ्चालकले बिर्सनु हुँदैन।

दसैं, तिहारलगायतका चाडपर्वसमेत नजिकिँदै गरेको अवस्थामा सवारी साधनमा स्वाभाविक रूपमा यात्रुको चाप बढ्ने देखिन्छ। जसका कारण भीड निम्तिने खतरा छ। बस सञ्चालनपूर्व सरकारले तोकेअनुसारको स्वास्थ्य मापदण्ड अपनाइएको छ कि छैन भन्नेबारे हरेक स्थानीय निकायले आफ्नो क्षेत्रमा सञ्चालन हुने सवारीसाधनमा हरेक दिन निरीक्षण गर्नुपर्छ। तोकिएभन्दा बढी यात्रु राख्न दिनु हुँदैन। मापदण्ड पालना नगर्ने सवारी साधनलाई जरिमाना लिएर वा दुईतीन दिन सञ्चालन बन्द गरेर, जसरी पनि कारबाहीको दायरामा ल्याउनैपर्छ। उनीहरूलाई सचेत गराउनैपर्छ। यस्तो बेलामा बस सञ्चालकसँग मात्र भर नपरी हरेक यात्रुले आफ्नो सुरक्षामा आफैं ध्यान दिनुपर्छ। बस सञ्चालकलाई सुरक्षाका उपाय अपनाउन प्रेरित गर्नु मेरो पनि कर्तव्य हो भन्ने भावना हरेक यात्रुमा हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.