बेल्जियम ‘रेड जोन’मा
बेल्जियम (ब्रसेल्स) : बेल्जियममा गत २४ घन्टामा २ हजार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिनहुँ ३० हजारको हाराहारीमा कोरोना परीक्षण गर्दा संक्रमण सुरु भएयता सबैभन्दा बढी शुक्रबार सो संख्या पुगेको छ। गत हप्तादेखि औसत दिनमा १ हजार संक्रमित बढिरहेको तथ्यांकले देखाएको थियो। यसरी ७४ प्रतिशतले संक्रमण बढेको बेल्जियम शुक्रबारबाटै युरोपमा रेड जोन अर्थात् खतराको क्षेत्रमा परेको छ।
साइन्सानो ड्यासबोर्डको तथ्यांकअनुसार, गत हप्तामा प्रतिदिन औसत ३१ हजार एक सय जनामा परीक्षण गरिएको थियो। कोरोना महामारी सुरु भएदेखि करिब २८ लाख बेल्जियम नागरिकमा परीक्षण भइसकेको छ। १ करोड १६ लाख मात्र जनसंख्या भएको बेल्जियममा संक्रमित संख्या ९७ हजार ९ सय ७६ पुगेको छ भने झन्डै १० हजारको मृत्यु भइसकेको छ। शुक्रबारसम्म १८ हजार बिरामी कोरोना मुक्त भएका छन् भने ७० हजारको उपचार भइरहेको छ।
युरोपभरमै सातौं उच्च संक्रमित देश (इटाली, स्पेन र फ्रान्सपछि मृत्यु हुनेको संख्यामा बेलायतबाहेक) बेल्जियम चौथो स्थानमा रहेको छ भने जनसंख्याको अनुपातमा मृत्यु हुने देशमा बेल्जियम अग्रपंक्तिमा रहेको छ।
ब्रसेल्सका मेयरलाई कोरोना
कोरोना परीक्षण गर्दा शुक्रबार ब्रसेल्सको एव्रे नगरपालिकाका मेयर रिदौने चाहिदलाई कोरोना पुष्टि भएको छ। उनले फ्रान्कोफोन दैनिकलाई भनेअनुसार कोरोनो पोजिटिभ रिपोर्ट आएको छ। उनी अहिले १४ दिनका लागि क्वारेन्टाइनमा छन्। उनी भन्छन्, ‘मेरो पोजेटिभ नतिजा आएको छ तर म बिरामी छु भन्ने लाग्दैन।’
जरिबानाबाट ६ मिलियन युरो संकलन
हालसम्म कोरोनाबाट जोगिने नियमको उल्लंघन गर्नेलाई गरिएको जरिबानाबाट ६ मिलियन युरो संकलन भएको छ। भाषिक पहिचानसहितको संघीय मुलुक बेल्जियमका न्यायमन्त्री कुन जिन्सले सो कुरा आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। हालसम्म ३० हजार व्यक्तिले कोरोना रोकथामको नियम पालना नगर्दा जरिबाना तिरिसकेका छन् भने ४१ हजारलाई मुद्दा चलाइएको छ। त्यसैगरी १ हजार ८ सय २६ जनालाई जरिबानापत्र पठाइएको मन्त्री कुनले उल्लेख गरेका छन्। यसर्थ झन्डै ७३ हजारलाई प्रहरीले कारबाहीको दायरामा ल्याएको छ। सरकारी अनुरोधलाई बेवास्ता गर्नेलाई २ सय ५० देखि ४ हजार युरोसम्म सरकारले जरिवाना तोकेको थियो।
अन्य सहर पनि रेड जोनमा
शुक्रबार अपरान्ह ४ बजेदेखि लागू हुनेगरी बेल्जियमले अनावश्यक भ्रमणमा रोक लगाएको छ। युरोपका अन्य सहरहरू भियना–अस्ट्रिया, आम्स्टरडाम – रोट्राडाम – द हेग नेदरल्यान्ड, हंगेरीको बुडापेस्टलगायत रेड जोन घोषणा गरिएको छ। यसअघि फ्रान्स, इटाली –स्पेनका विभिन्न सहरहरू रेड जोनमै रहिसकेका छन्। यदि ती सहरबाट कोही आएमा अनिवार्य रूपमा परीक्षण गर्नुपर्ने र क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू भएको छ।
तीन सय मिलियन डोज कोरोना खोप
युरोपेली आयोगले सम्भावित कोरोना भाइरस खोपको लागि दोस्रो सम्झौतामा हस्ताक्षर गरेको छ। शुक्रबार युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयएन तीन सय मिलियन डोज खोप सनोफी र जीएसके फर्मास्युटिकल कम्पनीले उत्पादन गर्ने बताइन्।
उर्सुलाले प्रेस वक्तव्यमा युरोपियन युनियनका कम आय श्रोत भएका मुलुकहरूले आरक्षित अनुदान दिइने र सम्झौताले युरोपवासीको सुरक्षामा प्रतिबद्ध रहेको बताइन्। तर, केही समयअघि नै बेल्जियमले ७।५ मिलियन डोज खोप बेलायतको आस्त्राजेनेका कम्पनीबाट लिने सम्झौता गरिसकेको बताइन्। उक्त भ्याक्सिनले ३८ लाख बेल्जियमलाई खोप उपलब्ध हुनेछ किनभने यो खोप एक जनालाई दुई पटक दिइनेछ। बेल्जियमका स्वास्थ्यमन्त्री म्याग्गी दे ब्लकले उक्त भ्याक्सिन २ युरो ९० सेन्ट प्रतिडोज उपलब्ध हुने र यो सन् २०२१ को अन्ततिर उपलब्ध हुने बताएकी छन्।