कोरोनाविरुद्धको खोप लगाउने पहिलो नेपाली
मस्को : गैरआवासीय नेपाली संघका नेता बद्री केसीका अनुसार रुसमा एक नेपाली नागरिकले कोरोनाभाइरसविरुद्धको खोप लिएका छन् ।
रुसस्थित गैरआवासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका छन् । केसीका अनुसार ६१ वर्षीय डा महेश श्रेष्ठले पछिल्लो शनिबार खोप लिएका हुन् । रुसमा तयार भएको खोप लक्की ड्रका आधारमा नेपाली नागरिक श्रेष्ठलाई पनि लगाइएको हो ।
पुर्खौली घर सल्यान भएका श्रेष्ठ रुसको राजधानी मस्कोमा कार्यरत छन् । रुसी सरकारले पहिलो चरणमा ३० हजार जनालाई खोप दिने क्रममा उक्त टोलीमा श्रेष्ठ पनि परेका हुन् । कोरोनाविरुद्धको खोप विकासको लागि अमेरिका, बेलायत, चीन, रुस लगायतका वैज्ञानिक संघर्षशील छन् । तीमध्ये ६ वटा खोप अन्तिम चरणमा परेको बताइन्छ । जसमध्ये रुसले सबैभन्दा पहिले आफ्नो खोपलाई दर्ता गरिसकेको छ ।