उपचारका लागि लैजाँदै गर्दा बाटोमै वडाध्यक्षको निधन
राजविराज : सप्तरीको रुपनी गाउँपालिका-६ का वडा अध्यक्ष गोविन्द सिंह थापा मगरको सोमबार मृत्यु भएको छ। उपचारका लागि धरान लैजाँदै गर्दा ५४ वर्षीय मगरको बाटोमा मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए।
बिराट नर्सिंङ्ग अस्पताल बिराटनगरमा नौ दिनको उपचार पछि तीन दिन अघि मात्र मगर घर फर्किएका थिए। गाउँपालिका अध्यक्ष यादवका अनुसार अस्पतालका डाक्टर प्रवेजले कलेजोमा समस्या देखिएको भन्दै वडा अध्यक्ष मगरलाई १० दिनको औषधी दिएर घर पठाएका थिए । केही दिन देखि निकै तनावमा रहेका मगरको पछिल्लो समय खुट्टा सुन्निएको र पेट फुलेको परिवारका सदस्यले बताएका छन्।
सार्वजनिक जग्गामा वडा अध्यक्ष मगरले घर बनाएको भन्दै स्थानीयले विरोध जनाएर घर निर्माण कार्यमा अवरोध गरेपछि केही महिनादेखि उनी निकै तनावमा थिए। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि शवलाई घर ल्याउन लागिएको परिवारका सदस्यले जानकारी दिएका छन्।
गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा ५६६ मत ल्याएर मगर निर्वाचित भएका थिए।