बेचबिखनको विद्रूप रूप
मानव बेचबिखन नियन्त्रण गर्न सरकारले कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी भएको छैन। दलालहरूले निम्छरा नागरिकलाई ललाइफकाइ सिमाना कटाउने र छिमेकी भारत तथा अन्य मुलुक पुर्याएर आफूअनुकूल प्रयोग गर्ने क्रम अझै रोकिएको छैन। बेचबिखनमा पर्नेमा महिला तथा बालबालिका बढी छन्। कतिपय घटनाबारे समयमै थाहा पाएर प्रहरीले उद्धार गरेको छ। मीठा प्रलोभन देखाई प्रशासनका आँखा, कान छलेर सिमाना कटाएपछि मात्रै आफू बेचिएको जानकारी पाएका थुप्रैलाई कष्टकर जीवन बिताउन बाध्य पारिएको छ।
हालै मात्र सुनसरीकी एक किशोरी सम्भावित मानव बलिको जोखिमबाट उम्केकी छिन्। उनलाई आफ्नै छिमेकीले पूजाका लागि विराटनगरसम्म जाने बहानामा भारत पुर्याएकी थिइन्। आफूलाई भारत पुर्याएको पत्तो पाएपछि उनले भागेर ज्यान जोगाइन्। भारत पुर्याउन मतियार बनेकी छिमेकी र अन्य दुईजनालाई समेत पक्रेर प्रहरीले बयान लिँदा ती किशोरीलाई बिहारमा मानव बलि दिने प्रयोजनका लागि लैजान लागिएको अनुमान गरिएको छ। ती किशोरी प्रहरीसामु नआएको भए अप्रिय घटना हुन सक्थ्यो। यो घटनाले मानव बेचबिखनमा नयाँ शैली अपनाउन थालिएको स्पष्ट भएको छ।
कन्या केटी भएका कारण पूजामा सहभागी हुँदा पाँच हजार नगद दक्षिणास्वरूप दिइन्छ भन्ने प्रलोभन किशोरीलाई छिमेकीले दिएकी थिइन्। दैनिक भेटघाट हुने छिमेकीले त अनुमानै लगाउन नसक्ने गरी छोरी समानकी किशोरीलाई फसाउन खोजिन् भने अपरिचितको प्रलोभनमा फसियो भने के होला ? विशेषगरी महिला तथा किशोरी तत्काल फाइदा आउँछ भन्दै मीठो प्रलोभनबाट जोगिन सक्नुपर्छ। किशोरीका आमाबाबु तथा अभिभावक पनि यसतर्फ सचेत हुनुपर्ने पाठ यो घटनाले सिकाएको छ।
मानव बेचबिखन निर्मूल गर्न नेपाल सरकारले तीन दशकदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो क्षेत्रमा क्रियाशील सामाजिक संस्था अनगिन्ती छन्। तर पनि सबै प्रकारका उमेर र लिंगका करिब २० हजार नागरिक बर्सेनि बेचबिखनमा पर्ने गरेका छन्। लाखौं नागरिक बेचबिखनको जोखिममा परेका छन्। वर्षौंदेखि सयौं कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन नसक्नुको कारण खोजी गर्नुपर्ने बेला आएको यी घटनाले देखाएको छ। बेचबिखनमा विशेषगरी सोझा र कमजोर आर्थिक पृष्ठभूमिका नागरिक पर्ने गरेका छन्। योा समस्या निम्तिनुको मुख्य कारण अशिक्षा पनि हो। शिक्षित व्यक्तिमा पनि बेरोजगार दर उच्च छ। जीविकोपार्जनका लागिसमेत समस्या भएपछि अपराध कर्ममा लाग्नेको संख्या बढिरहेको छ। साथै लामो समयदेखि यस्तै धन्दामा लागेका र मनग्य आम्दानीसमेत हुने भएकाले पनि यस्तो विकृति मौलाएको हो। मानव बेचबिखनका लागि सरकारले विमानस्थल तथा छिमेकी मुलुकका नाकामा हेल्प डेस्क राखेको छ। तर यीभन्दा फरक नाका प्रयोग गरेर नागरिक बेचबिखन हुने गरेको छ। सडकमार्ग हुँदै भारतसम्म पुर्याउने र अन्य मुलुक पुर्याउने धन्दा पनि मौलाइरहेको छ। पर्याप्त जनचेनतना फैलाउन सकियो भने मात्रै यस्ता घटना निर्मूल पार्न सकिन्छ।
पक्राउ परेका दलाललाई कडा कारबाही हुनुपर्छ। गाउँस्तरबाटै मानव बेचबिखन तथा दुरुपयोग रोक्न जनचेतना फैलाउनुपर्छ। तीनै तहका सरकारले आफूमातहत सञ्चालन भएका कार्यक्रमको समीक्षा गर्दै थप प्रभावकारी बनाउन सामूहिक अभियान सञ्चालन गर्न आवश्यक छ।