सप्तरीको सीडीओ कार्यालयका प्रशासकीय अधिकृतसहित सात जनामा कोरोना संक्रमण
राजविराज : जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृतसहित सातजना बिहीबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा ३४ वर्षीय प्रशासकीय अधिकृतसहित सात जनामा संक्रमण पुष्टि भएको हो ।
राजविराजस्थित अस्पतालमा कार्यरत उनकी श्रीमतीमा शनिबार संक्रमण देखिएपछि प्रशासकीय अधिकृतले पीसीआर परीक्षण गराएका थिए । बिहीबार उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । बिहीबार मात्रै सीडीओका भान्से ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
बिहीबार संक्रमित थप हुनेमा बलान बिहुल गाउँपालिका–१ को २७ वर्षीय र कञ्चनरुप नगरपालिका–८ का ४० वर्षीय पुरुषसमेत रहेका छन् ।
जनकपुरमा गरिएको परीक्षणअनुसार महादेवा गाउँपालिका–४ का ३२ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका– ३ का ४२ वर्षीय पुरुष तथा वडा नम्बर– १२ की २२ वर्षीया महिला र उनकी २ वर्षीया छोरीमा समेत संक्रमण देखिएको छ।
आमा–छोरीको रिपोर्ट पोजिटिभ आएको र उनका श्रीमानको स्वाब राखेको किट फुटेकाले पुनः स्वाब संकलन गरी पठाइएको हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए । क्वारेण्टाइनमा बसेकी संक्रमित महिलाको आठ महिनाकी छोरी समेत रहेकी छन् । उनीहरु परिवारसहित सँगै बसेका छन् ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २९ पुगेको छ । जसमध्ये १२ जनाको मृत्यु भएको छ । ८५१ जनाले कोरोना जितेका छन् ।