विमानस्थल निर्माणको सन्देश
लकडाउनबीच गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको प्रगति सन्तोषजनक पाइएको छ। राष्ट्रिय गौरवका यी दुई आयोजनाले मुलुकको आर्थिक विकास र समृद्धिमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ। मुलुकको एकमात्र पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक जाम, घन्टौं जहाज आकाशमा फन्को मार्नुपर्ने बाध्यता र प्राकृतिक विपत्मा नजिकै जहाज डाइभर्ट गर्ने विमानस्थल नभएका कारण मुलुकमा अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता खट्किएको थियो। धार्मिक एवं ऐतिहासिक क्षेत्र लुम्बिनी र पर्यटकीय क्षेत्र पोखरामा दुइटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले उल्लेख प्रगति गर्दैछन्। सरकारले यस वर्षभित्रै यी दुइटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जनाएको छ।
विश्वव्याधि कोभिड- १९ को संक्रमणले मुलुक लकडाउनमा गए पनि सुरक्षा सतर्कतासहित विमानस्थल निर्माणका काम धमाधम अघि बढ्यो। कामदार र कर्मचारीलाई क्वारेन्टाइनमा राखेर यी विमानस्थल निर्माणको काम अघि बढाइएको थियो। कोभिडको त्रास अन्त्यसँगै गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा सुरु हुने सरकारले जनाएको छ। यो विमानस्थल निर्माणका लागि छिमेकी चीनबाट प्राविधिक आउन ढिलाइ भएका कारण उपकरण जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। सरकारले कूटनीतिक पहलमार्फत दुवै विमानस्थलमा प्राविधिक र प्रविधि छिटो भिœयाएर निर्माण प्रक्रिया टुंग्याउनुपर्छ। यी दुई विमानस्थल निर्माणपछि मुलुकको विकास निर्माणप्रति सकारात्मक सन्देश मात्र जाने छैन; समृद्धिको बाटोमा अघि बढाउन पनि सघाउ
पुर्याउनेछ। ठूला पूर्वाधार र विकास निर्माणका लागि यी आयोजना उदाहरणीय बन्नेछन्।
खाडीमा पसिना बगाउन पनि देशका कुनाकन्दराका नागरिकले जहाज चढ्न काठमाडौंमै आउनुपर्ने बाध्यता छ। यी विमानस्थल सञ्चालनमा आएपछि विदेश जान र फर्किन काठमाडौं आउनुपर्ने झन्झटबाट नागरिकले मुक्ति पाउनेछन्। यसबाट काठमाडौंको बढ्दो चाप, फजुल खर्च र यात्रा सरल एवं सहज हुनेछ। लाइट अफ एसियाका रूपमा चिनिने भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले मुलुकको धार्मिक र पर्यटन क्षेत्रले फट्को मार्नेछ। छिमेकी चीन, जापान, थाइल्यान्ड, भियतनामलगायतका देशबाट ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भित्रिने र मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ। विमानस्थल निर्माणसँगै पर्यटकको सेवा र सुविधाका लागि होटेल, रेस्टुराँ, बाटोघाटो, पर्यटकीय क्षेत्र विस्तारमा पनि ध्यान जान जरुरी छ। सुन्दर र पर्यटकीय स्थल पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले पनि उल्लेख्य प्रगति हासिल गरेको छ। हिमाल आरोहीदेखि पैदल यात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि यो विमानस्थलले योगदान पुर्याउनेछ। हिमालको रमणीय दृश्य हेर्दै पोखराको सुन्दरतामा लडिबुडी खेल्न चाहने पर्यटकका लागि यो विमानस्थल रोजाइको पहिलो गन्तव्य बन्नेछ।
उपत्यकाको भूबनोट, विमानस्थलको लम्बाइ र उचाइले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज उडान र अवतरणमा समस्या छ। दीर्घकालीन समाधान र मुलुकलाई (एयर हब) बनाउन भने निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बन्नैपर्ने विज्ञहरूको राय छ। सरकारले एसियाकै ठूलो क्षेत्रफलको विमानस्थल निजगढमा बनाउने घोषणा गरे पनि विभिन्न उल्झनका लागि निर्माणका काम अघि बढ्न सकेको छैन। काठमाडौं विमानस्थलमा देखिएका तत्कालका समस्यालाई गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले सघाउ पुर्याए पनि मुलुकको उज्ज्वल भविष्यका लागि निजगढमा अर्को अत्याधुनिक विमानस्थल निर्माणको खाँचो भने छ।