कोरोनाको बढ्दो प्रभाव
कोरोना संक्रमणलाई आम मानिसले सामान्य रूपमा बुझ्न थालेपछि जोखिम बढ्दै गएको छ। व्यक्तिगत होसियारी नअपनाउने हो भने यसले छिटै धेरैलाई पिरोल्न सक्ने पछिल्ला घटनाले पुष्टि गरेका छन्। मुलुकमा कोरोना संक्रमणबाट निको हुने दर ७३.४ प्रतिशत छ। यो सार्क मुलुकमै सबैभन्दा कम हो। पछिल्लो समय दैनिक औसत आठजनाको निधन हुने गरेको छ। कोरोना संक्रमणको सुरुवाती चरणमा निको हुने दर उच्च रहनु र मृतक नगन्य रहेकोमा यतिखेर बढ्नु भनेको कोरोनाको प्रभाव बलियो हुनु हो। संक्रमणको जोखिम कम गर्न सरकारले चालेको कदमको मात्र भर नपरी व्यक्तिगत सुरक्षामा ध्यान दिनु नै तत्काल जोखिमबाट बच्ने उपयुक्त विकल्प हो।
लकडाउन करिब–करिब पूर्णरूपमा खुलिसकेको छ। सहरी क्षेत्रमा शैक्षिक संस्था सञ्चालनमा लगाइएको बन्देज र उपत्यकामा सवारी साधन सञ्चालनमा लागू भएको जोरबिजोर प्रणालीबाहेक कोरोना नियन्त्रणका लागि अन्य बन्देज छैन। यसले गर्दा मानिसको आवतजावत बाक्लिएको छ। कोरोनालाई खेलाँची ठान्ने प्रवृत्ति बढेको छ। कोरोना भनेको सामान्य रहेछ र यो रोग लागे पनि सजिलै निको हुने रहेछ भन्ने आम मानिसको गलत बुझाइले जोखिम बढाउन मद्दत पु¥याएको छ। कुनै पनि समस्याले आफैंलाई आपत् नपार्दासम्म नचेतिने मानवीय स्वभाव हो। लकडाउन हटेसँगै धेरैजसोमा यही स्वभाव प्रतिबिम्बित भएको पाइन्छ, जसको असर विस्तारै भुसको आगोसरि विस्तार भइरहेको छ। बेलैमा होस नपु¥याउने हो भने यो आगोको भुंग्रोमा हामी जोकोही पर्न सक्छौं। निको हुने दर घट्नु र निधन हुने दर बढ्नुको मुख्य कारण मानवीय गतिविधि नै हो। यसबारेमा बेलैमा चेतिनु आवश्यक छ।
चाडपर्व नजिकिँदै गरेको र गाउँ तथा सहरमा समेत चहलपहल बढेकाले संक्रमण अझै तीव्ररूपमा बढ्न सक्ने देखिएको छ। छिमेकी भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ। उनीहरू सहजै उपत्यका छिरिरहेका छन्। दसैंको मौका छोपेर घर आएकाहरू सतर्क नहुने हो भने अहिलेसम्म कोरोनाको संक्रमण शून्य रहेको गाउँका बस्तीसमेत जोखिममा पर्न सक्छन्। यो जोखिमले सबैभन्दा बढी वृद्धवृद्धालाई सताउने निश्चित छ। किनकि कोरोना भाइरसले तुलनात्मक रूपमा वृद्धवृद्धालाई छिटो आक्रमण गर्ने विज्ञहरूले भन्दै आएका छन्। यो कुरा पछिल्ला घटनाले समेत पुष्टि गरिसकेको छ। किनकि उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता पनि कम हुन्छ। दीर्घरोगबाट पीडित भएकाहरूलाई त संक्रमण भइहालेमा निको पार्न झनै कठिन हुन्छ।
स्वास्थ्य मन्त्रालयले बारम्बार भन्दै आएको छ– हरेक व्यक्तिले आफूबाहेक अरूलाई कोरोना संक्रमण भएको छ भन्ने बुझ्नुपर्छ। सोहीअनुसार सुरक्षा उपाय अपनाउनुपर्छ। सबैमा यो भावना जागृत हुने हो भने कोरोना संक्रमण न्यूनीकरणमा निकै मद्दत पुग्छ। यसको अर्थ सबै सुरक्षा उपाय अपनाउने जिम्मा नागरिकलाई छाडेर सरकारी निकायले वास्ता नै नगर्ने भन्ने होइन। कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाका सन्तुलन आवश्यकताका कारण धेरै क्षेत्र खुला गरेको हो भन्ने यथार्थ कसैले पनि भुल्नु हुन्न। स्वास्थ्य सतर्कतालाई जस्तोसुकै कठिन परिस्थतिमा पनि कम गर्नु हुन्न। यो बेलामा सबै क्षेत्रमा उच्चस्तरको सतर्कता, साथ र सहयोगको खाँचो छ।