गण्डकी विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शपथ
पोखरा : कृषि तथा वन विश्वविद्यालयमा कार्यरत प्रा.डा नवराज देवकोटा गण्डकी विश्वविद्यालय (जियु)को उपकुलपति (भिसी) नियुक्त भएका छन्। शुक्रबार नियुक्त उनलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ दिलाए।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अनुसन्धान तथा प्रसार निर्देशक रहेका देवकोटा गण्डकीको खुला प्रतिस्पर्धात्मक आह्वान अनुसार उपकुलपति चुनिएका हुन्। सामाजिक विकास मन्त्री नरदेवी पुन संयोजकत्वको समितिले देवकोटालाई उपकुलपति चुनेको हो।
न्युजिल्यान्डको न्यासी विश्वविद्यालयबाट चरन विज्ञान सम्बन्धी विषयमा सन् १९९९ मा विद्यावारिधि गरेका उनले थाइल्यान्डको चियाङमाई विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन्। त्यहाँ उनले स्वर्णपदक प्राप्त गरेका थिए। २०३८ सालमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर चितवनबाट स्नातक देवकोटा त्यतिबेला उत्कृष्ट द्वितीय भएका थिए।
२०१८ साल भदौ ६ गते गोरखाको छोप्राकमा जन्मिएका उनले अमरज्योति मावि (लुइँटेल स्कुल) पनि पढे। एसएलसी भने मण्डकी मावि छोप्राकबाट दिएका हुन्। हालको सिरानचोक गाउँपालिका ४ छोप्राकका उनीसँग विश्वविद्यालयमा प्राध्यापनको ३४ वर्षे अनुभव छ। २०६६ सालमा उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकमा बढुवा भएका थिए। उनले २०६६ मा त्रिविबाट उत्कृष्ट शिक्षकको पुरस्कार प्राप्त गरेका थिए।
कृषि तथा पशुविज्ञान अध्ययन संस्थानलाई सरकारले २०६७ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रुपान्तरण गरेको थियो। देवकोटा कृषि क्याम्पसबाट २०६९ सालमा उक्त विश्वविद्यालयमा समायोजन भएका थिए।
गण्डकी विश्वविद्यालय राजनीतिक हस्तक्षेपबाट मुक्त तथा खुला प्रतिस्पर्धाका आधारमा छनोट हुने देखेरै आफू प्रतिस्पर्धामा सहभागी भएको उनले सुनाए। ‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने मान्यता राख्छु, गण्डकीमा हुँदैन भन्ने लाग्यो र आएँ,’ उनले भने।
उनले गण्डकी विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर पूर्ण लागु लगाउन प्रयत्न गर्ने बताए। उनले भने, ‘भनेको अवधिमा विद्यार्थी भर्ना हुन्छ, भनेको अवधि पढ्छ, भनेको बेलामा जाँच हुन्छ र भनेकै बेलामा नतिजा निस्कन्छ,’ उनले भने, ‘निश्चित अवधिमा राम्रो र योग्य व्यक्ति विश्वविद्यालयबाट निस्कन्छ।’ उनले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि पनि गण्डकी विश्वविद्यालयमा आकर्षण गर्न आफ्नो प्रयत्न रहने पनि बताउँछन्।
मुख्यमन्त्री गुरुङले गण्डकी विश्वविद्यालयमा भिसी प्राज्ञिक प्रमुख हुने र कुलपति (चान्सलर) चाहिँ कार्यकारी हुने व्यवस्था रहेको बताए। उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनकै लागि आफू कुलपति नबसेको जनाए। उनले गण्डकी विश्वविद्यालयलाई देशकै नमुना बनाउनुपर्ने खाँचो औंल्याए।
‘पहिलोपटकमात्रै कुलपति र उपकुलपति हामीले नियुक्त गरेका छौं, अब न्यासिक परिषदले नै नियुक्त गर्नेछ,’ उनले भने। न्यासिक परिषदका एक तिहाई सदस्य हरेक २ वर्षमा बदलिने जानकारी उनले दिए।
विश्वविद्यालय प्राज्ञिक व्यक्तिहरुबाट स्वायक्त रुपमा चल्नुपर्ने धारणा उनले राखे। ‘पहिलापहिला राजा महाराजा कुलपति बन्थे, त्यसपछि चाहिँ अहिले सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति, तर गण्डकी विश्वविद्यालयमा मुख्यमन्त्री कुलपति बन्दैन, यो मुख्यमन्त्री कुलपति हुन विश्वविद्यालय खोल्ने होइन, कुलपति हाम्रै मुलुकको धेरै वर्ष प्राध्यापन गर्नुभएका, कुनै न कुनै विषयमा रिसर्च गर्नुभएका व्यक्ति हुनुपर्छ,’ उनले भने।
सामाजिक विकास मन्त्री नरदेवी पुनले विश्वविद्यालय स्थापना गर्न खोज्दा धेरै प्रश्नहरु आएको सुनाइन्। उनले भनिन्, ‘अहिले विश्वविद्यालयहरु अनुसन्धानको क्षेत्रमा काम गरिरहेका छैनन्, प्राविधिक शिक्षातिर परिलक्षित छैनन्, गण्डकी प्रदेशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी गण्डकी विश्वविद्यालय स्थापना गरेका छौं।’ गण्डकी विश्वविद्यालय अनुसन्धानमा केन्द्रित हुने पनि उनले बताइन्।