नारीबाट प्रभावित वैज्ञानिक

नारीबाट प्रभावित वैज्ञानिक

एपीजे अब्दुल कलाम भारतका प्रथम वैज्ञानिक थिए जो राष्ट्रपति बने। प्रथम राष्ट्रपति भए जो अविवाहित थिए अर्थात् ब्रह्मचर्यमा बसे। ब्रह्मचारीको अर्थ विवाह नगर्नु, सन्तान नजन्माउनु मात्रै होइन। ब्रह्मचर्यको अर्थ हुन्छ– अतिशय कामवासनामा लिप्त नहुनु। अतिशय सञ्चय नगर्नु, अति लोभ र पापमा नफस्नु। कलामले आफ्नो राष्ट्रका सबै नागरिक आफ्नै सन्तान सोचेर काम गरे त्यसैले त आफ्नो कार्यकालमा देशको उत्थानका लागि अमूल्य योगदान दिन सफल भए। ब्रह्मचर्यको गुण कायम गरेका कलामले भारत राज्यको विकासमा हरतरहले योगदान दिए र आजसम्म पनि विश्व परिचित छन्। हामी धेरै सिक्न खोज्छौं, बुझ्न र बुझाउन खोज्छौं तर आफूले ग्रहण गर्न र त्यसलाई व्यवहारमा उतार्न सक्दैनौं। राम्रा नियत भएका, असल काम गरेर आफ्नो राज्यलाई उकासेका व्यक्तिहरूको उदाहरण विश्वमै चर्चित हुन्छ।

तिनै कलामले उद्घोष गरेका थिए, ‘सपना भनेको त्यस्तो हुँदैन, जुन तपाईं सुतिरहेका बेलामा देख्नुहुन्छ, यो त्यस्तो चीज हो, जुन तपाईंलाई सुत्न दिँदैन।’ आफ्नो व्यक्तिगत विकास, नेतृत्व क्षमता, राष्ट्रको समृद्धि र आन्तरिक शान्ति र खुसी खोज्नेले सपना त धेरै देख्छन् तर निदाएका बेलामा। एउटा जागृत व्यक्तिको सपनाले उसलाई हरक्षण जगाइरहेको हुन्छ। कर्ममा अग्रसर हुन छाडेर निदाउन दिँदैन अनि संकल्प पूरा नभएसम्म बीचमा छाड्दैन पनि। हाम्रो राष्ट्रलाई आजको दिनमा पनि त्यस्तै जागृत नेतृत्वको खाँचो छ, जो आफू जागृत भएर समृद्धि मार्गमा अनवरत लागोस् अनि आफ्ना नागरिकलाई चैनले निदाउन देओस्। नेपालमा त उल्टो भइरहेछ नेतृत्वमा बसेकाहरू अनैतिकताको आर्जनले मस्ती लिइरहेका छन् भने नागरिकहरू राष्ट्रको हालत, अव्यवस्थापन, अराजकता, जताततै खाल्डाखुल्डी र छिद्रता देखेर निदाउन सक्दैनन्। केही गुणवत्ता मात्र यस्ता राजनीतिक नेतृत्वमा जागृत हुन सक्यो भने रूपान्तरण जरुर सम्भव छ।

मनोभावनाको प्रभाव

अब्दुल कलाम आफ्नो जीवनमा प्रेरित गर्ने दुई नारी शक्तिको सधैं खुलेर प्रशंसा गर्ने गर्नुहुन्थ्यो। एक हुनुहुन्थ्यो– उहाँकी आमा जो दिनहुँ बिहान नमाज पढ्ने गर्नुहुन्थ्यो। सबै कामको व्यवस्थापन गरेर आफ्नो नमाज पढ्ने र हृदयदेखि प्रार्थनामा तल्लीन भएको देख्दा उहाँलाई लाग्थ्यो– कुनै पनि काममा हृदयदेखि नै तल्लीन भयो भने गर्न चाहेको इच्छा पूरा हुने रहेछ। एउटी आमाको निरन्तर मेहनत, प्रयास, प्रार्थना र प्रेमबाट म प्रभावित भएको थिएँ। मैले मेरो राष्ट्रका लागि केही गरेर देखाउन सकें भने मेरी आमा त खुसी हुनुहुन्छ नै; जन्मभूमि पनि आल्हादित हुनेछिन्। यही सोचेर कलामले आफ्नो जिम्मेवारी बोधलाई साकार पार्नुभएको प्रेरणा उहाँका लेखमा पढ्न पाइन्छ।

अर्की नारी हुनुहुन्थ्यो– प्रसिद्ध गायिका सुब्बुलक्ष्मी जो सम्पूर्णताका साथ आफ्नो स्वरमा डुबेको देख्दा कलामलाई लाग्थ्यो– हृदयदेखि नै सम्पूर्ण शक्ति लगाएर गरेको कार्य नै सफल हुनेछ, जसले आफूलाई सुख त मिल्छ नै; अरूलाई पनि प्रेरणाको स्रोत बन्न सक्दो रहेछ। सब्बुलक्ष्मीको सरलता, सादगीपन, कर्मठता र स्नेहले मलाई जीवनमा धेरै प्रेरणा मिलेको थियो। यही भावनात्मक प्रेरणा र मेरा आमाबुबा, परिवारको सन्तोषका लागि, मेरो राष्ट्रका लागि र मलाई चिन्ने व्यक्तिलाई समेत खुसी बनाउने गरी मैले काम गर्नुपर्छ भन्ने भावना हाम्रो नेतृत्वमा रहेका व्यक्तित्वमा खिल्ने हो भने हामीले सकारात्मक परिवर्तन देख्न पाउने थिएनौं त ?

परिवर्तन गर्न नसकेको कुरा स्वीकार

प्रायशः नेतृत्वहरू घोषणा गर्ने गर्छन्– म सरकारमा आएँ भने र जिम्मेवारी पदमा पुगें भने परिवर्तन गरेरै छाड्छु। शासन व्यवस्था, सामाजिक व्यवस्था, अराजकता सबैलाई परिवर्तन गरेर देखाउँछु आदि–आदि। तर जब चुनाव जितेर जिम्मेवारीको पदमा पुग्छन् तब सबै कुरा बिर्सन्छन्। जब ठाउँमा पुग्छन्, स्वार्थी प्रवृत्ति हावी हुन्छ अनि सत्यताबाट पर पुग्छन्। सत्यता उनीहरूको आँखाबाट लुक्छ र स्वार्थ बाहिर आउँछ। स्वार्थीको अर्थ सकारात्मक अर्थ हो स्व–अर्थ–स्वार्थ, आफ्नो प्रयोजनका लागि, आफ्नो असल हितका लागि। आफ्नो प्रयोजनका लागि के सही या गलत छ छुट्ट्याउने क्षमता पनि चाहिन्छ। सकारात्मक कर्म र परिणाम नै आफ्नो प्रयोजनका लागि हुन सक्छ। तर मानिसहरूले स्वार्थलाई आफ्नो फाइदा अरूको नोक्सानी, आफ्नो हित अरूको अहित हुने गरी प्रयोग गर्न थालेकाले यसको अर्थ र अभ्यास नै नकारात्मक बनेको छ।

सबै कुरा थाहा हुँदाहुँदै पनि आफूले समाज र राष्ट्रलाई सकारात्मक परिवर्तनमा लैजान सकिएन भने त्यसलाई स्वीकार गर्नुपर्छ। मैले गर्न सकिनँ भन्ने नैतिकताका आधारमा गल्ती र कमजोरी स्वीकार गर्न सक्नुपर्छ। अब्दुल कलामले यो सूत्रलाई आत्मसात गर्दै भन्ने गर्नुहुन्थ्यो, ‘जुन परिवर्तन मैले गर्न सकिनँ म त्यसलाई स्वीकार गर्छु।’ यसले दुइटा अर्थ दिन्छ– एउटा कमजोरी स्वीकार गर्नु र अर्को मेरा हातमा केही छैन, मेरो सामथ्र्य पनि छैन शरणागत हुन्छु। कलामजस्ता व्यक्तित्वले आफ्नो कमजोरी स्वीकार गरे र पाठ सिके भने हामीकहाँ अराजकताप्रति न्याय दिलाउन सक्नेहरूको संख्या कम छ त्यसैले जसले जे गर्ने गरोस् भन्ने शरणागतको स्थिति कायम छ।

अपूर्ण स्वभावले अरूको हित सोच्दैन

एकजना राजनीतिज्ञले आफ्नो जीवनभर सम्पन्नता र प्रगतिका लागि अनेक मेहनत गरिरहे। मेहनत गरेअनुसार उनले आफूले चाहेजति सफलता हात पार्दै पनि गए, धन कमाए, यश कमाए, प्रतिष्ठा र पद सबै प्राप्त गरे। सन्तानलाई राम्रो विश्वविद्यालयमा पढाए पनि। भौतिक सुख प्राप्तिका निम्ति कुनै प्रयास बाँकी राखेनन्। उमेर ढल्किसकेको थियो। एक दिन झल्याँस्स उनले आफ्नो उमेर सम्झे। आफ्ना चाहना अझै अतृप्त लागिरह्यो। अरे बाबा, गर्न बाँकी केही राखेको छैन। मजस्तो सुखी पनि कोही देखिन्न। समाजका लागि, आफन्तका लागि म एक सम्पन्न र प्रतिष्ठित व्यक्ति पनि हुँ। यसमा कसैले नकार्न पनि सक्दैन र पनि किन एक्कासि ममा एक रिक्तता, अभाव र अपूर्णताजस्तो महसुस भइरह्यो ? आफैंमा प्रश्न गर्न थालेछन् ? एकजना सन्त उनकै गाउँनजिक बस्थे। उनी सधैं प्रसन्न, मस्त र आनन्द देखिन्थे। तिनै सन्तकहाँ राजनीतिज्ञ पुगेछन् र छेउमा बसेर सोधेछन्– जीवनभर मैले यत्रो संघर्ष गरें, गरेअनुसारको फल र सम्पन्नता प्राप्त पनि गरें र पनि अहिले आएर अभाव र अपूर्णताको अनुभव हुन्छ। किन यस्तो भइरहेछ ? तपाईंलाई सधैं यहीं देखिरहेछु। कुनै ठूलो उपलब्धिमा लाग्नु पनि भएन र पनि सधैं प्रसन्न देख्छु कारण के होला ? सन्त मुस्काउनुभएछ र रुमाल देखाउँदै भन्नुभएछ– बाबु यो के हो ? राजनीतिज्ञले भनेछन्– रुमाल हो। सन्तले त्यो रुमाललाई २–३ वटा गाँठा पार्नुभएछ र सोध्नुभएछ यो के हो ? उनले भनेछन्– त्यही रुमाल हो तर अहिले तपाईंले गाँठा पार्नुभयो। सन्तले अट्टहास छाड्नुभएछ र भन्नुभएछ– बाबु, गाँठा मैले होइन तपाईंले पार्नुभएको छ।

जीवन सादा एउटा रुमालजस्तो प्राप्त गर्नुभएको हो तपाईंले तर जीवन जिउदै जाँदा र अनेक चाहना अनि तिनको परिपूर्तिका लागि तपाईंले यस्तै गाँठा पार्दै जानुभयो। कहिले धनको, कहिले पदको, कहिले सम्मानको त कहिले परिवार सुखको। जीवनमा बाहिर देखिने जेजे सफलता तपाईंले प्राप्त गरे पनि भित्र यस्तै गाँठा छन्। त्यसैले तिनले तपाईंलाई पूर्णताको महसुस हुनै दिँदैनन्। जीवनलाई सिद्घान्तसँग जोडेर केही प्राप्तिका लागि मात्र जिउनुभयो। प्राप्तिका निम्ति तपाईंले कहिले लोभ गर्नुभयो, कहिले भ्रस्टाचार, कहिले क्रोध, कहिले उदास, कहिले ईष्र्या त कहिले द्वेषमा पनि पुग्नुभयो होला। जीवनलाई नैसर्गिक, प्राकृतिक र सरल तरिकाले जिउने कला बिर्सनुभयो। जीवनलाई नयाँ आयामले हेर्ने कला बिर्सनुभयो। यिनैकारण हुन् आज आएर जीवन कठिन र अपूर्ण लागिरहेछ। सन्तले आफ्नोबारेमा भनेछन्– म शान्त र प्रसन्न रहनुमा मैले जीवनलाई एउटा उपहार र सम्भावना सम्झेको छु। जीवनलाई सरलतापूर्वक जिएको छु। ठूलो महत्वाकांक्षा र प्राप्तिको तृष्णा छैन। जे छ सुन्दर छ, शान्त छ र आनन्द छ। अस्तित्वको ऊर्जा प्राप्त छ, उसको कृपा सबैतिर छ। मेरो कर्मले उसका अगाडि कुनै तुलना गर्न सक्दैन। प्रत्येक दिन जीवनलाई नयाँ आयामबाट हेर्छु, प्रत्येक घटनालाई नयाँ आयामबाट हेर्छु। यही स्वभावले मेरो जीवनमा गाँठाहरू छैनन्।

हाम्रो नेपालको परिदृश्य हेर्ने हो भने दशकौंदेखि यस्तै गाँठो परेर बसेको छ। सधैं बहस, अराजकता, अव्यवस्था, आन्दोलन, माग आदि–आदि विषयले कहिल्यै निकास पाउन सकेका छैनन्। नागरिकका आवाज सडकभन्दा माथि जान सक्दैनन्। सदनले तिनका मर्म बुझ्दैनन्। राजनीतिका भित्री गाँठा र भित्री परिभाषाबाहिरका सर्वसाधारणले बुझ्नै सकेनन् त्यसकै परिणाम हो– सरकार फेरिइन्छन्, नेतृत्व लिने व्यक्ति फेरिन्छ र पनि स्थिति जस्ताको त्यस्तै। सोचाए फेरिएन भने सकारात्मक परिवर्तन नआउने रहेछ। कुनै पनि उद्देश्य प्राप्तिका लागि त्यसैअनुसारको सोच जरुरी हुन्छ। हामी घरबाट जहाँ पुग्न भनेर हिँडेका छौं त्यहीं नै पुग्छौं। सोचाइ एकातिर बाटो अर्कातिर भयो भने कहिल्यै गन्तव्यमा पुग्न सकिन्न।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.