एनआरएनएको १३ औं युरोपेली बैठक तथा दोश्रो ज्ञान सम्मेलन भव्य रुपमा सुरु

ब्रसेल्स : गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक तथा दोश्रो ज्ञान सम्मेलन शनिबार ३ अक्टोबरका दिन सुरु भएको छ।
सम्मेलनलाई पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महत, पूर्व शिक्षामन्त्री तथा नेकपा नेता डा गंगालाल तुलाधर, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा लगायतले सम्वोधन गरेका थिए ।
यस्तै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घले, पूर्व अध्यक्ष देवमान हिराचन, पूर्वअध्यक्ष जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, केन्द्रीय अध्यक्ष कुमार पन्त, सल्लाहकार कुल आचार्य, विश्व पण्डित, सोम सापकोटा, पुष्प तिमिल्सिना उपाध्यक्षहरु बद्री केसी,मन केसी, रविना थापा, सोनाम लामा महासचिव डा हेमराज शर्मा लगायत वक्ताहरुले पनि सम्बोधन गरे । नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले सम्मेलन उद्घाटन गरेका हुन् ।
“मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” मूल नारासहित सुरु भएको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन लगायत ८ ओटा विभिन्न सत्रहरु आयोजना गरिए।
“युरोपको गैर आवासीय नेपाली समुदाय र नेपाली नियोगहरुबीचको सम्बन्ध" विषयमा आयोजित सत्रमा युरोपस्थित आठ ओटा विभिन्न नियोगहरुमा रहेका नेपाली राजदूत तथा उप नियोग प्रमुखहरु, अध्यागमन विभागका महानिर्देशक रमेश केसी, राहदानी विभागका महानिर्देशक रामकाजी खड्का लगायत सहभागी थिए ।
गैरआवासीय नेपाली नागरिकता सम्बन्त्री सत्रमा पूर्वसभामुख तथा नेकपा नेता सुवास नेम्वाङ, नेपाली कांग्रेसका नेता तथा सांसद डा मिनेन्द्र रिजालले सम्बोधन गरेका थिए । यस्तै झन्डै ५ घण्टा चलेको एनसीसी सेसनमा युरोपस्थित एनसीसीका पदाधिकारीहरुले आफ्नो मन्तव्य र जिज्ञासा राखे भने केन्द्रीय अध्यक्ष कुमार पन्त, महासचिव डा हेमराज शर्मा लगायत पदाधिकारीहरुले जवाफ दिएका थिए ।
उद्घाटन समारोहको सञ्चालन राजु अर्यालले गरेका थिए । भोलि ४ अक्टोबर, आइतबार हुने दोश्रो विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु सहभागी हुनुका साथै नेपाली तथा गैरआवासीय नेपाली विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
कोभिड-१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाटै आयोजित सम्मेलनको पहिलो दिनको कार्यक्रम सफल पार्न सहयोग गर्ने एनआरएनए केन्द्रका पदाधिकारी, केन्द्रीय कार्यालयमा आवद्ध आप्रवासीहरु, आइटी संयोजकहरु र मिडियालाई युरोप संयोजक नारायण आचार्यले धन्यवाद दिएका थिए ।
सम्मेलनलाई सम्बोधन गर्ने क्रममा एनआरएनएका पूर्वअध्यक्ष डा. उपेन्द्र महतोले संघका नाममा गलत काम गर्ने जो कोहीलाई पनि एनआरएनएले संरक्षण नगर्ने बताए । संघका प्रवक्ता डिबी क्षेत्रीले संघका पदाधिकारीहरुका निकट व्यक्तिले बाहिर ल्याएको भ्रामक समाचारहरु भन्दा प्रवक्ता मार्फत आउने प्रेस नोटलाई आधिकारिक धारणा मान्न संचारकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता गरिरहेका यूरोप उपसंयोजक शुक्रराज न्यौपानेले भने पत्रकारसँग हातेमालो गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईले यूरोपको पत्रकारिताको स्थिति बारेमा मन्तव्य राखेका थिए । यस्तै, नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष श्याम लुईँटेलले बेलायत शाखाले समुदायको हितका लागि गरेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महासंघको प्रस्तावित पोर्तुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्याल र बेल्जिम शाखाका अध्यक्ष ओम शर्मा र नेपाल प्रेस युनियन बेलायतका उपाध्यक्ष एभरेस्ट गौतमले आ-आफ्नो प्रतिवेदनसहित पत्रकारिता र एनआरएनएमा सुधारका लागि सुझाएका थिए ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगर, बरिष्ठ पत्रकार भगीरथ योगी, चिरन शर्मा, राजकुमार थापा लगायत पत्रकारहरुले सम्मेलनका विभिन्न सत्रमा भाग लिएका थिए ।
पत्रकारले उठाएका प्रश्नको प्रमुख अतिथि तथा प्रवक्ता क्षेत्रीले जवाफ दिएका थिए । झन्डै २ घण्टा लामो मिडिया सेसनलाई समितिका सदस्य सचिव तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
