चोरी मुद्दामा संसदका उम्मेदवार पुगे थुनामा
राजविराज : चोरी लगत्तै पक्राउ परेका सप्तरीको रूपनी गाउँपालिका–२ हरीरावाका लाल मोहम्मद राइन र राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल थुनामा पुगेका छन् । थुनामा परेका राइन पछिल्लो संविधानसभाका उम्मेदवार हुनुका साथै गत चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा देशभक्त लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए ।
सप्तरी जिल्ला अदालतको आदेशमा राइन र मण्डल पुर्पक्षका लागि थुनामा परेको तथा राजविराज–४ बस्ने ज्योति मण्डल सहनी र उनकै मदिरा पसलमा काम गर्ने समिम सलिमलाई पुर्पक्षका लागि ७५ हजार धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ । धरौटी रकम तिर्न नसक्दा समिमलाई पनि राजविराज कारागारमा थुनामा पठाइएको स्रेस्तेदार कुमार मास्केले बताए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार घटनालगत्तै प्राप्त सूचना र प्रहरी सक्रिय हुँदा आठ घण्टाभित्रै चोरी भएको ३ लाख ६० हजार नगद र ५० हजारको रिचार्ज कार्डसहित प्रहरीले चार आरोपितलाई पक्राउ गरेको हो ।
यस्तो थियो घटना
भदौ २२ गते बिहान ५ बजे छोराहरूको हल्लाले ओमप्रकाश साह ब्युझिएँ । छोराहरू कोठा भित्रबाट कराउँदै थिए, 'ढोका खोल्नुस न बुवा, बाहिरबाट ढोका किन लगाइ दिनुभयो ?' छोराहरूको लगातारको बोलावटबाट छेउकै कोठामा सुतिरहेका ओमप्रकाश ब्युझिनुका साथै झस्किए । उनको कोठा पनि बाहिरबाट बन्द पाएपछि मनमा चिसो पस्यो ।
राजविराज–७ स्थित गुदरी हटियामै होलसेलसहितको किराना पसल सञ्चालन गरिरहेका साह परिवार पसलकै माथिल्लो तलामा सुत्थे । एक घण्टा अगाडि मात्र उठेका साहले पसल हेरेर आएको बताए । उनले भने, 'वर्षा नरुकी ग्राहक नआउने भएकाले ओछ्यानमा आएर पल्टिएको मात्र थिए, पुनः निन्द्रा परेछ ।'
लकडाउनले पढाइ ठप्प भएका कारण बिराटनगरमा अध्ययनरत छोरा पनि घरमै थिए । दुई छोरा र साह दम्पति सुत्ने दुबै कोठाको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि सबैजना चिन्तामा परे । तेस्रो कोठा हुँदै पछाडिबाट निक्लिएर साहले कोठाको चुकुल खोल्नासाथ सबैजना पसलतर्फ दौडिए ।
पैसा राख्ने बाकस (गल्ला) को ताला फुटाइएको थियो । गल्लामा राखिएको चार लाख नगद र साढे एक लाखको रिचार्ज कार्ड गायब थियो । सिसीटिभी क्यामेरा चेक गरेपछि साह परिवारलाई चोरी भएको निश्चित भयो । साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खबर गरे ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउनको सुरुवाती दिनमा चोरी नभए पनि पछिल्ला दिनहरूमा हुने गरेको श्रृंखलावद्ध चोरीको घटनाबाट प्रहरी त्यसै पनि हैरान छ । एसपी धमलाका अनुसार जिल्लामा सानातिना समेत गरी दैनिकजसो चोरीको गुनासो प्रहरी कहाँ आउन थालेको छ । डेरा बसेको घर, पसल र सडकबाटै पनि चोरीका घटना बढेको अवस्थामा राजविराजको मुख्य बजारमै भएको चोरीको घटनालाई चुनौतिका रूपमा लिँदै थालिएको अपरेशनपछि चोरिएको रकमसहित आरोपितहरू पक्राउ परेको धमलाले बताए ।
घटनाको अनुसन्धानमा खटिएका इन्स्पेक्टर सन्तोष खडकाका अनुसार चोरी घटनामा बारम्बार संलग्न केही व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिइ सोधपुछ गरेपछि प्रहरीले राजविराज–६ का सैनी भनिने सनिया मण्डलको खोजी गर्न थाल्यो । उनी घरमा नभई राजविराज–४ स्थित दिदी ज्योति मण्डल सहनीको घरमा बसेका थिए । दिदी ज्योती राजविराज– २ मा सञ्चालन गरेको मदिरा पसलमै सुत्थिन् । खोजी गर्दै पसलमै पुगेको प्रहरीलाई ज्योतीले भाइ सनिया उठनै नसक्ने गरी बिरामी रहेको बताइन् ।
कडा रूपमा प्रस्तुत भएपछि ज्योतीले सनिया बस्दै गरेको आफ्नो डेरा देखाइन् । बाहिरबाट कोठामा कोही नभएको जस्तो ताला लगाएर राखिएको रहेछ । नियन्त्रणमा लिइएका सनियाले हुलिया परिवर्तन गरेपनि घाँटी र खुट्टामा लगाएको डोरीका आधारमा पहिचान गरिएको र सिसीटिभी क्यामेरामा सबै कुरा प्रष्ट भइसकेको प्रहरीले बताए पछि सनियाले आरोप स्वीकारेको इन्स्पेक्टर खडकाले बताए ।
बिहान साढे चार बजे सोलारको पोलबाट सनिया पसलेको घरमाथि चढेका रहेछन् । उनलाई मानिस आवतजावतको सूचना दिन लाल मोहम्मद राइन बाहिर बसे । राइनले चोरी आरोपमा २ वर्ष कैद भोगेको पनि बताए ।
माथिल्लो तलामा पुगेका सनियाले नै सुतिरहेका साह र उनको छोराको कोठा बाहिरबाट चुकुल लगाए । भुँइ तल्लामा ओर्लिएर पसलमा चोरी गरी बाहिर निक्लिएका सनियाले पसलको बाहिरबाट समेत चुकुल लगाए ।
सनिया चोरीको समानसहित दिदी ज्योतीको डेरामा लुक्न पुगे । ज्योतीले रिचार्ज कार्डहरू खेलौना गुडियाभित्र लुकाएर धागोले सिलाइन । घरकै विभिन्न ठाउँमा केही पैसा र धेरै पैसा मदिरा पसलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो । ज्योतीको निर्देशनमा मदिरा पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी पसलकै पूर्व खाल्डो खनी माटोमा गाडेर लुकाएको अवस्थामा भेटिएको इन्स्पेक्टर खडकाले बताए ।