सप्तरीमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित २२ संक्रमित
राजविराज : सप्तरीमा १ जना जनप्रतिनिधि र ४ स्वास्थ्यकर्मीसहित २२ जना नयाँ कोरोना संक्रमित भएका छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार ३३ वर्षीय रुपनी गाउँपालिका–४ का वडाध्यक्ष, तिलाठी कोइलाडी गाउँपालिकाको स्वास्थ्य संयोजक तिलाठी कोइलाडी गाउँपालिका–२ का ४२ वर्षीय पुरुष, राजविराजस्थित प्रयोगशालामा कार्यरत ३२, ३३ र ३६ वर्षीय ल्याब टेक्निसियनहरु संक्रमित भएका हुन्।
यसैगरी एउटै परिवारका ७ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु राजविराज–८ का १२, २०, ३२, ६२ वर्षीया महिला र २९, ३८ र ६४ वर्षीय पुरुष रहेका छन्। राजविराज–२ को २६ र ६० वर्षीय पुरुष, वडा नम्बर–६ का ९, ३५ र ६६ वर्षीया महिला, वडा नम्बर ८ का उमेर नखुलेका पुरुष, वडा नम्बर–११ को ३५ र ३८ वर्षीय पुरुष, वडा नम्बर–१४ का उमेर नखुलेको पुरुष तथा रुपनी गाउँपालिका–४ का २१ वर्षीय पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
हालसम्म सप्तरीमा १ हजार ३४४ जना संक्रमित भएकोमा १ हजार ६९ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। सप्तरीमा हालसम्म १८ जनाको मृत्यु भएको छ।