जाजरकोटमा जीप दुघर्टना : वडाध्यक्षसहित पाँच जनाको मृत्यु
जाजरकोट : जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा बडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्। एक जना गम्भीर घाइते भएका छन्।
जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दुघर्टना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही र सोही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको मृत्यु भएको छ।
त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र २५ वर्षीया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए। दुई जना मजकोट खोलामा बेपत्ता भएका छन्। वडा नम्बर ११ का नरबहादुर बुढा गम्भीर घाइते भएका छन्। उनको उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याइँदैछ।
औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल रहेको मजकोट खोलमा परेको थियो। अहिले गाडी खोलामै छ। वडाध्यक्ष शाहीको शव मात्र निकालिएको छ। अन्यको सव पानी भित्रै खोलामा रहेको र निकाल्न पहल भैरहेको डिएस्पी श्रेष्ठले बताए। गाडी चालक गोरख बस्नेत फरार रहेका छन्। घटनास्थल सदरमुकाम खलंगादेखि २० कोष पश्चिम पर्दछ।