दलहरूको गैरजिम्मेवारी

दलहरूको गैरजिम्मेवारी

चुनावी सभाको झल्को दिनेगरी राजनीतिक दलले नयाँ सदस्यलाई पार्टी प्रवेश गराउने कार्यक्रम तीव्र रूपमा अघि बढाउँदा कोरोना संक्रमणको जोखिम बढेको छ। कार्यकर्ता भेला, सभा सम्मेलन तथा भीड हुने कार्यक्रम नगर्न सरकारले दिएको निर्देशनलाई अवज्ञा गर्दै पछिल्लो समय मुख्यगरी नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा चलेको छ। संक्रमणको ख्यालै नगरी हुल बाँधेर कार्यकर्ता भेला गराउँदा जोखिम निम्त्याउने जान्दाजान्दै पनि निहित स्वार्थपूर्तिका लागि जिम्मेवार दलबाट भएका यस्ता गतिविधि शोभनीय मान्न सकिँदैन। सरकारको नेतृत्व गरिरहेको नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका नेताकै अग्रसरतामा यस्ता जमघट गराइनु दुःखद् हो। यस्तो संवेदनशील विषयमा सामान्य चेतना पनि नराखी जिम्मेवार नेता नै पार्टी प्रवेश गराउने कार्यक्रममा सरिक हुनु अबुझपन हो। कोरोना संक्रमणको खतराप्रति उनीहरू रत्तिभर संवेदनशील रहेनछन् भन्ने यी घटनाले पुष्टि गरेका छन्।

राजनीतिक दलले चाहेको भए कोरोनाको संक्रमण रोक्न केन्द्रदेखि स्थानीय स्तरसम्म कार्यकर्ता परिचालन गरेर सचेतना कार्यक्रम चलाउन सक्थे। जनताको मन जित्न हरेकजसो राजनीतिक दलका लागि यो उत्तम अवसर पनि थियो। चुनावको समयमा भोट मात्रै माग्न आउने भनेर आरोप लागेका दललाई यतिखेर जनताको दैलोसम्म पुगेर उनीहरूसँग सम्पर्क बढाउने राम्रो अवसर बनेको थियो/छ। तर कुनै पनि दलले यसलाई सदुपयोग गर्न चाहेनन् वा जानेनन्। केही दिनअघि धादिङमा त सहाराबिना हिँड्नसमेत नसक्ने वृद्धालाई पार्टी प्रवेश गराउने नाममा एउटा खादाको खोस्टो गलामा परिर्‍याइदिएर सेल्फी खिच्न तँछाडमछाड भयो। एउटा दलले पार्टी प्रवेशको कार्यक्रम सञ्चालन गर्नेबित्तिकै अर्को दललाई नै हुटहुटी चलिहाल्ने र बनावटी रूपमा भए पनि अरूलाई देखाउन अर्को कार्यक्रम गरिहाल्ने होडबाजी चलेको देखिन्छ। सरकारसँग हातेमालो गरेर सारा शक्ति कोरोना नियन्त्रणतर्फ लगाउनुपर्ने यो समयमा हार र जितको शैलीमा अहिले यस्तो कार्यक्रम गर्नु आवश्यक छैन।

समाज र जनतालाई सिकाउँछु, मुलुक समृद्ध बनाउँछु र जनतालाई सुखी बनाउँछु भन्ने वाचा गरेर राजनीतिमा होमिएकाहरूले अहिलेको कठिन परिस्थितिमा हरेक कार्यक्रम गर्नुअघि सकारात्मक र नकारात्मक पाटालाई केलाउन सक्नुपर्छ। जनताको नजरमा अपरिपक्व हुनबाट बच्न सक्नुपर्छ। जिम्मेवार दलले जनताको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर भएपनि आउने दिनमा यस्ता कार्यक्रम गर्नुहुँदैन। जनताको जीउधनको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो भन्ने यथार्थतालाई कुनै पनि दलले नजरअन्दाज गर्न मिल्दैन। यतिखेर कोरोना हामी सबैको साझा दुश्मन हो र प्रकृतिलाई नै चुनौती दिनेगरी खडा भएको यो दुस्मनलाई सबै क्षेत्रको सहकार्यबाट मात्र परास्त गर्न सकिन्छ भन्नेतार्फ सबैको ध्यान जानु जरुरी छ। यतिखेर कोरोना संक्रमितको ग्राफ दिनदिनै उकालो लागिरहेको छ। सँगसँगै चाडपर्व पनि नजिकिँदै गर्दा गाउँदेखि सहरसम्म चहलपहल बढिरहेको छ। यो कठिन परिस्थितिमा भीड नियन्त्रण गर्नु, सामाजिक दूरी कायम गरेर मात्रै हिँडडुल गर्नु र सकेसम्म एकअर्काको सम्पर्कमा नजानु हितकर हुनेछ।

सबैभन्दा ठूलो पर्व भएकाले दसैंमा चहलपहल बढ्नु स्वाभाविक हो। तर मानव जाति सबैलाई एकनासले सताउने यो महामारीबाट कसरी जोगिने भन्ने चिन्ता अहिले सर्वत्र छ। यो चिन्तालाई दूर गराउन सबैले आफूबाहेक अरू सबैलाई कोरोना संक्रमण लागेको छ भन्ने सम्झेर स्वास्थ्य सचेतना अपनाउनु जरुरी छ। ज्यान रहेमात्र दसैं मनाउन सकिन्छ भन्ने यथार्थतालाई होसियारीपूर्वक आत्मसात गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.