बारेकोटको घाटबजारमा गाडी पुग्दा स्थानीय खुसी
जाजरकोट : जिल्लाको बारेकोट गाउँपालिकाको घाटबजारमा पहिलो पटक गाडी पुगेको छ । गाउँपालिकाले सडक निर्माण गरेपछि घाटबजारमा यातायातको पहुँच पुगेको हो । गाउँपालिकाको २, ३, ४ र ५ को व्यापारिक केन्द्रको रुपमा रहेको घाट बजारमा पहिलो पटक गाडी पुगेको हो ।
घाटबजारमा पहिलो पटक पुगेको कुशेमालिका यातायात प्रालीद्वारा संचालित भे १ ज ५८१ नम्बरको गाडी तथा चालकलाई स्थानीयले फूलमाला र अविर लगाएर गरेर स्वागत गरेका छन् ।जिल्लाको सबैभन्दा विकट बारेकोट पनि सडक सञ्जालमा जोडिएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगाबाट कालिमाटी, सिर्के, सक्ला, लिम्साहुँदै घाट बजारसम्म नियमित यातायात सेवा सुचारूका लागि आवश्यक प्रकिया र समन्वय भइरहेको अध्यक्ष शाहले बताए ।
यसैवर्ष गाँउपालिकाका सबै वडामा यातायातको पहुँच पुग्ने अध्यक्ष शाहको भनाइ छ । उनले भने, 'कठिनाइका बाबजुद पनि चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडाहरूमा सहज र सरल तरिकाबाट यातायात पहुँच जोड्ने योजना छ।'
घाटबजारसम्म यातायातको सेवा पुगेपछि स्थानीय खुसी भएका छन । सुचारु भएको यातायात सेवा निरन्तर संचालन गर्नका लागि सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ ।
नियमित र प्रभावकारी यातायात सुविधाका लागि स्थानीय सरकार गम्भीर हुनुपर्ने स्थानीय चन्द्रबहादुर खड्काको जोड छ । लकडाउनकै अवधीमा काम गरेर जाजरकोटको अति दुर्गम वारेकोट गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जुम्ला र डोल्पासँग सिमाना जोडिएको बारेकोट गाउँपालिकामा गाडी पुगेसँगै जिल्लाका सबै पालिकामा यातायातको पुहँच पुगेको छ ।
दुई/ तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगा पुग्नुपर्ने वाध्यतामा रहेका वारेकोटवासी गाडी पुगेपछि निकै खुसी भएका छन् । भौगोलिक विकटता, गरिवी र सधैं खाद्य संकट व्यहोरिरहेको वारेकोट गाउँपालिकामा सडक पहुँच पुगेपछि खाद्यन्न ढुवानीमा सहजता आएको छ ।
खाद्य तथा व्यापार कम्पनी लिमिटेडले बारेकोटको घाटमा रहेको खाद्य डिपोमा ट्याक्टरबाट चामल ढुवानी गर्न थालेको छ । यसअघि खाद्यन्नलगायतका मालसमान ढुवानी गर्न घोडाखच्चडमै भरपर्नु पर्ने बाध्यता थियो ।
सडक निर्माण भएपछि बारेकोटसम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको बारेकोट १ कोटलीका भिमबहादुर नेपालीले बताए । उनले भने, 'पहिले मान्छे हिड्नलाई साँघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो । यति छिटै गाडी पुग्ला भन्ने सोचेका थिएनौं । यातायातको पहुँच पुग्यो हामी निकै खुसी छौ ।'
आफ्नै घर आँगनमा गाडी गुडेको देख्ने वषौंदेखिको सपना पुरा भएको बारेकोट १ पुनगाँउकी चन्नी पुनले बताइन् । 'गाडी पुगेसँगै बारेकोटवासीले डोकोमा नुन, तेल र खाद्यान्न बोकेर ल्याउनु पर्ने बाध्यता हट्ने भएको छ,' खुसी हुँदै उनले भनिन् ।