महिला हत्याका आरोपित पक्राउ
राजविराज : घरमा एक्लै रहेकी सप्तरीको तिरहुत गाउँपालिका-२ मैनाकडेरीकी ४७ वर्षीया दाइमनदेबी यादवको हत्याका आरोपितहरु सोमबार पक्राउ परेका छन्। हत्या अभियोगमा ८ वर्ष जेल सजाय बसेर निक्लिएका कञ्चनपुर नगरपालिका-११ ठेलियाका ५५ वर्षीय बमबहादुर साहसहित मृतकका छिमेकीहरु २१ वर्षीय अजयकुमार यादव र ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव पक्राउ परेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
असोज १० गते राति घरमा एक्लै बसिरहेको बेला कुटपिट गर्दै घाँटीमा डोरी बाँधेर हत्या गरेको आरोपितहरुले स्विकारेको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईले बताएका छन्। प्रहरीका अनुसार ओमप्रकाश र अजयले कोही आउँछन् की भनेर मृतकको घर बाहिर रेकी गरेर बसेको र साहले भित्र गई दाइमनदेबीलाई भुईँमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरेका हुन्।
साह ८ वर्ष जेल सजाय बसी २ वर्ष अघि मात्र कारागारबाट निक्लिएका हुन्। तराईको सशस्त्र समूह मधेश मुक्ति टाईगर्समा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा साह ८ वर्ष कारागारमा बसेका थिए।
आरोपित अजय र मृतक परिवारका बीच जग्गा विवाद रहेको छ। मृतकको २ बिघा जग्गा अजयका बुवाले २०४७ सालदेखि जोत भोग गर्दै आएपनि बाली नबुझाएकाले विवाद रहेको छ।
यसैगरी मृतक दाइमनदेवीले उनकी परिवारकी एक सदस्य र आरोपित ओमप्रकाशबीचको अवैध सम्बन्ध थाहा पाएकीले रिसइबी राखेका थिए। अजय र ओमप्रकाशले हत्याको योजना बनाई साहलाई हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको २ नं. प्रदेश प्रहरी कार्यालय सुचना संकलन तथा सम्प्रेषण शाखा जनकपुरधामले जनाएको छ।
आरोपितहरु घटनालगत्तै पक्राउ परेपनि अनुसन्धानपश्चात मात्र सोमबार आरोपितहरु विरुद्ध उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ।