सप्तरीमा कोरोना संक्रमित पुरुषको मृत्यु
राजविराज : सप्तरीमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। राजगढ गाउँपालिका–६ का ५९ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।
छातीमा समस्या देखिएपछि उपचारार्थ प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको राजगढ गाउँपालिका–६ का वडा अध्यक्ष कमलदेव यादवले जानकारी दिए।
उनको असोज १६ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको राजगढ गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र यादवले बताए। नेपाली सेनाले राति ११ बजे मृतकको गाउँमै शव व्यवस्थापन गरेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुने २२ जना पुगेका छन्। संक्रमित हुनेको सङ्ख्या १ हजार ४ सय ५५ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। जसमा १ हजार १२९ जना निको भएका छन्।