हत्या भएको भन्दै बेपत्ता मुखियाको खोजी
राजविराज : मलेशियाबाट आएको चार दिनमै सप्तरीको बिष्णुपुर गाउँपालिका–१ जमुनीका २५ वर्षीय एक युवक बेपत्ता भए। गएको शनिबार गाउँकै २८ वर्षीय सुरेन भनिने सुरेन्द्र यादवसँग मोटरसाइकलमा निक्लिएका मुखिया घर फर्केर आएनन्। यादव मोटरसाइकल चढी गाउँ फर्केर आएपनि मुखिया नआएपछि मुखियाका परिवार र गाउँलेहरूले सोधीखोजी गर्न थाले।
मुखियाबारे चार दिनसम्म केही पत्तो नलागेपछि गाउँलेहरूले यादवसँग बसेर सोमबार र मंगलबार घण्टौ सोधखोज गरे। गाउँलेहरूले मङ्गलबार राति २ बसेसम्म बसेर सोधपुछ गर्दा हत्या स्विकारेपछि प्रहरीको जिम्मा लगाएको हरेराम मण्डलले बताए।
कोभिड–१९ को महामारीमा नेपाल–भारतको सीमाक्षेत्र सिल गरिएपनि लागुपदार्थ सेवन गर्ने अम्मलीहरू विभिन्न चोर बाटो हुँदै भारत पुग्ने गरेका छन्। तीन साल पछि मलेशियाबाट घर फर्किएका मुखियालाई यादवले मोटरसाइकलमा चढाएर भारततर्फ हिंडे।
सप्तरीकै नर्घो पुगेर गाजा ताने, अनरी भन्ने स्थानमा कपडा बिक्री गर्दै हिंडेको साइकल व्यापारीको साइकलबाट २ वटा तन्ना खोसेर भागे। लुटेको तन्ना एउटा पसलमा राखेर भारततर्फ गए। भारत पुगेर लागु पदार्थ सेवन गरेर मातिएको अवस्थामा साँझ सात बजे फर्किए।
तन्ना राख्न दिएको पसलमा आएका उनीहरू बीच तुरुन्तै घर जाने वा केही क्षणमा घर जाने भन्ने विषयमा सामान्य विवाद भयो। मुखियाले घरबाट फोन आइरहेकोले घर जान जिद्दी गर्न थाले। अब एकपटक गाँजा तानेर घर जाने भन्दै यादवले मुखियालाई खैनी र चुरोट लिन पठाए। चुरोट लिन पसल गएका बेला कपडा पसलमै छाडेर गएको मुखियाको मोबाइल यादवले हेल्मेटमा टोपीले छोपेर लगाए।
चुरोट र खैनी किनेर आएका मुखियाले यादवसँग ४० हजारको मोबाइल फिर्ता मागे। यादवले मुखियालाई आफैले मोबाइल बोकेर गएको बताए भने मुखियाले यहीं छाडेर गएको भन्दै मोबाइल चोरेको आरोप लगाए। विवाद बढेपछि कपडा पसले र स्थानीयले उनीहरूलाई भोलि उज्यालोमा छलफल गर्नु भन्दै घर पठाए।
कजरास्थित झुटकी टोलमा रहेको दिदीको घरमा यादवले आफ्नो मोबाइल चार्जमा लगाएर मुखियालाई मोटरसाइकलमा चढाएर पाँची नदीतर्फ लगे। त्यसपछि यादव घर फर्किए, मुखिया बेपत्ता छन्। मुखियासँग नगद ६० हजारसमेत रहेको परिवारका सदस्य बताउँछन्।
मलेशियाबाट आएका युवकको हत्या गरी डाक्नेश्वरी नगरपालिका–६ स्थित पाँची नदीमा फालेको स्विकारेपछि प्रहरी टोली बेपत्ता मुखिया खोज्न बुधबारदेखि घटनास्थल केन्द्रित भएको छ। बेपत्ता मुखियाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २/२ जना इन्स्पेक्टरसहितको टोली खटिएका छन्। नदीको छेउमा रगतको सुकेका दागको टाटा र मुखियाको चप्पलसमेत फेला परेकोले प्रहरी टोली नदीमा खटिएको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए।
पाँची नदीको नहरको खोंचमा दर्जनौ मृत चौपाया र फोहोर थुप्रिएको छ। प्रहरीले जेसीभी लगाएर प्लाष्टिकका बोतलसहित फोहोरको थुप्रो हटाउने काम गरिरहेको डाक्नेश्वरी नगरपालिकाका वडा सदस्य मानविर रजकले जानकारी दिए।
नदीमा पानीको मात्रा समेत बढी भएकोले खोज्न कठिनाई भएको भन्दै एसपी धमलाले नहरको पानी सुकाउने काम भइरहेको बताएका छन्। भारतलाई भनेर कोशीबाट पानी बन्द गर्न लगाइएको र ८० प्रतिशत पानी घटेकाले अब खोज्न केही सहज हुने इन्स्पेक्टर धर्मराज मुडभरीले बताए। लाइफ ज्याकेट लगाएका सशस्त्र प्रहरीको टोली रबर बोटमा चढेर बेपत्ता मुखिया खोज्ने प्रयास गरिरहेका छन्।