जडीबुटीमा खेलाँची
पछिल्लो समय बिरामीको उपचारमा घरायसी उपचार पद्धतिको प्रयोग बढ्दै गएको छ। कोरोना महामारीको संक्रमणले यसको बजारको दायरालाई पनि फराकिलो पारेको छ। हाम्रै घर वरपर उम्रेर त्यत्तिकै सडिरहेका जडीबुटीको सदुपयोग गर्न सकिएमा जीवन शैलीलाई स्वस्थ र सरल पार्न सकिँदो रहेछ भन्ने सन्देश कोरोना महामारीसँगै जनमानसमा फैलिएको छ। चिकित्सा शिक्षाभित्र रहेको यसको बलियो पाटोलाई हिजोआज हरेक परिवारमा प्रयोग हुन थालेको गुर्जोको लहरा एक्लैले पनि प्रमाणित गरिसकेको छ। तर, जडीबुटीको सयौं गुण हुँदाहुँदै पनि आफूखुसी प्रयोगबाट अन्य स्वास्थ्य समस्या देखिएका बिरामी अस्पताल जान थालेका छन्। सही तरिकाले प्रयोग गर्न नजान्ने हो भने स्वास्थ्यमा गम्भीर असर पार्छ भन्नेतर्फ प्रयोगकर्ता सधैं सचेत हुनु आवश्यक छ।
नेपालमा ७ हजारभन्दा बढी वनस्पति पाइन्छन्। तीमध्ये १ हजार ५ सयभन्दा बढीमा औषधीय गुण हुन्छ। हरेक प्राणीको जीवन दीर्घायु बनाउन वनस्पतिको महत्त्वपूर्ण योगदान रहेको अध्ययनले पुष्टि गरिसकेको छ। हामीले सामान्य झारपात ठानिरहेका यी वस्तु हाम्रा महासम्पत्ति हुन्। तर, अझै पनि यसको प्रयोग र उपचार प्रणाली पुख्र्यौली पद्धतिमै निर्भर छ। यही कारणले पनि नजान्दा नजान्दै यी जडीबुटीले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ। यस्ता बहुगुणी तत्त्व भएकाले अहिले यसको सहरी तथा ग्रामीण भेगमा समेत प्रयोगको दर बढेको छ। आधुनिक र महँगा अस्पतालले समेत बचाउन सकिँदैन भनेर आशा मारिसकेका बिरामीलार्ई घाटे वैद्यले यिनै वस्तुको प्रयोगबाट बचाएको उदाहरण पनि प्रशस्तै सुनिन्छ। आयुर्वेदिकको मुख्य ग्रन्थमध्ये एक चरक संहितामा पनि आयुर्वेदको सिद्धान्त हाम्र्रै हिमालयको काखमा बसेर ऋषिमुनिहरूले प्रतिपादन गरेको उल्लेख छ। विश्वव्यापी रूपमा महामारी बनेको कोरोनाबाट मुक्ति पाउन अहिले नेपाल, भारतलगायत मुलुकमा यिनै परम्परागत जडीबुटीको प्रयोग बढेको पाइन्छ।
गाउँघरका पाखा, खेतबारीमा सहज रूपमा पाइने अदुवा, हलेदो, अलैंची, पिप्ला, टिम्मुर, हर्रो, बर्रो, अमला, चिराइतो, गुर्जो, घोडताप्रे, रुदिलो, तितेपातीलाई सयौं औषधीय गुण भएका वनस्पति मानिन्छ। तर, प्रयोग गर्ने तरिका थाहा नपाउँदा कतिपय जडीबुटी त्यत्तिकै खेर गइरहेका छन्। कुनै जडीबुटी आवश्यकताभन्दा बढी प्रयोग भएको पनि पाइन्छ। पर्याप्त चिकत्सकीय सल्लाह र प्रयोग गर्ने विधिको अभावमा यस्तो अवस्था आएको हो। यसबारे पर्याप्त चेतना फैलाउन पनि सकिएको छैन। हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमतालाई ध्यान दिएर मात्र यसको प्रयोग गर्नुपर्छ। प्रयोग गर्नुअघि परिमाण, व्यक्तिको प्रवृत्ति र रोगको परिवेशलाई ध्यान दिनुपर्छ। रक्तचाप बढाउने, अंग बिगार्नेजस्ता नकारात्मक प्रभाव पर्नबाट शरीरलाई जोगाउनुपर्छ।
खासमा जडीबुटीको प्रयोग हो–हल्लाका भरमा हुँदै आएको छ। यही भएर प्रयोगबाट प्रमाणित नभएका परम्परागत शास्त्रीय उपचार विधि मात्र रहेको आरोप आयुर्वेदीय चिकित्सा पद्धतिमाथि लाग्ने गरेको छ। वास्तवमा जतातजै पाइने तर महत्त्वपूर्ण वनस्पतीय जडीबुटी चिनाउने विषयमा राम्रो पढाइ भएको पाइँदैन। विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरेर यसको महत्त्वलाई उजागर गर्नुपर्छ। महत्त्वबारे सर्वसाधारणलाई समेत जानकारी गराउनुपर्छ। मुलुकभित्रै यस्ता औषधि उत्पादन र प्रयोगलाई बढाएर मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनेतर्फ योजना बनाउनुपर्छ। यसको सही प्रयोग गर्न सकिए मुलुक र जनताको भाग्य निर्माणमा महत्त्वपूर्ण योगदान दिने निश्चित छ। सन्तुलित रूपमा प्रयोग गर्नुपर्ने, चिकित्सकको सल्लाहबिना प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पुग्छ। त्यता झन् बढी ख्याल गर्नु जरुरी छ।