अवैधानिक पसल सिल
उदयपुर : चाडपर्व नजिकिँदै जाँदा स्थानीय प्रशासनले छड्के बजार अनुगमनलाई तीव्रता दिएको छ। विषयगत क्षेत्रका प्रतिनिधिको उपस्थितिमा प्रशासनले छड्के अनुगमनलाई तीव्रता दिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शशीकुमार लम्सालको नेतृत्वमा रहेको टोलीले जिल्लाको प्रमुख व्यपारिक केन्द्र कटारी, बेल्टार, रामपुर र सदरमुकाम गाईघाटमा अनुगमन गरेको छ। कटारी बजार अनुगमनका क्रममा दुई वटा मेडिकल हललाई सिल गरेको छ।
तोकिएको मापदण्ड पूरा नभएको, म्याद नाघेका औषधि राखेको, फार्मेसीको लाइसेन्स लिएका व्यक्ति नभइ अहेव, अनमीले औषधि बिक्री गरेको लगायतका कमजोरी देखिएकाले सिल गरिएको अनुगमन समितिका संयोजक सहायक प्रजिअ लम्सालले बताए। सात वटा मेडिकल हलमा अनुगमन गर्दा पाँच वटामा सरसफाइ नभएको, कागजहरु चुस्तदुरुस्त नभएको पाइएकाले कागजसहित प्रशासनमा उपस्थिति हुन र सरफाइको मापदण्ड पालन गर्न निर्देशन दिएको उनले बताए।
त्यसैगरी सदरमुकाम गाईघाटमा सञ्चालित एक पाउरोटी कारखानालगायत दुई उद्योगमा प्रशासनले कार्वाही गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटको समेत उपस्थिति रहेको अनुगमनमा म्याद गुज्रेका सामान बिक्री वितरण गरिएको, लेबल लगाएका भन्दा अन्य सामग्रीहरु बिक्री गरेको पाइएकाले कार्वाही गरिएको उनले बताए।
मापदण्डविपरित उद्योग चलाइएको र आवश्यक कागजात नभएको पाएपछि कार्वाही गरिएको हो। टोलीले त्रियुगा नगरपालिका १२ डिएमगेटमा सञ्चालित रुक्सना पाउरोटी उद्योग र गणेश उज्जवल ट्रेडसलाई १०-१० हजार जरिवाना गरेको छ। अनुगमनको क्रममा उद्योग सञ्चालन अनुमतिपत्र नभएको तथा सरसफाइ नगरेको र उत्पादित सामग्रीमा लेबल नटाँसेकोजस्ता कानुनी प्रक्रिया पूरा नभएको पाइएकाले कार्वाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजनका निमित्त प्रमुख रमेश दाहालले बताए।
दाहालले यसअघिको पटक पटकको अनुगमनमा उद्योगले कमजोरी गरेको पाइएपछि चेतावनी दिँदै उद्योग सञ्चालकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको बताए। त्यसैगरी त्रियुगा ११ पुरानो गाईघाटस्थित सिमा मनिट्रासफरलाई बीस हजार जरिवाना गरिएको छ।
चिसो पेय पदार्थको कारोवारसमेत गर्ने गरी अनुमति लिएको मनिट्रासफरले बहुराष्ट्रिय कम्पनी कोकाकोलाको डिलरको इजाजतपत्र देखाउन नसकेको, सरसफाईजस्ता मापदण्ड पूरा नगरेको पाइएको छ। उपभोक्ताको हितलाई ध्यानमा राखेर बजार अनुगमन थालिएको दाहालले बताए।
उनले बिगतमा जस्तो नभएर अहिले वाणिज्य विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजनलाई उपभोक्ता हितविपरित गर्नेलाई कारबाही गर्ने पूर्ण अधिकार दिएकाले कसैको मुख नहेरी कारबाही गरिने बताए। होटल, खाद्य थोक विक्रेता, पेय पदार्थ, मासु पसल, खाजा घर, उद्योग तथा कल कारखाना सबैमा अनुगमन गरिने उनले बताए। त्यसैगरी टोलीले १५ हजार म्याद गुज्रेका सामगी नष्ट गरेको जनाएको छ।