मिलेर सावधानी अपनाऔं
राजधानीलगायत मुख्य सहरमा डेरा गरेर बस्नेहरूलाई कोरोनासँगै घरबेटीबाट पनि डराउनुपर्ने अवस्था आएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदा पनि संक्रमण भइहाल्यो भने के गर्ने भन्ने चिन्ता उनीहरूमा छ। संक्रमण भएको थाहा पायो भने घरबेटीले कोठामा बस्नै नदिने तथा छिछि र दुरदुर गर्नसक्ने त्रासले कतिपय डेरावाला कोरोना पुष्टि भएर पनि लुकाएर बस्न बाध्य छन्। विश्वले नै सामना गरिरहेको यो महामारीमा एउटा नागरिकले बस्ने ठाउँकै अभावमा मलाई कोरोना भयो भन्न सक्ने वातावरण नबन्नु दुखद हो। कोठा तथा फ्ल्याट भाडामा लगाएर पैसा असुल्ने कुनै पनि घरबेटीले डेरावाललाई यस्तो निर्दयी व्यवहार गर्नुहुँदैन। परिवारका सदस्यलाई टाढा छोडेर जीविकोपार्जनका लागि सहर छिरेका उनीहरूलाई कुनै आपत आइलाग्यो भने घरबेटीले अभिभावक बनेर सहयोग गर्नुपर्छ।
संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरूमा बेडको अभाव भएको छ। संक्रमितको चाप बढ्दै गर्दा स्वास्थ्यकर्मीले भरपुर सेवा दिन सकेका छैनन्। सरकारले समेत संक्रमितलाई स्वास्थ्य समस्या जटिल नबनेसम्म घरमै आइसोलेसनमा बस्न अनुरोध गरिरहेको छ। यो अवस्थामा आफ्नै घर हुनेलाई त आइसोलेसनमा बस्न समस्या नहोला, तर डेरावालाले के गर्ने ? अर्को कुरा, तीनचार कोठा भएको फ्ल्याट नै भाडामा लिएकालाई त एउटा कोठालाई आइसोलेसन बनाउँदा पनि समस्या नपर्ला, एउटा वा दुइटा मात्रै कोठा लिएर बसेकाहरूले पछिल्लो समय निकै नै कष्टकर जीवन बिताउँदै आएका छन्। शौचालय, धारालगायतका समस्या छँदैछन्। यस्ता समस्याको सुनुवाइ गर्ने भरपर्दो निकाय नहुँदा उनीहरू सहाराविहीन भएका छन्। जनताको नजिकको सरकार ठानिएका स्थानीय तहले आफूमातहतका क्षेत्रमा देखिएको साह्रो–गाह्रोमा सहजीकरण गरिदिनुपर्छ। घरबेटीलाई भनसुन गरेर, चेतावनी दिएर तथा आवश्यकताअनुसार नीतिगत व्यवस्था गरेरै भए पनि डेरावालालाई यो संकटमा सुरक्षित र आनन्दपूर्वक बस्न पाउने वातावरण बनाइदिनुपर्छ। झगडा गरेर भन्दा मिलेरै अघि बढ्दा सबैको भलाइ हुन्छ। यो वास्तविकतालाई घरबेटी र डेरावाला दुवैले मनन गर्नुपर्छ।
कोरोनाले धनी गरिब भन्दैन। घरबेटी र डेरावाला पनि चिन्दैन। विश्वमा दश लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको हुनाले घेरबेटी डराउनु स्वाभाविक पनि हो। डेरामा बस्नेहरूसँग समझदारीमै सुरक्षाका मापदण्ड पालना गर्ने र सुरक्षित रहने विषयमा दुवै पक्ष बसेर छलफल गर्नुपर्छ। एकजनामा मात्रै भाइरसको संक्रमण देखियो भने अरूलाई सर्ने जोखिम बढी हुन्छ। तसर्थ प्रकृतिकै साझा दुस्मनको रूपमा आएको हुनाले यसलाई परास्त गर्न सामूहिक चेतनाको खाँचो छ। हरेक व्यक्तिले होसियारी अपनाएर पनि संक्रमण भइहाल्यो भने कसरी जोगिने भन्नेतर्फ सोंच्नुपर्ने बेला भएको छ। पूर्वतयारी अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो। घरबेटी हुन् वा डेरावाल, सबैले आफूबाहेक सबैलाई कोरोना सरेको छ भन्ने ठानेर सुरक्षा सावधानी अपनाउनु अहिलेको आवश्यकता हो।
घरबेटी र डेरावालाको सम्बन्धमा प्रभावकारी नीतिगत प्रावधान नभएका कारण यसअघि पनि पटक–पटक विवाद आएका थिए। कोठा तथा फ्ल्याट भाडामा लगाएपछि घरबेटीले पूरा गर्नुपर्ने सर्तबारे कतै पनि स्पष्ट लेखिएको छैन। डेरावालाले पालना गर्नुपर्ने नियमका सम्बन्धमा पनि दुवै पक्ष अनभिज्ञ छन्। यो अनभिज्ञतालाई चिर्नेगरी नीतिगत व्यवस्था गर्नुपर्छ। साहु बनेर डेरावालालाई हप्काउने र डेरामा बसेपछि मेरो घर होइन भन्दै सामान्य हिफाजतका विषयमा पनि ध्यान नदिने प्रवृत्तिलाई सदाका लागि अन्त्य गर्नुपर्छ। सबै मिलौं। सँगै बसौं। दूरी कायम गरौं। सावधानी अपनाऔं। तर, छिछि नगरौं। कोरोनासँग गर्ने साझा लडाइँको तरिका पनि यही हो।