प्रदेशमै पहिलो थारू संग्रहालय
राजविराज : थारू जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली झल्काउने उद्देश्यले सप्तरीको कञ्चनरूपमा थारू सांस्कृतिक संग्रहालय उद्घाटन गरिएको छ।
कञ्चनरूप नगरपालिका–६, जमुवामा होमस्टे सञ्चालनमा आएको साढे दुई वर्षपछि प्रदेश २ कै पहिलो थारू संग्रहालय उद्घाटन भएको हो। कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले संग्रहालय भवन उद्घाटन गरे।
पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीका अनुसार वन तथा वातावरण मन्त्रालयबाट प्राप्त ५५ लाख रुपैयाँको आर्थिक सहयोग र जनश्रमदानको १३ लाख ७५ हजार गरी ६८ लाख ७५ हजारमा दुईतले भवन निर्माण भएको हो।
चौधरीले भने, ‘थारू जातिको कला संस्कृति जीवित राख्ने उद्देश्यले बनाइएको संग्रहालयमा थारू जातिको मौलिक, पौराणिक र संस्कृति झल्कने सामग्री राख्ने छौँ।’ संग्रहालयमा थारू वाद्यवादन, आत्मसंरक्षण र सिकारका लागि प्रयोग गरिने हतियार, कृषि र फर्निचर निर्माणमा प्रयोग गर्ने सामग्री, अन्न, तेलहन भण्डारणका सामग्री, कुटानी पिसानी, नापतौलमा प्रयोग गरिने सामग्री, विवाहमा प्रयोग हुने सामग्री र थारू गरगहना राखिनेछ। संग्रहालयमा थारू जातिमा जन्मदेखि मृत्युसम्म प्रयोगमा आउने सामग्रीहरू सूचीकृत भइरहेको पानवती चौधरीले बताइन्।
कतै नपाइने अर्ना रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष, नेपालकै पहिलो चन्द्र नहर, प्राकृतिक स्रोतले भरिपूर्ण चुरे क्षेत्र र सामुदायिक वन, २२ मौजाको राजाजी र मंगतगैया बाबाको मन्दिर, सप्तकोसी नदी, प्रसिद्ध धार्मिक स्थल बराहा र चतरानजिकै रहेको जमुवामा होमस्टे पनि सञ्चालनमा रहेकाले पर्यटन नगरीका रूपमा विकास गर्न संग्रहालय स्थापना गर्न लागिएको विष्णुदेव चौधरीले बताए। होमस्टे सञ्चालन गरेकी सीतादेवी चौधरीले भनिन्, ‘कोरोना भाइरस (कोभिड–१९)ले संसारकै जनजीवन प्रभावित र अस्तव्यस्त बनाएकाले कोभिडपछि चाँडै थारू संग्रहालय सञ्चालनमा ल्याउँछौँ।’
उद्घाटनका अवसरमा कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मिश्रले संग्रहालय व्यवस्थित र स्तरीय बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले प्रदेश २ मै पहिलो बालमैत्री नगर बनेको कञ्चनरूपमा पहिलो होमस्टे सञ्चालन भई पहिलो संग्रहालय सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गरे।
आरक्षका प्रमुख संरक्षण अधिकृत चौधरीले युवाहरूको सहभागिता बढाउन र उदयपुरसँग लिंक जोड्न आग्रह गर्दै प्रचारप्रसार बढ्दै गएपछि संग्रहालय र थारू सामुदायिक होमस्टे नमुना बन्ने दाबी गरे।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले पूर्वाधारसँगै प्रचारप्रसार, विकास र विस्तारमा काम गर्नुपर्नेमा जोड दिए। ‘कुनै पनि समुदायको मौलिकता हराउँदै जानु भनेको उक्त समुदायको पहिचान मात्र नासिनु होइन, समग्र देशको पहिचान कमजोर हुनु हो’, बुद्धिजीवी गयानन्द चौधरीले भने, ‘आफ्नै भाषा, भेषभूषा, कला, संस्कृति भए पनि लोप हुँदै गइरहेको बेला जमुवामा स्थापना भएको होमस्टे र संग्रहालयले आशावादी बनाएको छ।’
उद्घाटनका अवसरमा थारूको मौलिक पोसाकमा सजिएका महिलाले फूल, अबिरले स्वागत गर्नुका साथै मौलिक कला संस्कृति झल्किने ऋतु वसन्त गीत र नृत्यले मनोरञ्जन गराए।