तस्करीको तागत
मुलुकभित्र सानादेखि ठूलासम्म आपराधिक क्रियाकलापमा संलग्नमध्ये धेरैजसोको विगत तस्करी, ठेक्कापट्टा तथा लुटपाटसँग जोडिएको हुन्छ। प्रहरीमा नयाँ हाकिम फेरिनेबित्तिकै उनीहरूको पहिलो प्राथमिकता पनि यस्ता क्रियाकलाप नियन्त्रण गरेर दोषीलाई कानुनी कठघरामा ल्याउनेतर्फ रहन्छ। उनीहरूको प्राथमिकताअनुसार गिरोहहरूको राज्य मात्रात्मक रूपमा कम भए पनि निमिट्यान्न भने भएको छैन। कतिपय घटनामा सुरक्षाकर्मीले ज्यानै गुमाएर भए पनि तस्करी नियन्त्रणमा खटेको देखिन्छ। तर पनि तस्करीमा लागेका गिरोहहरू सल्बलाउन छाडेका छैनन्। यसले राज्यसंयन्त्रभन्दा तस्करको समूह बलियो रहेको हो कि भन्ने आम समुदायमा सन्देश गएको छ। प्रहरी संगठनलाई नै कमजोर बनाउने गरी भएका यस्ता घटना रोक्न विशेष सुरक्षा संयन्त्र बनाउनुपर्ने देखिन्छ। यस्ता घटना नियन्त्रण गर्न प्रहरी र नागरिक समुदायबीच समन्वय गर्नुपर्ने देखिन्छ।
नेपालबाट भारतर्फ सुपारी तस्करी गर्न पल्केकाको समूहले केही दिनअघि धनगढीमा प्रहरी असई र जवानको हत्या गरे। सुपारी निर्यात गरेर अवैध धन्दा गर्न पल्केका तस्करहरूले प्रहरीबाट अवरोध हुन सक्ने सम्भावना देखे पनि सुरक्षाकर्मीको हत्या गर्नु चानचुने घटना होइन। सुरक्षाकर्मीकै हत्या गर्न तम्सिनुले तस्करहरू कति शक्तिशाली छन् भन्ने पुष्टि हुन्छ। यो घटनाले प्रहरीहरू कि त निरीह बनेर चुपचाप बस्नुप¥यो, होइन भने ज्यानको जोखिम मोल्न तयार हुनुपर्छ भन्ने सन्देश दिएको छ। साथै राज्यले प्रहरीको सुरक्षा दिन नसक्नु सुरक्षासंयन्त्र फितलो हो कि भन्ने शंका पनि यो घटनाले उब्जाइदिएको छ। यो एउटा घटना मात्रै हो। तस्करी सेटिङमा चलेका छन् भन्ने थुप्रै प्रमाण छन्। सुन तस्करी, मानव बेचबिखन, लागूऔषध तथा वन्यजन्तुका अंग ओसारपसार, रोडा, बालुवा तथा गिटीमा समेत सेटिङ हुने र सानादेखि ठूला ठेक्कापट्टामा पनि डनहरूकै राज हुने गरेको दृश्यले हरेक क्षेत्रमा तस्करहरूको कुनै न कुनै रूपमा संलग्नता हुने गरेको स्पष्ट हुन्छ। जुनसुकै राजनीतिक परिवर्तन भए पनि यस्ता घटना निरूपण गर्न नसक्नु भनेको सरकारकै कमजोरी हो। राजनीतिक संरक्षणमै यस्ता कृत्य भइरहेका छन् भन्ने आम आरोप बेलाबखत पुष्टि पनि हुने गरेको छ। संक्रमणकाल समाप्त भएर मुलुक शान्ति, स्थिरता र विकास पथमा लम्किरहेको अवस्थामा पनि यस्ता घटना हुनु दुःखद् हो।
सुशासनको पहरेदार प्रहरी हुन्। शान्तिसुरक्षा, विधिको शासन र जनतामा अमनचयन कायम गराउने अभियानलाई मजबुत पार्न समुदाय प्रहरी कार्यक्रम सञ्चालन भइरहेको छ। सीमामा सुरक्षागस्ती पनि बढाइएको छ। तस्करी तथा अन्य आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न यस्ता कार्यक्रम राम्रो भए पनि कार्यान्वयन र समन्वय प्रभावकारी हुन सकेको देखिएन। हरेक नागरिकले आफूलाई पनि बिनाबर्दीका प्रहरी ठानेर अभियानमा हातेमालो गर्नुपर्छ। तर विध्वंसकारी समूहसँगको मुठभेडमा आएको परिणामलाई लिएर प्रहरी संगठनलाई तल झार्नु पनि उपयुक्त हुँदैन। प्रहरीलाई सम्मानित र बलियो संगठन बनाउनुपर्छ। तस्करको शासनलाई निमिट्यान्न पार्नुपर्छ।
तस्करहरू सल्बलाउनुमा कहिलेकाहीं उच्च राजनीतिक नेतृत्व तथा प्रशासनिक कर्मचारीको संरक्षण हुनु अर्को कारकतत्व हो। अवैधरूपमा आर्जेका धन राजनीतिक तथा प्रशासनिक नेतृत्वसम्म पुग्नु, प्रहरीले पक्राउ गरेका गिरोहका सदस्य तथा नाइकेहरूको प्रत्यक्ष सम्पर्क यस्ता व्यक्तिसम्म रहनुले पनि कहिलेकाहीं तस्करीको आत्मबल बढाएको छ। राजनीतिक नेतृत्वबाट यस्ता गल्ती दोहोरिनु हुँदैन। कुनै हिम्मतिलो प्रहरीका हाकिम तस्करीको जालो तोड्न तम्सियो भने उसको अन्यत्र सरुवा हुने क्रम पनि रोकिनुपर्छ। सुरक्षाकर्मीले नै असुरक्षित महसुस गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ।