बगैंचामा रित्तियो : दसैं बजारमा मुस्ताङको स्याउ
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा फलेको स्याउ व्यापारीले बजार पुर्याएपछि बगैंचाका स्याउ रित्तिन थालेको छ। दसैं बजारलाई केन्द्रित गरेर व्यापारीले स्याउ खरिद गरेका हुन्।
मुस्ताङका स्याउ बगैंचाबाट गत असोज १५ गतेदेखि स्याउ टिप्न सुरु गरिएकोमा अहिले त्यो अन्तिम चरणमा पुगेको छ। समुन्द्री सतहदेखि २५ सय मिटर अग्लो उचाईको चिसो हावापानीमा उत्पादन गरिएको मुस्ताङको स्याउ भनेपछि सहर/बजारका उपभोत्ता हुरुक्कै हुने गर्छन्। मुस्ताङको स्याउ अन्य जिल्लाको भन्दा स्वादिलो र गुणस्तरीय हुने भएकाले मुस्ताङको स्याउको डिमाण्ड उपभोत्तामा बढेको हो।
स्याउ खरिदका लागि धादिङ, रुकुम, स्याङ्जा, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाबाट व्यापारीहरु मुस्ताङ आउने गर्छन्। विगत वर्षमा बगैंचामा उत्पादित स्याउ पूर्ण रुपमा विकशित नहँुदै बजार पुर्याउने परिपाटीले सहरिया उपभोत्ता मुस्ताङको स्याउ प्रति असन्तुष्टि रहेको गुनासो बढेको थियो। यस वर्ष स्थानीय जनप्रतिनिधि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन ईकाई मुस्ताङ, स्याउ जोन संचालक समिति र स्थानीय किसानको सहमतीमा असोज १५ पछि मात्रै स्याउ टिप्न पाइने व्यवस्था मिलाइएको थियो।
मुस्ताङमा हरेक वर्ष स्याउ खरिदका लागि आइपुग्ने धादिङका बमबहादुर तामाङले यसपटक कोरोना कहरले सिर्जित लकडाउन र बेनी—जोमसोम सडकको दुरअवस्थाका कारण सास्ती भोग्नु परेको बताए।
व्यापारी तामाङले केही आम्दानी हुने आशाले २ महिना अघिनै मुस्ताङ आएर स्याउ संकलनमा जुटेको बताए। विगत वर्षमा मुस्ताङबाट अपेक्षा गरिएको अनुसार स्याउ खरिद गरिएकोमा यसवर्ष मुस्ताङको तल्लोक्षेत्रमा स्याउ कम फलेकाले सोचेअनुसारको बजार पठाउन नपाएको उनको भनाइ छ।
मुस्ताङबाट बजार पठाइएको स्याउ दसैंको सेरोफेरामा धमाधम बिक्री भइरहेको र बजारमा बिक्री गर्न अन्य साथीहरु बसेको र यहाँबाट आफूले स्याउ टिपेर पठाउने गरेको तामाङको भनाइ छ।
हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमा पछिल्लो समय स्याउ खेती सुरुआत गरिएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, थासाङ र घरपझोङ गाउँपालिका स्याउ उत्पादनको मुख्यक्षेत्र रहेको छ।
यसपटक कोरोना भाइरसका कारण मुस्ताङको पर्यटन व्यवसाय सुस्ताएपछि यहाका केही व्यापारी स्याउ व्यापारमा लागेका छन्। कोरोनाकै कारण व्यवसाय सुस्ताएपछि मुक्तिनाथ स्थित होटल ग्राण्ड साम्वलाका संञ्चालक सुरज गुरुङले स्याउ व्यापारमा लागेको बताए।
उनले यसै वर्षदेखि मुस्ताङको स्याउ लगायतका कृषिजन्य वस्तुको बजारिकरण गर्ने कार्यमा सामूहिक रुपमा लाग्ने र यसले स्थानीय किसानले उत्पादन गरेको उत्पादित वस्तुको सुहाउदो मुल्य पाउने दाबी गरे।
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा विगत २५ वर्षदेखि स्याउ खेती गर्दै आएका स्थानीय किसान विकास नेपालीले यस वर्ष कोरोना माहामारीको अवस्थामा स्याउ नबिक्ने चिन्ता रहेको भएपनि गत वर्ष भन्दा स्थानीय किसानले स्याउको भाउ राम्रो पाएको बताए।
मुस्ताङमा १२ सय हेक्टर जमिनमा स्याउ खेती गरिएको भएपनि स्याउ उत्पादनको क्षेत्र भने जम्मा ५ सय हेक्टर मात्र छ। मुस्ताङमा गत वर्ष ६५ सय मेट्रिक टन स्याउ फलेको भएपनि मौसमी आद्रताका कारण मुस्ताङको तल्लो क्षेत्र मार्फा, चिमाङ, टुकुचे र कोवाङ लगायतका गाउँमा स्याउमा प्रकोप देखिएकाले स्याउ उत्पादन दर घटेको परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मुस्ताङले जनाएको छ।
पछिल्लो समय मुस्ताङका स्थानीय किसानले रैथाने जातका स्याउका साथसाथै छिटो/छरितो उत्पादन दिने उच्चघनत्वको हाइडेन्सिटीको स्याउका विरुवा लगाउन थालेका छन्। चालु आर्थिक वर्ष गण्डकी प्रदेश तथा स्याउ जोन मुस्ताङको अनुदानमा २० हजार हाइडेन्सिटी स्याउका बेर्ना लगाइएको छ।