राति शौच गर्न निस्किएकी किशोरी बलात्कृत !
राजविराज : सप्तरीको तिरहुत गाउँपालिकामा १७ वर्षीया किशोरी शौचालय जान घर बाहिर निस्किइन्।
शनिबार रातको ८ बज्न लागेकाले एक्लै जान डर मानेकी उनले १९ वर्षीया किशोरीलाई साथ लिएर गइन्। घरमा शौचालय नभएका कारण घरनजिकैको बाँसघारीमा शौच गर्न निक्लिएकी दुई किशोरीलाई दुई युवकले अध्यारोमा च्याप्प समाते।
उनीहरुको मुख थुनेर तिरहुत गाउँपालिका-३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साह र १९ वर्षीय सुनिलकुमार साहले करिब चार सय मिटर टाढा लगे। पीडितका अनुसार १७ वर्षीया किशोरी बलात्कृत भइन् भने अर्की १९ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भयो। मध्यराति घटनाको जानकारी पाएर पौने १ बजे घटनास्थल पुगेको प्रहरीले बलात्कार प्रयासका आरोपित सुनिललाई तत्कालै पक्राउ गर्यो।
पीडित र पीडितको आइतबार राजविराजमा स्वास्थ्य परीक्षण भयो। अर्का आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।
पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफर्किएपछि खोज्दै जाँदा अर्धचेत अवस्थामा भेटिन् भने उनीसँगै गएकी अर्का किशोरी आत्तिएको अवस्थामा भेटिइन्। बलात्कारबाट पीडितकी आमाले र बलात्कार प्रयासबाट पीडितकी माइजूले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा सोमबार दिएको छुट्टा–छुट्टै लिखित उजुरी दर्ता भएको कञ्चनरुप प्रहरीले जनाएको छ।
सप्तरीको बलान बिहुल गाउँपालिकामा भदौ २७ गते राति पनि शौच गर्न गएकी १७ वर्षीया सुस्त मनस्थितीकी किशोरीमाथि ३ जनाले सामूहिक बलात्कार गरेको उजुरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा दर्ता भएको छ। उक्तघटनामा आरोपितमध्ये २ जनालाई पीडितले पहिचान गरे पनि हालसम्म कोही पक्राउ परेका छैनन्।
सप्तरी जिल्ला प्रदेश २ को दोस्रो खुला दिशामुक्त जिल्ला हो। २०७४ साल चैत २१ गते एक भव्य समारोहबीच प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सप्तरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेका थिए।