स्वास्थ्यकर्मीसहित ३१ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय बन्द
राजविराज : सप्तरीको सप्तकोशी नगरपालिकाका वडा अध्यक्ष र स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना संक्रमण देखिएपछि एक हप्तासम्मको लागि नगरपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गरिएको छ ।
कोरोना नियन्त्रणका लागि नगरपालिकाले बुधबारदेखि एक हप्तासम्मका लागि कार्यालय र वडा कार्यालयहरु बन्द गर्नुका साथै वडा नम्बर १० र ११ पूर्णरुपमा लकडाउन तथा सील गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख उत्तमकुमार शर्माद्वारा बुधबार जारी सूचनामा आगामी कात्तिक १८ गतेसम्मका लागि नगरपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्नुका साथै वडा नम्बर १० र ११ लाई पूर्णरुपमा लकडाउन तथा सील गरेको जनाइएको छ ।
सप्तकोशी नगरपालिका वडानम्बर १० का ६८ वर्षीय वडा अध्यक्ष र सप्तकोशी नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना पुष्टि भएपछि नगपालिकाले उक्त निर्णय गरेको हो ।
नगरपालिका कार्यालयबाट प्रदान गरिने स्वास्थ्य शाखा र सरसफाईसँग सम्बन्धित सेवा नियमित रहने जनाउँदै नगर प्रमुख शर्माले अन्य सेवा आगामी कात्तिक १८ गतेसम्म स्थगन गरिएको बताए ।