जाजरकोटका पहिरो पीडितलाई रेडक्रसको पाँच लाख ८० हजार सहयोग
जाजरकोट : जाजरकोटको बारेकोटका पहिरो पीडितलाई रेडक्रसले नगद पाँच लाख ८० हजार रुपैयाँ राहत वितरण गरेको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघको सहयोगमा बाढीपहिरो प्रभावितका लागि सहयोग कार्यक्रम अन्र्तगत नेपाल रेडक्रस सोसाइटीले बारेकोटका पहिरो पीडित एक सय ४० परिवारलाई नगद राहत वितरण गरेको हो ।
बाढी पहिरोका कारण ज्यान गुमाएकाहरुका परिवार, घर भत्किएका र पहिरोको उच्च जोखिममा परेका एक सय परिवारलाई पाँच हजारका दरले पाँच लाख नगद वितरण गरिएको नेपाल रेडक्रसका मन्त्री धिरेन्द्रबहादुर शाहले बताए । पहिरोले आंशिक क्षति भएका ४० परिवारलाई दुई हजारका दरले ८० हजार नगद रकम वितरण गरिएको उनले बताए ।
दशैँको बेला बाढीपहिरो पीडितलाई रेडक्रसले नगद सहयोग गरेर धेरै राम्रो काम गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । खानेकुरा नपाएर निराश भएका पहिरो पीडितलाई रेडक्रसको नगद राहतले दशैँ मनाउन ठुलो सहयोग गरेको अध्यक्ष शाहको भनाइ छ । पीडित परिवारले पनि नगद रकम पाएको खुसी व्यक्त गरेका छन् । पहिरोमा आमाबाबु सहित परिवारका चार सदस्य गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्ण सार्कीले रेडक्रसलाई धन्यवाद दिए । दशैँमा मिठोमसिनो किन्न नगद रकमले सहयोग गरेको उनको भनाइ छ ।
कार्यक्रम अन्र्तगत विस्थापित परिवारका लागि शौचालय निर्माण, सामाजिक मनोपरामर्श सेवा, सरसफाई जनचेतना, महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि परामर्श सेवा लगायत कार्यक्रम संचालन भइरहेका छन् ।
गत असार २५ गते बारेकोटमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता छन् । बाढी पहिरोबाट एक हजार बढी परिवार प्रभावित भएका थिए । यसअघि रेडक्रसले बारेकोटमा चार सय बढी परिवारका लागि त्रिपाल, कम्मल लगायत गैरखाद्य सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति हरिबहादुर बस्नेतले बताए ।