यसरी बन्दैछ मुक्तिनाथ जाने ‘फुट ट्रेल’ (फोटो)
जोमसोम : हिमाली जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ जाने रेलिङसहितको सिँढी बाटो (फुट ट्रेल) निर्माण कार्य अहिले धमाधम अघि बढाईएको छ।
‘फुट ट्रेल’ निर्माणको विषयलाई लिएर स्थानीय, मुक्तिनाथ मन्दिर संरक्षण व्यवस्थापन समिति, निर्माण कम्पनी र स्थानीय प्रशासनबीच मतभेद हुँदा केही महिना रोकिएको काम अहिले धमाधम काम अघि बढाईएको हो।
मुक्तिनाथ पुराङ रानीपौवाबाट सुरु हुने पहिलो मुक्तिनाथद्वारदेखि मन्दिर परिसरसम्मको अन्तिम दोश्रो द्वारसम्म पुग्ने फुट ट्रेल सिँढी बाटो निर्माणका लागि सडक विभाग अन्र्तगतको कालिगण्डकी करिडोरको बेनी—जोमसोम÷कोरला सडक आयोजनाले १ करोड बजेट उपलब्ध गराएको थियो।
रानीपौवादेखि मुक्तिनाथ मन्दिरसम्म पुग्ने तीर्थालु हिँड्ने ‘फुट ट्रेल’ निर्माण गर्न खिङ्गा कन्ट्रक्सन प्रालिले ६९ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो। गत वैशाख÷जेठ महिनादेखि ‘फुट ट्रेल’ निर्माण गरी कार्तिक मसान्तसम्म सम्पन्न गर्नुपर्ने भनिएपनि ‘फुट ट्रेल’ निर्माणको डिजाईनमा सरोकारवालाबीच सहमती हुन नसक्दा निर्माणको काम प्रभावित बनेको निर्माण कम्पनीले जनाएको छ।
निर्माण कम्पनीका अनुसार घुमाउरो फुट ट्रेल निर्माण गर्दा लागत कम लाग्ने भएपनि तीर्थालुको सहजता र स्थानीयवासीको माग र चाहानाअनुसार लागत बढी लाग्ने भएपनि कम्पनीले सोझै फुट ट्रेल निर्माणको काम अघि बढाएको खिङ्गा निर्माण कम्पनीका प्रोपाईटर लाक्पा टसी गुरुङले जानकारी दिए।
मुक्तिनाथ मन्दिर जाने ‘फुट ट्रेल’ घुमाउरो डिजाइनअनुसार ३ सय ३५ मिटर लम्बाई तोकिएपनि सरोकारवालाबीचको पछिल्लो सहमतिपछि पहिलो द्वारबाट दोश्रोसम्म सीधै ३ सय ५ मिटर लम्बाईमा झारिएको हो।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ का वडा प्राविधिक बुद्धि ओलीका अनुसार फुट ट्रेलको काम अहिले ४० प्रतिशत प्रगती भएको र बाँकी काम मंसिर मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दर्शन गरिसकेको मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरसम्म पुग्न तीर्थालुलाई निकै सास्ती हुने गथ्र्यो। मुक्तिनाथ जाने ‘फुट ट्रेल’ निर्माण सम्पन्न भएको खण्डमा मुक्तिनाथ आउजाउ गर्ने तीर्थालु तथा पर्यटकलाई निकै सहज हुने बताइएको छ।