जुवामा हारेपछि १६ वर्षीय बालक बेपत्ता !

दैलेख : जन्मघर महाबु गाउँपालिका –५ काशिकाँध। पाँच वर्षदेखि नारायण नगरपालिका–८ किमुगाउँमा बसाई सरेर अभिभावकसँगै आएका गोविन्द बिक उमेरले १६ वर्षका भए। उनी बसन्त मावि किमुगाउँमा कक्षा ९ मा अध्ययनरत छन्।
कोरोनाको कारण विद्यालय बन्द भएपछि उनी दाजुहरुसँग मजदूरी गर्थे। जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणको काममा मजदुरी गर्दै आएका गोविन्द र उनका दाजुहरुले दशैंको महाअष्टमीको दिउँसै काम रोके। मजदुरीको ज्याला पाए। गोविन्दका दाजु बखत रकम बुझेको दिन काम विशेषले घर जान पाएनन्।
खरिगैरा जानु परेको कारण गोविन्दको हातमा मासु किन्ने तीन हजार थमाए। गोविन्दले त्यो रकम घर पुर्याएनन्। उनले घर नपुग्दै साँझ दौतरीसँग तासको ‘काट’ भन्ने खेल खेल्दा हारे। तासमा तीन हजार हारेका गोविन्द राति ११ बजेतिर घर पुगे। आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामा एक्लै सुते। भोलीपल्ट कात्तिक ९ गते बिहानै घरबाट भागेर सुर्खेत पुगेका अहिले उनी त्यहाँबाट पनि बेपत्ता भएका छन्।
उनी ९ गते राति कहाँ बसे ? के खाए ? भन्ने थाहा नभए पनि १० गते दशैंको दिन पहिले चिनेको सुर्खेत बजारको एक सुनचाँदी पसल र एउटा होटलमा काम छ कि ? भनी सोधेको खुलेको छ। दशैंको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसेको परिवारजनले बताएका छन्। १० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार ४ दिनसम्म खोजी गर्दा कतै पत्ता नलागेको गोविन्दका दाजु बखतबहादुर बिकले बताए।
दौतरीको लहलहैमा लागेर तासमा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला, म सधैंको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्बोधन गरेर लेखेको चिठ्ठी फेला परेको थियो। छोरा बेपत्ता भएपछि ६२ वर्षीया आमा रातादिन रोइरहेकी छिन्।
उनको घरमा दाजु, भाउजु, एउटा बहिनी र आमा सहित ५ जनाको परिवार छ। गोविन्द ४ वर्षको छँदा बुबाको निधन भइसकेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा बालकको हुलियासहित खोजी सहयोगका लागि निवेदन दिए पनि पत्ता लाग्न सकेको नसकेको प्रहरीले जनाएको छ। पढाइ केही कमजोर भएपनि गोविन्दले दैलेख सदरमुकामका तीन वटा पसलमा सुनचाँदीको गहना बनाउने सीप सिकेका छन्।
प्रतिक्रिया दिनुहोस !
