सावधानीको समय
स्थापित मान्यताअनुसार पीसीआर परीक्षण गरिएका कूल संख्याको दुईदेखि १२ प्रतिशतसम्म कोरोना पोजेटिभ देखियो भने सामान्य ठानिन्छ। नेपालमा पनि संक्रमणको सुरुवाती दिनमा यस्तै देखियो। त्यतिखेर कूल परीक्षण गरिएकामध्ये मुस्किलले पाँच प्रतिशतमा पनि कोरोना पोजेटिभ देखिएन। यसले गर्दा परीक्षणका नाममा अनावश्यक खर्च भएको तर्क पनि भए। तर परिस्थति उल्टिएको छ। कोरोना जोखिमको पारोले उच्च विन्दु छोइसकेको छ।
काठमाडौं उपत्यकामा त नियन्त्रणै गर्न नसक्ने गरी संक्रमण फैलिइसकेको छ। कसैको पनि मुख नताकी स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन सकियो भने मात्रै संक्रमणबाट जोगिन सकिन्छ, अन्यथा हरेक व्यक्तिले मलाई जतिबेला पनि संक्रमण हुन सक्छ र यो समस्यासँग जुध्न म मानसिक रूपमा तयार छु भनेर सोच्नुको विकल्प छैन।
पछिल्ला दिनमा पीसीआर परीक्षण गरिएकामध्ये २५ प्रतिशतभन्दा धेरैमा संक्रमण फैलिएको पुष्टि भएको छ। परीक्षणको दायरा बढाउँदै लैजाँदा संक्रमितको संख्या पनि बढिरहेको छ। यो अवस्थाले परिस्थिति थप बिकराल बनाएको छ। परीक्षण र उपचारमा राज्यले नीच मारेपछि आफ्नै खर्चमा पीसीआर गराउनेहरू घटेका छन्। यसले स्वाभाविक रूपमा अस्पताल गएर उपचार गर्ने तथा होम आइसोलेसनमा बस्ने व्यवहारमा पनि कमी ल्याएको छ। निःशुल्क उपचार गर्नुपर्ने दायित्वबाट राज्यले हात झिकेपछि होम आइसोलसनमा बसेकाहरूको मृत्युदर पनि बढेको छ। यस्तै समस्याले राष्ट्रिय स्तरमै मृत्युदरलाई पनि बढाएको छ। संक्रमण र मृत्युदरको अनुपातले थप केही दिन यस्तै गति लिइरह्यो भने छिटै नेपाल दक्षिण एसियामा मात्रै नभएर विश्वमै संक्रमित र मृत्युदरको हिसाबले लिडिङ गर्ने मुलुकमा पर्ने निश्चित छ। अनुमान गरेजस्तै अवस्था आयो भने त्यतिखेर हामीले आफैंलाई धिक्कार्नुबाहेक कुनै उपाय रहने छैन। त्यस्तो अवस्था आउन नदिन अझै पनि एक मात्र उपाय भनेको आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्नु मात्रै हो।
कोरोना नियन्त्रणका लागि सहरी क्षेत्रमा शैक्षिक संस्था सञ्चालनमा लगाइएको बन्देज र उपत्यकामा सवारी साधन सञ्चालनमा लागू भएको जोर–बिजोर प्रणालीबाहेक अन्य बन्देज छैन। यसले गर्दा मानिसको आवातजावत बाक्लिएको छ। कोरोनालाई खेलाँची ठान्ने प्रवृत्ति बढेको छ। कोरोना भनेको सामान्य रहेछ र यो लागे पनि सजिलै निको हुन्छ भन्ने आम मानिसको गलत बुझाइले जोखिम बढाउन मद्दत पुर्याएको छ। कुनै पनि समस्याले आफैंलाई आपत नपार्दासम्म नचेतिने मानवीय स्वभाव हो। लकडाउन हटेसँगै धेरैजसोमा यही स्वभाव प्रतिबिम्बित भएको पाइन्छ, जसको असर भुसको आगोजसरी विस्तार भइरहेको छ। बेलैमा होस नपु¥याउने हो भने यो आगोको भुंग्रोमा हामी जोकोही पनि पर्न सक्छौं। निको हुने दर घट्नु र निधन हुने दर बढ्नुको मुख्य कारण मानवीय गतिविधि नै हो। यसबारेमा बेलैमा चेतिन आवश्यक छ।
हरेक व्यक्तिले आफूलाई बचाउन सक्यो भने अन्य व्यक्ति आफैं जोगिन्छन्। सबैमा यो भावना जागृत हुने हो भने कोरोना संक्रमण न्यूनीकरणमा निकै मद्दत पुग्छ। एकैपटक विश्वका करोडौं मानिसलाई पिरोलिरहेको यो महामारीलाई हल्का ठान्ने भूल कसैले पनि गर्नुहुन्न। स्वास्थ्य सतर्कतालाई जस्तोसुकै कठिन परिस्थतिमा पनि कम गर्नुहुन्न। यो बेलामा सबै क्षेत्रमा उच्चस्तरको सतर्कता, साथ र सहयोगको खाँचो छ।