गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण बढ्दो
लन्डन : विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै विदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन्।
सङ्घका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमण भएका र यसका कारण कसैको पनि मृत्य भने भएको छैन।
हालसम्म ४२ देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भएका उक्त समितिले जनाएको छ।
गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका कारण निधन भइसकेको बताइएको छ। कोरोना भाइरसबाट सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या बढेको छ। गत हप्तासम्म सङ्क्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकामा यो साता ७६ दशमलव नौ प्रतिशत पुगेको छ।
उक्त सङ्घले अति आवश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ। कोरोनाका कारण बेलायत फ्रान्स, बेल्जियम र जर्मनीजस्ता मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा नगर्न उक्त सङ्घले आह्वान गरेको हो। सङ्घका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नाका साथै सार्वजनिक स्थलहरुमा निस्किंदा सकेसम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेका छन्।