रेमिट्यान्सको सदुपयोग
वैदेशिक रोजगारमा गएकाहरूले पठाएको रेमिट्यान्स अर्थतन्त्रको मुख्य खम्बा भए पनि यसलाई स्थायी र भरपर्दो क्षेत्रमा लगानी गर्ने बानीको विकास भएको छैन। राज्यले पनि रेमिट्यान्सलाई दीर्घकालसम्म जोगाइराख्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रभावकारी नीति ल्याउन सकेको छैन। फलस्वरूप विदेशी भूमिमा रगत र पसिला चुहाएर कमाएको पैसा उत्पादनशील क्षेत्रमा लगाउनेभन्दा दैनिक गर्जो टार्ने नाममा मोजमस्ती र विलासी जीवन बिताउनेतर्फ धेरै हुने गरेको छ।
वैदेशिक रोजगारबाट फर्केपछि ५६ प्रतिशत नागरिक स्वदेशमा काम नगरी बस्ने गरेका छन्। विदेशमा रहँदा कमाएर बचाएको रकम खर्च गरेर दैनिक गुजारा टार्ने र उक्त रकम सकिएपछि मात्रै फेरि विदेश नै जाने वा अन्य विकल्प खोज्ने प्रवृत्ति उनीहरूमा छ। स्वदेश आएपछि आफूले कमाएको पैसा कृषि वा अन्य आयमूलक व्यवसायमा खर्च गर्ने र उद्यमशीलताको विकास गर्नेतर्फ ध्यान गएको पाइँदैन। यस्ता समूहका नागरिकलाई आकर्षित गर्न सरकारले ल्याएको कार्यक्रम पनि प्रभावकारी भएको पाइँदैन। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा रहेका तथा फर्केर आएका र उनका परिवारलाई लक्षित गरेर १० वर्षअघि वैदेशिक रोजगार बचतपत्र जारी गरेको थियो। तर यो बचतपत्र अहिलेसम्म पाँच प्रतिशत मात्रै बिकेको छ। यो अवस्था किन आयो भन्नेतर्फ सरकारले सोंच्नुपर्छ। लक्षित समुदायले नै रुचि नदेखाउनु भनेको त्यसमा कुनै न कुनै कमजोरी छ भन्ने नै हो। सरोकारवालासँगै छलफल गरेर यसभित्र भएका कमजोरी सुधार्नुपर्छ र रेमिट्यान्सलाई भोलिका लागि बचत गर्नुपर्छ भन्ने भावना विकास गराउनुपर्छ।
सरकारी आँकडाअनुसार ५४ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारमा छन्। एक दशकदेखि निरन्तर रेमिट्यान्सले कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत हिस्सा ओगटिरहेको छ। रेमिट्यान्सले राष्ट्रिय बचत बढाएको छ। चालु खाता सन्तुलनमा राख्न मद्दत पुर्याएको छ। विप्रेषण रोकिएको खण्डमा गरिबी रेखा १९.३ प्रतिशतबाट ३५.३ प्रतिशतसम्म बढ्न सक्ने सरकारी अनुमान छ। यसबाट के देखिन्छ भने गरिबी निवारणमा यसको महत्त्व व्यापक छ विप्रेषणले गरिबी निवारण गर्न, जीवनस्तर सुधार्न, लगानी बढाउन र दूरगामी विकास प्रवद्र्धन गर्न मद्दत पुर्याएको छ। यति हुँदाहुँदै रेमिट्यान्स सबैभन्दा बढी व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययनले देखाएको छ। हातमुख जोर्न समस्या भएपछि बिदेसिएकाहरूको पहिलो आवश्यकता पनि दैनिक आवश्यकता पूर्ति गर्नेतर्फ नै देखिन्छ। यससँगै अलिकति पैसा जम्मा भएपछि महँगो मोबाइल, घडी, मोटरसाइकल तथा अन्य विद्युतीय सामग्री खरिद गर्नेतर्फ उभोक्ताको ध्यान जाने गरेको छ। हुन त आफूले कमाएको पैसा कहाँ कसरी खर्च गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित व्यक्तिकै हुन्छ। तर बचत गर्ने बानी विकास भयो भने भविष्यमा आफैंलाई सजिलो हुन्छ भन्ने चेतना उनीहरूमा फैलाउन जरुरी छ। खर्च नियन्त्रण गर्नु पनि एक प्रकारको कमाइ हो भन्ने सोचको विकास जरुरी छ।
रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने सार्थक नीति अवलम्बन गर्नुपर्छ। वैदेशिक रोजगार बचतपत्र, रेमिट हाइड्रोलगायतका कार्यक्रम प्रभावकारी बनाउनुपर्छ। साना लगानीकर्तालाई सेयर बजार, कृषि, पशुपालनलगायतका सानो लगानीबाट पनि सञ्चालन गर्न सकिने व्यवसाय सञ्चालनतर्फ आकर्षित गराउनुपर्छ। समूहमा लगानी गर्ने बानीको विकास गर्नुपर्छ। यसरी व्यवसाय गर्न चाहनेलाई राज्यले उपलब्ध गराउँदै आएको अनुदान प्रभावकारी बनाउनुपर्छ। स्वदेशमै व्यवसाय सञ्चालन गरिँदा विदेशबाट आयात गर्नुपर्ने सामान यतै उत्पादन हुँदा बिदेसिने पैसा रोक्न सकिन्छ। यसो हुँदा स्वदेशमै रोजगार सिर्जना गर्न सकिन्छ।