मुस्ताङमा थप २ जनामा कोरोना संक्रमण
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा सोमबार पुनः २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। यसअघि मुस्ताङको घरपझोङ गाउँपालिकाकी एक महिला र जोमसोमस्थित एक वित्तिय संस्थाका कर्मचारीलाई कोरोना पोजिटिभ पुष्टि भएसँगै गरिएको कन्ट्रयाक ट्रेसिङमा कोरोना संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
कार्यालय प्रमुख भण्डारीका अनुसार योसँगै मुस्ताङमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मुस्ताङमा समुदाय स्तरमा पहिलो पटक कोरोना पोजेटिभ पुष्टि भएसँगै ३४ जना व्यक्तिको नमूना स्वाब पोखरास्थित क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पठाइएकोमा २ जना व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभको आएको हो । बाँकी सबैको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङमा नयाँ थपिएकामा थासाङ गाउँपालिका—५ कुञ्जोका ३० वर्षीय पुरुष र घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्टकी ५२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । थपिएका २ कोरोना संक्रमित व्यक्तिको पनि केही दिनमै क्लोज कन्ट्रयाकका आधारमा स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले बताएको छ ।
यसअघि कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको घरपझोङ गाउँपालिकाको स्थानीय सिसिएमसी ,जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको समन्वयमा शनिबार नमूना स्वाब संकलन गरेको थियो ।
मुस्ताङमा समुदाय स्तरमा एक महिलामा कोरोना संक्रमण देखा परेपछि गत असोज १ गते संञ्चालनमा रहेका विद्यालय एक साताका लागि बन्द भएका थिए । मुस्ताङमा हिउदयामको चिसो बढेसँगै कोरोना संक्रमण देखा परेको हो ।लामो समय देखि ग्रिन जोनमै रहेको हिमाली मुस्ताङमा गत जेठ महिनामा घरपझोङ—१ बस्ने शरणार्थी क्याम्पका एक ८३ वर्षीया वृद्धलाई कोरोना पुष्टि भएको थियो ।
उनको दोश्रो पटक पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो समय मुस्ताङमा कोरोना जोखिम बढेको पाईएको छ ।यहा उत्पादित स्याउ आलु ,गाजर र दशैका लागि भेडा÷च्याङ्गा खरिद गर्ने व्यापारीको आउजाउ बढेको थियो भने मुस्ताङमा कार्यरत कर्मचारी जनप्रतिनिध ,शिक्षक ,सुरक्षा निकाय ,मजदुर र अन्य सर्वसाधारण व्यक्तिहरुको आउजाउ बढेसँगै मुस्ताङमा कोरोना भाईरसले प्रबेश पाएको स्थानीय बताउँछन् ।
सरकारले असोज १ देखि निशेषाधाज्ञा हटाएर आन्तरिक हवाइ उडान र लामादुरीका यातायात सञ्चालन गर्न अनुमती दिएकाले पनि मुस्ताङमा कोरोनाको जोखिम बढेको जनाइएको छ ।