२ सय वर्षमा ४ पटक भेटिएको दुर्लभ लाटोकोसेरो मुस्ताङमा भेटियो

२ सय वर्षमा ४ पटक भेटिएको दुर्लभ लाटोकोसेरो मुस्ताङमा भेटियो

जोमसोम : हिमाली जिल्ला मुस्ताङको अन्नपूर्ण संरक्षित क्षेत्रमा २ सय वर्षमा ४ पटक देखा परेको दुर्लभ लाटोकोसेरो भेटिएको छ। घरपझोङ गाउँपालिका—५ ठिनीका स्थानीय युवा निरज थकालीले ठिनी गाउँ नजिकैको खेतको रुखमा उक्त लाटोकोसेरो देखेका हुन्। उनले उक्त प्रजातीको चरा देखेपछि भिडियो समेत खिचे। उनले खिचेको भिडियो सम्भवतः नेपालमै पहिलो पटक खिचिएको दुर्लभ भिडियो मानिएको छ।

  
जिवित रुपमा सो चरा देख्ने उनी सम्भवत अहिलेको पुस्ताका पहिलो हुन्। यसअघि २१ वर्ष पहिला यसप्रकारको प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पिपरमा भेटिएको भए पनि त्यसको कुनै फोटो वा भिडिओ भने सार्वजनिक हुन सकेको थिएन।
 
५८ वर्ष अघि काठमाडौंको ककनीमा यो प्रजातिको नमुना सङ्कलन गरिएको थियो।  १९ औं शताब्दीमा काठमाडौं उपत्यकामा सर ब्राईन हगसनले यसको नमूना अभिलेख गरेको भन्ने भनाइ छ। लामो समयपछि भेटिएको यो प्रजातीले लाटोकोसेरो संरक्षणकर्मीलाई अनुसन्धानमा सहयोग पुर्‍याउने बताइएको छ।

यस प्रजातीको लाटोकोसेरोको नेपाली नाम ‘लामकाने लाटोकोसेरो’ हो। अंग्रेजीमा यसलाई लङईअर वुल समेत भन्ने गरिन्छ। ‘नेपालका चराहरु’ र  ‘नेपालका लाटोकोसेरोहरु’ विभिन्न पुस्तकमा उल्लेखित लेखले यो प्रजातिलाई फिरन्ते चरा भनेर उल्लेख गरेको पाइएको छ। नेपालमा यसको १-२ वटा मात्र अभिलेख गरिएको भन्ने भनाइ छ। मोबाइल मार्फत भिडिओ कैद गरेका थकाली र उनका साथीहरुले यसको फोटो भने खिचेनन्। 

थकाली भन्छन्, ‘यो प्रजातिको बारेमा पूर्व जानकारी भएको भए फोटो खिच्थें नि ? लामकाने लाटोकोसेरो मेरो नजिकै थियो’। उनले थपे, ‘नेपालमा निक्कै दुर्लभ यसप्रकारको प्रजातिको अभिलेख गर्न पाउँदा निक्कै खुसी लागेको छ। वास्तवमा लाटोकोसेरो उत्सवको बारेमा निक्कै पटक सुनेकाले भिडियो खिचेको हुँ।’ 

उनले खिचेको भिडिओ सामाजिक संजालमा केहिदिन अघि पोस्ट गरेका थिए। सो भिडिओ सुरुमा चराविज्ञ ‘सोम जिसीले’ देखेपछि  ‘लामकाने लाटोकोसेरो’ हुन सक्ने बताएका थिए। पछि मोबाइलको गुणस्तरीय भिडिओबाट सोही प्रजाति भएको प्रमाणित भएको थियो। चरा विद्हरु  डा हेमसागर बराल , क्यारोल इन्स्किप, सोम जिसी र  हठन चौधरीले  तथा अनुसन्धानकर्मी यादव घिमिरेले भिडिओ हेरी सकेपछि उक्त चरा लामकाने लाटोकोसेरो भएको प्रमाणित भएको थियो।

लाटोकोसेरोको अनुसन्धान र संरक्षणमा लामो समयदेखि लागेका ‘प्रकृतिका साथीहरु’का कार्यकारी  निर्देशक राजु आचार्य भन्छन्, ‘यो प्रजाती हेर्न म पनि लालायित छु। चिन र भारतमा रहेको तर नेपालमा नभेटिनु आफैँमा अनौठो थियो।  स्थानीय युवा  थकालीले खिचेको भिडिओ आफैँमा एउटा सफलता भएको बताउँछन्। १९ औं शताब्दिमा काठमाडौं उपत्यकामा सर ब्राईन हगसनले यसको नमूना अभिलेख गरेका थिए। नेपालमा एकाध अभिलेख बाहेक यो प्रजाति देख्नेहरु लगभग छैनन् भन्दा पनि हुन्छ। नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरो मध्ये यो पनि एक हो।’ 

नेपालका चराहरु बारेमा लेखिका बेलायती चरा विज्ञ क्यारोल इन्स्किप्प भन्छिन्, ‘यो खुसी लाग्दो अभिलेख हो। नेपालमा यसको अभिलेख असाध्यै कम छ। सायद राती मात्रै सकृय हुने भएकोले यस्तो भएको हुन सक्छ। यिनको अनुसन्धान र संरक्षणमा सबै लाग्न आवश्यक छ।’

अन्तर्राष्ट्रिय संरक्षण संघको कम चासो भएको र यिनको  संख्या विश्वव्यापी रुपमा घट्दै गएको बताइएको छ। यसप्रकारको प्रजाति युरोप, उत्तरी अफ्रिका, रुस, कोरिया, मंगोलिया, चीन, भारत लगायत थुप्रै मुलुकहरुमा अभिलेख छ। यिनले मुख्यगरी मुसा, छुचुन्द्रोहरु खाएर किसानलाई सहयोग गरिरहेका हुन्छन्। लाटोकोसेरो संरक्षणको लागि नेपाल सरकारले भर्खर मात्र १० वर्षे ‘लाटोकोसेरो तथा हुचील संरक्षण कार्ययोजना’ बनाएर लागु गरिसकेको छ।

संरक्षण अभियानमा लामो समयदेखि योगदान दिंदै आएका स्थानीय युवा थकालीले मुस्ताङमा हिउँचितुवा लगायतका दुर्लभ वन्यजन्तु तथा पंक्षी  संरक्षणमा समेत योगदान दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.