पहिला आफूलाई बचाऔं

पहिला आफूलाई बचाऔं

घरका परिवारलाई कोरोना पोजेटिभ देखिएपछि दुईबर्से छोरा र चारबर्से छोरी लिएर निर्मला आÏनो र छोराछोरीको स्वास्थ्य सुरक्षानिम्ति माइत आइन्। उनी तीजमा समेत घरबाहिर ननिस्कने भनेर माइत आएकी थिइनन्। तर तीजलगत्तै सासूससुरा दुवैलाई पोजेटिभ देखिएपछि उनलाई माइत आउनैपर्‍यो। दसैं नजिकिँदै थियो। घरबाट सासूको फोन आयो, ‘बुहारी, दसैंमा घर आउने सुरसार छैन ? नातिनातिनालाई दशमीका दिन टीका–जमरा लगाइदिनुपर्छ। यस्तै चालले त अर्को वर्षसम्म बँचिन्छ कि बाँचिन्न।’ सासूका कुरा सुनेर निर्मला अवाक् भइन्। केही बेरपछि भनिन्, ‘बाबुनानीलाई यहीं राम्रो छ। त्यहाँ तपाईंहरू कोरोनामुक्त भइसक्नुभएको पनि छैन।’

निर्मलाका पति पनि बोले, ‘निर्मला, जति सम्झाए पनि बाआमाले बुझेनन्। भोलि बिहानै तिमीलाई लिन आउँछु। तयार भएर बस्नू।’ यता निर्मलाका बाआमालाई दसैंको मुखैमा छोरीलाई घर पठाउनु भन्दा पनि नातिनातिनाको स्वास्थ्यप्रति चिन्ता र अन्योल बढ्यो।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरू भएको कोरोना  इटाली, चीन, फ्रान्स, अमेरिकालगायतका सुविधासम्पन्न मुलुकमा समेत व्याप्त भयो। त्यहाँ पनि शøयाको अभाव, संक्रमितको बढ्दो दर र उपचारमा कठिन अवस्था देखा पर्‍यो। नेपालमा पनि त्यही अवस्था देखिएको छ। सुरुको बन्दाबन्दीमा धेरै सजग भएका हामी पछिल्ला दिनमा संयमता र सजगता गुमाउँदै गयौं। यसले सडक र सहरमा भीडभाड देखियो। धेरैका घर–घर र छिमेकमा पनि कोरोना संक्रमित देखिन थाले। नेपालमा कोरोना संक्रमितको संख्या देख्दा लाग्छ– सबै कोरोना संक्रमित भइसकेका छन्।

कतिपय मुलुकले दोस्रोपटक लकडाउन गरे। उदाहरणका रूपमा इङल्यान्डलाई लिन सकिन्छ। व्यवस्थापन र भौतिक साधनको उपलब्धता हुँदा पनि ती मुलुकले संकटको सामना गर्नुपरेको छ। यस अवस्थामा हामी प्रत्येक व्यक्तिले आफैं सजग हुनुको विकल्प छैन। अब संक्रमितको व्यवस्थापन गर्दागर्दा हाम्रा सरकार र सरकारी अस्पतालले थेग्न सक्ने अवस्था देखिँदैन। न आपत्कालीन अवस्थामा हामीले एम्बुलेन्स सुविधा पाउने सम्भावना छ, न त अस्पताल गएर सहजरूपमै बेड पाउने अवस्था नै।

सरकारको मुख नताकी एकएकले आफ्नो स्वास्थ्यको ख्याल नराख्ने हो भने स्थिति विकराल बन्न सक्छ।

सुरुमै तीन महिना घरभित्र बन्द हुँदा सरकारले कोरोना संकट समाधानका लागि छुट्टयाएको बजेट कसरी कहाँ खर्च गर्‍यो ? परीक्षणको दायरा कस्तो रह्यो ? हाम्रा अस्पतालहरूको क्षमता कति छ ? कहिले, कति संख्याले पूरै भरिने हो ? त्यसअनुसारको अनुगमन, निगरानी र विश्लेषण गरेर योजना बनेको देखिंदैन। संक्रमितले अस्पतालमा भोगेको व्यथा सामाजिक सञ्जालमार्फत जानकारी आएको देख्दा लाग्छ, अस्पतालहरू बेड अभावको चरम विन्दुमा पुग्दैछन्। त्यसो हुन नदिन जनस्वास्थ्यका मापदण्ड कडाइ गर्ने, अनुगमन र निगरानी बढाउने, अस्पताल र आइसोलेसनको क्षमता विस्तार गर्ने, अस्थायी कोभिड अस्पताल बनाउन सरकारी र निजी क्षेत्रसँग सहकार्य गर्ने, संक्रमणको अवस्था थाहा पाउन परीक्षणको दायरा बढाउनेलगायतको तयारी गर्नुपर्ने हो तर त्यसो भएको पाइन्न।

संक्रमितहरूले स्वयं व्यक्त गरेका अनुभव र बढ्दै गएको संक्रमणको आधारमा भन्न सकिन्छ– संक्रमणको तुलनामा परीक्षणको दायरा कम भएको छ। राजधानीमै संक्रमितको संख्या र मृत्यु दर बढ्दो छ। क्वारेन्टाइनको व्यवस्थापन र असुविधा देखेर क्वारेन्टाइन प्रयोग गर्नेहरूको संख्या न्यून हुँदैछ। संस्थागत आइसोलेसनहरू पनि त्यति व्यवस्थित देखिँदैन। धेरैजसो संक्रमित होम आइसोलेसनमा बस्दा पनि अस्पतालका बेड, आईसीयू र भेन्टिलेटरको अभाव हुनुको कारण के होला ? स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र दायित्य निर्वाहको क्षण यही नै भएकाले सुविधाजनक आइसोलेसन प्रत्येक वडामा बनाइनुपर्छ। अक्सिजन बेडहरूको संख्याको कमी महसुस हुँदै गएकाले त्यसलाई बढाउने काम तुरुन्तै गरिनुपर्छ।

कतिपयले आर्थिक अभाव र उपेक्षाका कारण तथा लक्षण नदेखिएका आधारमा परीक्षण नगरेकाले भोलिका दिन कोरोना समस्या विकराल बनेर बाहिर आउने हो कि ? गरिब जनताले परीक्षण कसरी गर्ने ? धरौटी राखेर उपचार गर्ने आँट कसरी गर्ने ? तिनीहरूले बाध्य भएर आफ्नो रोग लुकाउनुपर्ने र नजानिंदो तरिकाले समाजमा त्यो संक्रमण फैलिन सक्छ भन्ने सोच्नुपर्ने हुन्छ। प्लाज्मा थेरापीका लागि रगत नपाएको दुःखद घटना अभिव्यक्त भइरहँदा जनस्वास्थ्य, जनचेतना र संयमित व्यवहारका लागि सरकारबाट प्रत्यक्ष निगरानी र अनुगमनको जरुरी रहन्छ। जनताले राहत पाउने कुरालाई प्राथमिकतामा नराखिनु, कर उठाउने क्रममा आफ्नो नियम लागू गराइछाड्नुजस्ता व्यावहारिक पक्षले संकट बढिरहेको महसुस गर्न सकिन्छ।

महामारीका कारण आयआर्जनमा परेको प्रभाव र त्यसले पुर्‍याएको मानसिक अशान्तिलाई कसले बुझ्ने ? छाक टार्न धौधौ परेकाले मास्कलगायतका सुरक्षा सामग्रीको जोहो र भौतिक दूरीको मर्म उनीहरूले कसरी बुझ्ने ? यी सबै पक्षप्रति सरकार अनुदार हुनु राम्रो होइन। सरकारको मुख नताकी एकएकले आफ्नो स्वास्थ्यको ख्याल नराख्ने हो भने स्थिति विकराल बन्न सक्छ। यस अवस्थामा आफूले आफैंलाई बचाऔं। यसैमा बुद्धिमानी हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.