नगरपालिकाका ८ कर्मचारीसहित १० जनामा कोरोना संक्रमण
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीसहित १० जनामा बुधबार साँझ कोरोना पोजिटिभ देखिएको छ । सदरमुकाम गाईघाटभित्र रहेको नगरपालिकामा ठूलो संख्यामा कर्मचारीमा कोरोना देखिएपछि गाईघाट बजारमा त्रास फैलिएको छ । प्रादेशिक कोरोना प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणबाट ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार २६, ४६, २२, ४१, ३३, १३, ४५, ५६, ३२ र १६ वर्ष उमेर समूहमा कोरोना देखिएको हो । उनीहरु सबैको मंगलबार स्वाब संकलन गरी बिराटनगर पठाइएको थियो । कोरोना पोजिटिभ देखिएका नगरपालिकाका कर्मचारी मध्ये पाँचजना प्राविधिक रहेका छन् । बाँकी अन्य शाखाका रहेका छन् ।
योसँगै जिल्लामा संक्रमितको संख्या दुई सय ५० जना पुगेको छ । त्यसमध्ये ८० जना महिला र एक सय ७० जना पुरुष रहेका छन् । त्यसैगरी हालसम्म महिला २१ र पुरुष ३२ गरी ५३ जना कोभिड अस्पताल बेल्टारमा उपचाररत अवश्थामा रहेको स्वास्थ्य प्रमुख मोहन सुबेदीले जानकारी दिए ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबै भन्दा बढि त्रियुगा नगरपालिकामा संक्रमित देखिएका छन् । त्रियुगामा एक सय आठ जना, बेलकामा ५९ जना, कटारीमामा ५६ जना, चौदण्डिगढी नपामा २० जना, ताप्लि गाउँपालिकामा तीन जना, उदयपुरगढी र रौतामाईमा २/२ जना रहेका छन् ।
कार्यालयले दिएको जानकारीअनुसार हालसम्म ६ हजार ९९ जना पुरुष र दुई हजार एक सय ५० जना महिला गरी आठ हजार दुई सय ४९ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको छ त्यसमध्ये आठ हजार दुई सय ३१ जनाको रिर्पोट आईसकेको छ ।
कार्यालयका अनुसार हाल क्वारेन्टाइनमा तीनजना महिला र ९ जना पुरुष गरी १२ जना बस्दै आएका छन् भने होम क्वारेन्टाईनमा १८ जना महिला र चार सय ५४ जना पुरुष गरी चार सय ७२ जना रहेका छन् ।